हाम्रो आवाज पनि सुन्नुहोस्- २२

जे समस्या हामीले भोगेका छौँ, अरु कसैले भोग्न नपरोस्

अल्पविकसित देश नेपालको स्वास्थ्य शिक्षाको अवस्था अत्यन्तै कमजोर छ। सोही कारण देशका गाउँ वस्तीहरुमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याको समयमा नै पहिचान हुन नसक्नु, परम्परागत सोच, शैली, मान्यताको कारण समाजले सुविधा सम्पन्न ठाउँहरुमा जानको लागि प्रोत्साहन नगर्नुको कारण नेपालमा श्रवण शक्ति गुमाएका लगायत अन्य व्यक्तिहरु आजीवन अपाङ्ग भएर बस्नु पर्ने बाध्यता छ। यसो हुनुको प्रमुख कारण ग्रामीण वस्तीहरुमा सुविधा सम्पन्न स्वास्थ्य सेवा नपुग्नु, शहरबजारमा उपलब्ध सेवाका विषयमा सरकारले प्रचार प्रसार गर्न नसक्नु हो।

विवाह पश्चात् पहिलो सन्तान छोरी भयो। छोरीको उमेरको विकाससँगै भाषाको विकास हुन सकेन। म एउटा काठमाडौंमै अध्ययन गरेको भैकन पनि गाउँ समाजमा कोही ढिलो बोल्छन् भन्ने कथनले हामी प्रतीक्षा गर्‍यौँ। दोस्रो सन्तान छोरा भयो। ऊ पनि अन्य सामान्य बच्चाहरुसरह ३ वर्षसम्म पनि भाषाको विकास हुन सकेन र हामी काठमाडौं आएर शिक्षण अस्पतालमा जचाउँदा दुवै बच्चाको श्रवण शक्तिमा धेरै कमी भएको कारण नबोलेको भन्ने थाहा पायौँ। ग्रामीण समाजले दिएको सल्लाह सुझाव मिथ्या सावित भयो र हामी जस्ता कैयौ व्यक्तिहरू अझै प्रतीक्षामै रहेका छन् होला।

अब समस्या त पत्ता लाग्यो समाधान के त? भन्ने सवालमा उपचार विधि के हो भन्ने विषयमा अस्पताल र सुस्त श्रवण सबन्धि काम गर्ने श्रुति संस्था मा समेत सल्लाह लिन पुगेँ। उहाँहरुले सक्नुहुन्छ भने कक्लियर ईम्प्लान्ट (Cochlear implant) गर्नुपर्ने सल्लाह दिनु भयो तर यो उपचार विधि महंगो र झंझटिलो थियो। आफन्तहरुले यो प्रविधिमा जान सल्लाह नदिए पनि हामी ऋणसापटी लिएर भए पनि छोराको कक्लियर इम्प्लान्टर छोरीको लागि हेरिङ एड (Hearing Aid)हाल्ने निर्णय गर्‍यौँ।

हामीले जेनतेन गरी कक्लियर इम्प्लान्ट त गर्‍यौँ। यसको लागि डा. रवीन्द्र प्रधानाङ्ग लगायत सम्पूर्ण टिमलाई धन्यबाद छ। हाम्रो बच्चा हाल केही बोल्न थालेको छ। बाबुले केही बोलेको सुनेर आफन्तहरु पनि खुसी हुनुहुन्छ। तर, माथि उल्लेख गरेजस्तै कमजोर स्वास्थ्य पूर्वाधारका कारण पर्याप्त मात्रामा सहुलियत रुपमा म्यापिङ तथा राम्रो थेरापीको व्यवस्था नहुनुले आर्थिक व्ययभार बढदै जानुका साथै सोचे भन्दा कम प्रगति देखिनुले यसमा सुधार गर्न सकेमा यस्ता समस्याबाट पीडित सेवाग्राहीहरुको पिडामा मलम लाग्ने थियो। यो र यस्ता खालका समस्याबाट पीडित जो कोहीलाई पनि आजीवन अपांग भएर बस्नुपर्ने बाध्यताबाट अन्त्य हुन आधुनिक प्रविधिसँग नजिक रहन समेत आग्रह गर्दछु। हाल कक्लियर इम्प्लान्टको लागि नेपाल सरकार बाट केही रकम वार्षिक रुपमा विनियोजन हुँदै आएको छ भन्ने सुनेको छु। समस्याको गम्भीरता बुझी विनियोजन गर्ने नेपाल सरकार, बुझाउन प्रयास गर्ने टिम र पैरवी समूह धन्यबादको पात्र हुनु हुनेछ। प्राकृतिक विपत्तिका तथा कोरोनाको महामारीका कारण हाल गाउँ घरमा बस्नु परे पनि श्रुति संस्थाले कक्लियर इम्प्लान्ट गरेपछि बच्चाहरुको भाषा तथा सञ्चारको विकास, मनोसामाजिक परामर्श, शिक्षालगायत विषयमा लिएको चासोप्रति समेत धन्यबाद दिन चाहन्छु। जे समस्या हामीले भोगेका छौँ, त्यो अरु कसैले भोग्न नपरोस्।

(जीसी  सुस्त श्रवण छोरी र छोराका अभिभावक हुनुहुन्छ।)

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्