क्रिकेट प्रशिक्षणका लागि जाँदै गरेका कमल।
एउटा बालकको क्रिकेटर बन्ने धोको

अप्ठ्यारोमा फुल्दै गरेको एउटा सपनाको कथा

सबैको दैनिकी फेरियो, र उनको पनि ।

यस्तो होला भन्ने लागेको थिएन। सबै रोकिन्छ शायदै कसैले सोचेका थिए, तर रोकियो।

चैतमा वार्षिक परीक्षा सकियो, कमल शाही रुकुम तिर लागे आमा बुवालाई भेट्न।

लकडाउन भयो। उतै रोकिए।

उनको क्रिकेट खेल्ने रहरमा विराम लागेकौ छैन। रुकुमका पहाडमा (ग्वाला) जाने उनले  साँझ र बिहान क्रिकेट खेल्न भ्याइहाल्छन् । खेल्ने साथी बनेका छन् गाउँका दाइहरु।

उनको पर्खाइमा छ काठमाडौँकौ ट्रेनिङ्ग सेन्टरमा व्यवस्थित रुपमा प्रशिक्षण लिन पाउने दिन।

भन्छन् ‘लकडाउन खुलेपछि आउँछु । फेरि हरेक दिनहरु उस्तै बिहानीबाट सुरु गर्ने छु। जस्तो केही महिना अगाडि थियो।

बिदाइका हात हल्लिए। हँसिला अनुहारहरु एकाएक मलिन हुँदै गए। आँखा रसाए। ओढेको पछ्यौरीले  टिलपिलाएका आँसु पुछिन् उनले। छेउमा रहेकी दिदीको काँधमा टाउको बिसाएर सुँकसुँक गर्दै थिइन्। निधारको रातो टीका आँसुमा फिक्का हुँदै गयो। काँधमा रातो र कालो झोला अनि सुटकेस गुडाउँदै राजेन्द्र भित्र पसे।

हेर्दाहेर्दै प्रतिमाको नजरबाट ओझेल भए उनी।

भाइ कमलको अनुहार पनि मलिन थियो।राजेन्द्र हिँडेकै बाटो पछ्याउँदै गेट नजिकै गए। सिसाबाट हेरे, कतै एक झलक देखिन्छ कि भन्ने आशामा। झोलामा राखेको क्रिकेट ब्याटसँगै दाइ राजेन्द्र ओझेल परे, सबैको नजरबाट। शायद अब २ वर्ष श्रीमती प्रतिमा र भाइ कमलले राजेन्द्रलाई प्रत्यक्ष भेट्न पाउने छैनन्।

उनी साउदी अरब उडे। जानु त थियो नै। भाइको सपना पूरा गर्नका लागि थियो उनको यात्रा। गरिबीमा यहाँ बसेर भाइ कमललाई ठूलो क्रिकेटर बनाउने सपना पूरा नहुने उनले ठानिसकेका थिए।कमलले अब मन दह्रो बनाउनु छ। उनलाई थाहा छ विदेश उड्नु पर्ने दाइको बाध्यता। त्यो बाध्यतामा आफ्नो भविष्य जोडिएको उनले बुझेका छन् । घरबाट एयरपोर्ट जानुअघि टिका लगाउँदै दाइले भनेका थिए ‘ध्यान दिएर खेल्नु’ सबै कुरा म समाल्नेछु।

कमलले पनि रात दिन मेहनत गरेका छन्। दाइको सपना उनले देख्न थालेका छन्।त्यसैले त घर फर्किनु छ उनलाई। बल र ब्याटसँगै फेरि भोलिको दिनको सुरुवात गर्नु छ।

ललितपुर सानेपा, प्लास्टर नगरेको एउटा साढे तीन तलाको घरको पहिलो तलामा बस्छन् कमल। ठूलो दाइ राजेन्द्र शाही र भाउजु प्रतिमा चन्दको साथमा।

सानो गल्ली हुँदै फलामको ढोका खोलेर भर्‍याङ उक्लिँदै गर्दा दायाँतर्फ देखिन्छ पुरानो झोला। कतै च्यातिएको, कतै धुलो लागेको। बायाँतर्फ उनी बस्ने कोठा छ। सानो कोठामा दुई वटा खाट, खाना बनाउने ठाउँ अनि लुगा राख्ने दराज।

हरेक दिनको बिहान हतारोमा बित्छ कमल शाहीको। ७ नबज्दै उनी काठमाडौँ ट्रेनिङ्ग सेन्टर पुगिसक्नुपर्छ।

एक बिहान उनको कोठामा पुग्दा उनी हतारोमा थिए। काठमाडौँ ट्रेनिङ्ग सेन्टर लेखेको निलो टिसर्ट लगाए। निलै रंगको ट्राउजरको कम्मरमा उनले रुमाल कोचे अनि टाउकोमा चस्मा राखे।

कोठाको एक कुनामा राखिएको लगभग आफूजत्रै झोला बोके। खाटसँगैको सानो  र्‍याकमा राखेको सेतो बल टिपे। झोलाको एकातर्फ कालो ‘ग्रिप’ भएको ब्याट थियो र झोलाभित्र त्रिकेट खेल्नका लागि चाहिने सामान-बल, प्याड, हेल्मेट, ग्लब्स यस्तै-यस्तै।

घरको सानो प्यासेजबाट कमल अघि लागे। भाउजुले कोठामा ताला लगाइन्। भर्‍याङसँगै रहेको झोला बोकिन्। भर्‍याङ ओर्लेर फलामको सानो गेट खोलेर गल्ली हुँदै उनीहरु मुलबाटो निस्किए। दाइ राजेन्द्र, भाउजु प्रतिमा र कमलको आजको दिन सुरु भयो।

लगभग पाँच मिनेटको पैदल दूरीमा छ ट्रेनिङ सेन्टर। बाटोमै पर्छ कमल पढ्ने स्कूल ज्ञानदीप। केहीबेरमा उनी यहाँ पढ्न आउनु पर्छ। हातमा सेतो पुरानो क्रिकेट बल घुमाउँदै हिड्ने उनी पढ्ने स्कूलको वास्ता नगरी अघि बढ्छन्। उनको मन सधैँ स्कूलसँगै रहेको एकेडेमीको सानो मैदानमा हुन्छ।

मैदानमा उनी

उमेर ८ वर्ष। उनको सानो हातमा करिब १ सय ६३ ग्रामको बल राम्रोसँग अट्दैन। लगभग १३ सय ग्रामको ब्याट उनका लागि भारी भइदिन्छ मैदानमा।

तर कमल शाहीको मन भने त्यही बलमा गएर अडिएको छ।

मैदानमा गुडिरहेको पुरानो रातो बल उनले बायाँ हातले टपक्क टिपे, हावामा स्पिन गराउँदै दायाँ हातमा ल्याए। केही पछाडी हटे, लामो सास फेरे, पाँच कदम अगाडि बढेर पिचमा बल फ्याँके। बल ब्याट्सम्यानभन्दा एक मिटर अगाडि टप्पा खायो। इन स्विङ हुँदै ब्याट्सम्यानलाई बिट गर्‍यो र गएर जालिमा ठोक्कियो। ब्याट्म्यानलाई आउट गराउन उनी थारैले चुक । फिस्स हासे र बुढी औँला टोके।

ओ ! गुड बलिङ, ‘कमन कमल कमन’ मैदानमा उनका सबै साथीहरुको एउटै स्वर थियो। मैदानको एक छेउमा बसेका दाजु र भाउजु ताली बजाएर हौसला दिँदै थिए।

ट्रेनिङ्ग सेन्टरमा क्रिकेट सिक्दै कमल।

मैदानमा सबैभन्दा साना कमल सबैका प्रिय छन्। मायाले सबैले उनलाई मेस्सी भनेर बोलाउँछन्। सुरुका दिनमा एकेडेमीमा त्रिकेट सिक्न आउँदा बार्सिलोनाका लियाेनल मेस्सीले लगाउने १० नम्बरको जर्सी लगाएर खेल्ने गरेका उनलाई सबैले मेस्सी भनेर बोलाउन थाले। शायद खेलप्रति ‘मेस्सीको जस्तै लगाब’ भएकोले पनि होला।

फुर्तिला छन् उनी। ब्याटभन्दा बल समाउँदा बढी रमाउँछन्। कमललाई क्रिकेट सिकाइरहेका कोच दीलिप यादव भन्छन्, ‘फुर्ति र खेल्ने इच्छाशक्ति नै उसको सबैभन्दा ठूलो प्लस पोइन्ट हो।’

‘बल राम्रोसँग हातमा नअटे पनि टर्न ल्याउन उसले सक्छ’, खुशी हुँदै उनले भने, ‘उसको दिन प्रतिदिन खेल राम्रो हुँदै गएको छ।’ कमलले खेललाई निरन्तरता दिन सके नेपाली क्रिकेटका लागि राम्रो योगदान दिनसक्नेमा उनी ढुक्क छन्।

खेलप्रति अभिभावकहरुले चासो नदिँदा उनी दुःखी हुन्छन्। ‘नेपालमा कमै अभिभावक छन् जो आफ्ना सन्तानलाई खेलाडी नै बनाउँछु भनेर लाग्छन्।’

तर बिस्तारै मानिसहरुको सोच बदलिने आश भने उनले मारेका छैनन्।

परिवारको सहयोग बिना त झन् यो महँगो खेल खेल्नै नसकिने उनको तर्क छ। खेलसँगै पढाइ पनि त्यति नै आवश्यक भएकोमा उनी जोड दिन्छन्।

कमल एक कक्षामा पढ्छन्। क्रिकेट एकेडेमी र उनी पढ्ने ज्ञानदीप सेकेन्डरी बोर्डिङ स्कुल सँगसँगै छन्।

ट्रेनिङ सकेर डेरामा पुग्दा उनलाई स्कुल जान हतार हुन्छ। ९ बजे कोठामा पुग्ने उनलाई साढे नौ बजे स्कूल पुगिसक्नुपर्छ। स्कूलमा उनी आफ्नो लेभलका लिडर हुन्। लाइन लगाएर ड्रम बजाउने उनको ड्यूटी।

कमलको प्रशिक्षण नियाली रहेका दाइभाउजु राजेन्द्र र प्रतिमा। अहिले राजेन्द्र वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् ।

दाइ राजेन्द्र पनि खुशी छन् भाइको पढाइ देखेर। ‘अहिले पढाइमा पनि रुची राखेको छ’ उनी खुशी हुँदै भन्छन्। तर घरमा आइसकेपछि उनले पढाइ बिर्सने गरेका छन्। दाइ र भाउजुको चाहना एकैछिन भए पनि पढोस् वा होमवर्क गरोस् भन्ने हुन्छ तर कमल भने एकछिन पनि बल नछोड्ने ‘मुड’मा देखिन्छन्।

भाउजुले पढ भन्दा ‘पाँच मिनेट बल खेलाउँछु अनि पढ्छु’ भन्ने कमलको जवाफ हुन्छ। ‘उसको इच्छा पढ्नभन्दा खेल्नमै बढी छ’, भाउजु प्रतिमाले हाँस्दै भनिन्, ‘पढ्दा, कोठामा बस्दा हरपल उनको साथमा बल हुन्छ। सपना पनि क्रिकेट खेलेकै देख्छन्।

’राजेन्द्र भाइको खेलप्रतिको लगाव देखेर दंग त छन् तर पढाइलाई पनि अलिकति ‘टाइम’ देओस् भन्ने उनको चाहना छ।

‘मेरो परिवारको पनि त पढोस् भन्ने चाहना हो’, हाँस्दै उनले भने, ‘म हुँदा चाहिँ पढ्छ नत्र खेलेरै समय बिताउँछ।’

भाउजु प्रतिमा पनि क्रिकेट राम्रोसँग बुझ्छिन्। कमलसँगै एकेडेमी जान्छिन् क्रिकेट सिक्न। उनलाई पनि क्रिकेट खेल मन पर्छ। यही खेलका कारण पनि राजेन्द्रसँग मन मिलेको छ।

कमललाई गाह्रो छैन भाउजुलाई बुझाउन। भाउजुले पनि बुझ्छिन् कमलका हरेक कुरा।

दाइको इच्छा र भाउजुको यही बुझाइका कारण कमलले मन दिएर खेल्न सकेका छन्।

सपना त दाइको पनि थियो


साल २०६९, १० कक्षा पढ्दै गरेका राजेन्द्र शाही घरको कमजोर आर्थिक अवस्था सुधार्न मलेसिया उडे। उमेर सानै थियो, तर नागरिकतामा उमेर बढाए।

तीन भाइमध्येका जेठा शाहीमाथि केही जिम्मेवारी थियो। कान्छो भाइ कमल भर्खर डेढ वर्षका थिए। माइलो भाइ नविन शाही पनि हुर्कँदै थिए।

कमाउन मलेसिया गएका उनको संगत बंगलादेशका नागरिकसँग भयो। फुर्सदको समयमा उनीहरु टिभी हर्थे, त्यो पनि क्रिकेट। बंगलादेशमा क्रिकेट सबैको प्रिय थियो र छ। बंगलादेशका नागरिक देशको समर्थन गर्ने नै भए। राजेन्द्रका लागि त्यो खेल हाउगुजी थियो।

क्रिकेट केही पनि नबुझेका राजेन्द्र सुरु–सुरुमा त उनीहरुसँगै तालिपिटे अनि हुटिङ्ग पनि गरे। जबरजस्ती भनौं वा संगतले चाख बढ्दै गयो। हेर्दै जाँदा बिस्तारै बुझ्दै गए। त्यो हुटिङ्ग उनको हुटहुटीमा बदलियो। उनलाई लाग्यो उमेर छ, म पनि क्रिकेट खेल्न सक्छु।

तीन वर्षका लागि गएका उनी १८ महिनामै फर्किए। मनमा अर्कै उमंग र नयाँ सपना बोकेर। सपना थियो देशका लागि क्रिकेट खेल्ने।

मुस्कुराउँदै उनले भने, ‘उमेर थियो म खेल्न सक्छु भन्ने लाग्यो।’

काठमाडौँ आएर क्रिकेट खेल्न थालेँ। तर परिवार उनको समर्थनमा उभिएन। तैपनि उनको क्रिकेट खेल्ने मन मरेन। उनी खेल्दै गए। उनले २ वर्ष क्रिकेट खेले।

कसैको साथ नपाएका उनलाई उमेरले पनि साथ दिएन। २२ वर्ष पुगेका उनी भन्छन्, ‘त्यतिबेला लाग्यो शायद मैले खेल्न ढिला सुरु गरेँ।’

आर्थिक अभावका कारण पनि खेल्न सक्ने अवस्था रहेन। गम्भीर हुँदै उनले भने, ‘अझै पनि राम्रो खेल्न सक्छु जस्तो लाग्छ। तर अब सबै कुरा मेरो पक्षमा छैन। खेल्न नसके के भो? खेल्न सिकाउन त सक्छु? भाइहरु छन् उनीहरुलाई सिकाउँछु।

’खेल्न छोडे पनि उनले मनबाट क्रिकेट हटाउन भने सकेका छैनन्।

तीन वर्ष अघिसम्म कमललाई क्रिकेट कुन ‘चरी’ को नाम हो जस्तो लाग्थ्यो। थाहै थिएन। गाउँमा साथीहरु र धुलो माटोसँग खेले उनी। त्यो पाँच वर्षको उमेरमा उनले कहाँ सोचे होलान् र, कुनै दिन यही खेल(क्रिकेट) आफ्नो जिन्दगीको हरफहरु बन्दै जानेछन् भनेर। जुन हरफको सुरुवात उनका दाइ राजेन्द्र शाहीले गरे।

ठूलो क्रिकेटर बन्ने जुन सपना राजेन्द्रले देखेका थिए, त्यो सपना अब हुर्कँदै गरेका कमलले देखेका छन्, भन्छन्, ‘म एक दिन ठूलो क्रिकेटर बन्नेछु।

’दाइको साथबाट पाएको विश्वास हो यो।

यो सपना भाइलाई राजेन्द्रले ४ वर्ष अगाडि देखाए। उनी भन्छन्, ‘लाग्यो मेरो त उमेर गयो। तर भाइको त छ नि, उसलाई खेलाउँछु ।

’माइलो भाइ नविन ९ वर्षका थिए। कमल ४ वर्षका। कमल पढ्न फिटिक्कै मन नगर्ने। गाउँमा साथीहरुसँग दिनभरी खेलेर बिताउँथे। राजेन्द्रलाई लाग्यो–सँगै लिएर जान्छु, क्रिकेट पनि खेलाउँछु पढाउँछु पनि।

दाइको हात समाएर उनीसँगै नविन पनि काठमाडौँ आए, क्रिकेट खेलाडी बन्ने दाइको सपना पूरा गर्न।

क्रिकेट खेल्न सुरु गरे। मन लगाएर सिके। दुवै भाइले हरेक दिन राम्रो खेल्दै गए। नविन र कमल दाइको पछि लागेर क्रिकेट सिक्न जान्थे। सकिनसकी उनीहरु पनि ब्याट र बल उचाल्थे। राजेन्द्र आफू पनि खेल्थे र भाइहरुलाई पनि सिकाउँथे।

तर यो सबै परिवारलाई चित्त बुझेको थिएन। परिवारको यसमा कुनै सहयोग भएन। परिवारमा कलह झन् बढ्दै गयो । मलेसियाबाट कमाएर ल्याएको पैसा सकिँदै गयो।

आर्थिक समस्या बढ्दै गयो। महँगा क्रिकेट सामग्री धान्न उनले सकेनन्। उनले क्रिकेट खेल्न छोड्ने निधो गरे। तर त्यो भाइका लागि त्याग थियो उनको। आलमुनियमको फ्याक्ट्रिमा काम गर्न थाले। कमाइ महिनाको १७ हजार। यसैबाट श्रीमती र दुइ भाइसँगै उनको जोहो हुन्थ्यो।तर सबै भने जस्तो कहाँ हुन्छ र? एक वर्षअघि अन्डर १६ को छनौटमा नविनको ढाडमा समस्या देखियो। निराश हुँदै राजेन्द्रले भने, ‘ब्याटिङ्गमा राम्रो गरिरहेको थियो। तर उसले खेल्न मन गर्न छोड्यो। परिवारको दबाबका कारण उसले क्रिकेट छोड्यो’, मलिन अनुहार बनाउँदै राजेन्द्रले भने।

नविन अहिले रुकुम–काठमाडौँ चल्ने नाइट बसमा सहचालक छन्।

यता, कमलको यात्रा भने जारी छ। उनको हरेक दिनको सुरुवात क्रिकेटबाट हुन्छ।

तर पछिल्ला केही दिनले कमलको दैनिकीमा परिवर्तन ल्याएको छ। सुख अघिको दुःख ल्याएको छ। दाइ साउदी अरब उडे। भाउजु नजिकैको सुपर मार्केटमा काम गर्न थालेकी छन्।

कमल दाइसँगै काठमाडौँको टुँडिखेल लगायतका ठाउँमा जान्थे। बलिङ्ग गर्थे। उनको कौशल देखेर सबैले माया गरेर क्रिकेट बल हातमा थमाउँथे। उत्साहित राजेन्द्र भन्ने गर्थे ‘मेरो भाइलाई विश्वका हरेक क्रिकेट टुर्नामेन्ट खेल्ने बनाउँछु।’

उनको त्यहि दृढ विश्वासले उनलाई परदेशको बाटो डोर्‍याएको छ। १७ हजार कमाउने राजेन्द्र ४० हजार कमाउन विदेश उडेका छन्।

‘भाइलाई डाइट नै पुर्‍याउन सकिएन’, उनी भन्ने गर्थे।

पुरानो बल हातमा उफार्ने कमलको हातमा अब सेतो नयाँ बल हुनेछ। पिठ्यूँमा बोक्ने च्यातिएको उनको झोला अब शायद नयाँ हुनेछ। खुट्टाको जुत्ता नयाँ हुनेछ। त्यो जुत्ताले टेक्ने ठाउँ फरक हुनेछ।

र हुनेछ फरक साथ। दाइको साथ। दाइको हात। जुन हात समाएर उनी त्रिकेट एकेडेमीसम्म जान्थे। स्कूल जान्थे। र जान्थे क्रिकेट खेल्न। अब यी सबै ठाउँमा कमललाई एक्लै जानुपर्ने छ।

र उनलाई भोलि एक्लै खेल्न जानु पर्नेछ।