भोलिदेखि काठमाडौं उपत्यकामा सटडाउन छैन, प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका काम मात्र बन्द

काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेपनि जनमानसमा फरक अफवाह फैलिएको छ। काठमाडौं उपत्यकामा आइतबारदेखि फेरि लकडाउन हुन लागेको भन्दै व्यवसायीदेखि सर्वसाधारणसम्म आत्तिएका देखिन्छन्।

काठमाडौं जिल्ला समन्वय समितिको कार्यालयमा शुक्रबार तीन जिल्लाका जिल्ला प्रशासन र सुरक्षा  प्रमुखसहितको बैठकले संयुक्तरुपमा चार बुँदे निर्णय गरेको थियो।

जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सबै कामहरु भदौ ८ गतेसम्म बन्द गर्ने, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न थप कडाई गर्नेलगायत निर्णय भएको थियो। काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले प्रेश विज्ञप्ति नै निकालिसकेका छन् भने ललितपुर जिल्ला प्रशासन कार्यालयले भने निकालेको छैन।

ललितपुर जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राईले सट डाउनको हल्ला अफवाह मात्र भएको बताए। ‘जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक कामबाहेकका अरु सेवालाई १५ दिनसम्म बन्द गर्नेभन्दा बाहेक अरु बन्द सम्बन्धि कुनैपनि निर्णय भएका छैनन्’, एसएसपी राईले भने।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू