सिरहा नगरपालिकामा भ्रष्टाचार- ४ सय ९ रुपैयाँको तकिया, २ हजार ८ सय ७६ रुपैयाँको खोल!

जनकपुरधाम-कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको नाउँमा सिरहाको एक स्थानीय तहले चरम भ्रष्टाचार गरेको पाइएको छ।

सिरहा जिल्लाको सिरहा नगरपालिकाले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाको कार्यालय र विभिन्न वडाकार्यालयबाट खरिद गरेको सामग्री र त्यस्को मुल्य सार्वजनिक गरेको छ जसमा बजार मुल्यभन्दा बढीमा सामानहरु खरिद गरिएको पाइएको छ।

सिरहा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ।

जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको विवरण बुझाउन भनेपछि गत बिहिबार सिराहाका केही स्थानीय तहले खर्च विवरण बुझाएकोमा सिरहा नगरपालिकाले समेत खर्च विवरण बुझाएको थियो।

सिरहा नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा सबैभन्दा बढी तकियाको खोलमा अनियमितता भएको पाइएको छ। नगरपालिकाले १ सय ११ थान तकियाको खोल खरिद गरेको छ जसको लागि ३ लाख १९ हजार २ सय ७५ रुपैया खर्च गरेको छ। अर्थात एउटा तकियाको खोलको मूल्य २ हजार ८ सय ७६ रुपैया परेको छ।

एउटा तकियाको खोलको मुल्य २८ सय भन्दा बढी परेपनि तकियाको मूल्य भने कम रहेको छ। नगरपालिकाले ५ सय ११ वटा तकिया २ लाख ८ हजार ९ सय ५० रुपैयामा खरिद गरेको छ। अर्थात एउटा तकियाको मुल्य करिब ४ सय ९ रुपैया परेको छ।

सिरहा नगरपालिकाका प्रमुख अशेश्वर कुमार यादवले तकियाको खोल प्रति गोटा २ सय ९० रुपैयाको दरले खरिद गरिएको बताए। ७ सय ९० रुपैयाँ पर्ने तन्नाको मूल्य पनि ८ हजारभन्दा बढीको प्रतिगोटाको हिसाबले देखाइएको उनले बताए।

नगरपालिकाको खर्च विवरण अनुसार १ सय १५ थान रेनकोट खरिदमा १ लाख ९३ हजार रुपैयाँ खर्च गरेको देखाएको छ।त्यस्तै नगरपालिकाले ३ सय ३७ थान रेनवुट खरिदमा ३ लाख १२ हजार १ सय ५० रुपैँया खर्च गरेको छ।

३ सय ४९ वटा बेडमा २ लाख ५९ हजार ४ सय रुपैँया खर्च गरिएको छ । त्यस्तै ८७ हजार ५ सय ७५ थान मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैँया खर्च गरेको छ। बजारमा १० रुपैँया प्रति थान पाइने मास्क नगरपालिकाले २२ रुपैँया ८७ पैसाको दरले खरिद गरेको छ। यद्यपि कुन मास्क खरिद गरिएको छ त्यो नगरपालिकाको खर्च विवरणमा खुलाइएको छैन।

यस्तै ५ हजार ९ सय ९९ लिटर सेनिटाइजर १४ लाख १ हजार ९७ हजार रुपैँयामा खरिद गरेको छ। यस्तै ७२ कार्टुन साबुन खरिदमा नगरपालिकाले १ लाख ७२ हजार १ सय ९५ रुपैँया खर्च गरेको छ। यस्तै २ सय २५ थान पीपीई खरिदमा ९ लाख १८ हजार ४ सय ९१, झुल सुपानेटमा ३ लाख ३० हजार रुपैँया खर्च गरेको नगरपालिकाद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।

त्यस्तै नगरपालिकाले १५ हजार ७ सय ५३ रुपैयामा ७ वटा थर्मगन खरिद गरेको छ । किटनाशक औषधि छर्ने स्प्रे २० थान ५ हजारमा खरिद गरेको छ । नगरपालिकाले १ हजार ४ सय ९० को दरले ३ सय ६ वटा डस्ना ४ लाख ५५ हजार ८ सय ५० मा खरिद गरेको छ।

कम्बलमा ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ। विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिदमा २ लाख ५८ हजार ६ सय ५१ रुपैया खर्च गरिएको छ।

२ सय ५० वटा फलामे खाट नगरपालिकाले ११ लाख ९४ हजार ६ सय ८५ मा खरिद गरेको छ। अर्थात एउटा फलामे खाटको मुल्य ४ हजार ७ सय ७९ परेको छ। किटनाशक औषधी छरिने स्प्रे ठुलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन्।

त्यस्तै नगरपालिकाले वडा कार्यालयबाट ३ करोड ८२ लाख ६४ हजार ३ सय १६ रुपैया खर्च गरेको छ। वडा नं. १ देखि २२ सम्ममा राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय र सबै वडाहरुमा मास्क, सेनिटाईजर, साबुन, ग्लोब्स आदि वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ रुपैया खर्च गरेको छ।

नगरप्रमुख यादवले नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा त्रुटी भएको बताए। उनका अनुसार खर्च विवरण टाइप गर्ने बेलामा यस्तो गल्ती भएको हो। सच्याएर चाँडै पूनः खर्च विवरण सार्वजनिक गर्ने उनले बताए।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्