उमेरले झण्डै साठी छोइसकेकी सेरा  जवानीमा सारा युवकहरुलाई हुरुक्कै पार्थिन् । केवल उनको जिउडालले मात्र होइन उनको मन्त्रमुग्ध पार्ने वाणी पनि थियो । सुनिरहुँ लाग्ने उनको बोली अर्को अस्त्र थियो युवाहरुलाई भत्भती पार्ने । सबैलाई माया गर्ने समान व्यवहार गर्ने हुँदा उनलाई रिस गर्ने मान्छेहरु थिएनन् । तर उनीलाई आफ्नो बनाउन नपाएकोमा इख गर्ने युवाहरु भने धेरै नै थिए । यौवनका रसिला दिन रातहरु उनले पनि धेरै साथीहरुसँग बिताइन् । केहीसँग त अलि लामो समय पनि बिताइन्, जुन एक आम संस्कार पनि हो पश्चिमेली समाजमा । उमेर पुगुन्जेलसम्म जति जनासँग समय बिताएपनि विवाह गरेपछि भने खासै धेरैले चिटिङ गर्ने गर्दैनन् । सेराले पनि विवाह बन्धनमा बाँधिएर घरजम गर्नपर्छ भने किन ढिला गर्ने भनेर पच्चीस वर्षमै एक ट्युनिसियन युवकसँग विवाह गरिन् । उनीहरु कलेजमा सँगै पढेका थिए । बैवाहिक जीवन खुसीका साथ बिताए ।

सेरा  हस्पिटलमा नर्स थिइन् । बाबुआमाको एकमात्र छोरी भएकोले माइतीबाट राम्रै सहयोग पनि हुन्थ्यो । विवाह गरेको दोस्रो वर्षमै छोरी जन्मियो । त्यसपछि अर्को दुई छोराहरु पनि थपिए । श्रीमान र श्रीमती दुबैले मिहिनेत गरी जम्मा गरेको अनि बाबुआमाले थप गरिदिएको पैसाले अलि ठूलै घर किनेका थिए । सेरासँग विवाह गर्दा सुलेमानले यहाँको पासपोर्ट हात पार्ने दाउ मात्र खोजेका थिएनन् । त्यति मात्रै भए तीनतीनवटा सन्तान जन्माउनतिर लाग्ने थिएनन् होला । उनी पनि रातदिन नभनि बिभिन्न ठाउँमा काम गर्दथे । बिहानदेखि साँझसम्म टेस्कोमा र साँझपछि रेष्टुरेन्टमा खाना डेलभरीको काम गर्थे र शनिबार आइतबार च्याउ टिप्न पनि भ्याउथे । धेरै ठाउँमा काम गर्नुभन्दा बरु एउटै काम गर्न पाए हुन्थ्यो भनेर सबै आम छाडी ट्याक्सी ड्राइभर बन्ने निर्णयमा पुगेका थिए ।

सन्तानहरु हुर्कँदै थिए । स्कुल सकाएर कलेज पनि जान थाले । रातभरी ट्याक्सी चलाउँदा बढी पैसा आउँने हुँदा दिउँसो सुत्ने बानी बस्न थाल्यो । श्रीमती घरमा हुँदा आफू काममा जान पर्ने । छोराछोरी १८ वर्ष नाघेपछि लाखापाखा लागीसके । सुलेमानलाई खै किन हो यस्तो जीवन पनि कसरी बिताउन सकिएला भनेर आफ्नै देश फर्कने सोच आउन थाल्यो । सेरालाई जाउँ भो बरु ट्युनिसिया र आरामको जीवन बिताऊँ नभनेको होइन तर बुढेसकालमा बाबुआमा र छोरा छोरीहरुलाई छाडेर जान चाहिनन् भनौं वा उसले स्वतन्त्र जीवन बिताउन उचित ठानिन् । जे होस् सल्लाहले नै उनीहरु छुटिने निर्णय भयो । राजीखुशीले सुलेमान आफ्नो देश फर्क्यो । जम्मा गरेको पैसाले आरामको जीवन जिउने सपना सहित सेरासँगको सम्बन्ध बिच्छेद भयो । छोराछोरीहरु आफ्नै तरीकाले जीवन ज्युन थालिसकेकाथिए । त्यसो त किनेको घर उनीहरु लाई नै छाडेर हिँडेका थिए सुलेमान ।

सेरा संगीत प्रिय थिइन् । कामको अलावा उनी गीतसंगीतमा खुबै रमाउँथिन् । आफूले गाउने बजाउने नगरेपनि उनी खाँटी संगीतपारखी थिइन् । गीतसंगीतका प्रत्यक्ष कार्यक्रमहरु हेर्न उनी टाढाटाढा पनि जान्थिन् । यसै क्रममा उनको एकजना स्पेनिस युवा कार्लोससँग भेट भयो । कार्लोसले बजाउने पियानोले सेरालाई यति मोहित बनायो कि उनले आफ्नो कामबाट बिदा मागेर उनका कार्यक्रमहरु हेर्न जान थालिन् । विस्तारै उनीहरुको सम्पर्क बढ्दै गयो । सेरालाई थाहा थियो आफूले चाहेजति सबै आफ्ना हुँदैनन् । तर आफूले मन पराएको मान्छेको वरिपरि बस्न मात्रै पाए पनि अद्भुत आनन्द महशुस हुन्छ । कार्लोस भर्खरै २८ काटेर २९ वर्षमा टेकेको अविवाहित युवक थियो । उ प्रकृतीप्रेमी थियो । उसले तयार पारेका पियानोका भाकाहरु सुनिरहँदा भोक, प्यास, निन्द्राको होस समेत हुँदैनथ्यो । मेलोडीको लतले सबै बिर्साउँथ्यो । सेरा  उनीसँग यति मोहित भइन् कि उनले आफ्नो जागिर पनि छाड्ने निर्णयमा पुगिन् । अब उनी कार्लोससँग साथी भएर उनी जहाँ गयो त्यही जान थालिन् । कार्लोसले नै उनलाई यति धेरै चराचुरुंगी, बोटबिरुवाका बारेमा जानकारी दिए कि यति धेरै प्रकृतिलाई माया गर्ने मान्छे उनले  भेटेकी थिइनन् ।

कार्लोस प्रकृतिसँगै प्रकृतिको अर्को मिहिन सृजना नारीलाई पनि उत्तिकै समभाव राखी सम्मान गर्दथे । नारी स्वभाव र अंग प्रत्यगंको यति सजीव व्याख्या उनी गर्दथे कि सेरालाई लाग्थ्यो म किन २० वर्षपछि जन्मिन हुँला? कार्लोसले आफ्ना बुवाआमाबाट एउटा घर उपहार (अंश) पाएका रहेछन् । एउटा सवारी दुर्घटनामा परेर दुबैको मृत्यु भएको रहेछ । उनले सो घरलाई स्वर्गको एक टुक्रा जसरी सजाएर राखेका रहेछन् । थरीथरीका फूलहरु, बिशेष खालका बोटबिरुवाहरु, अनि फाउन्टेनमा एउटी नग्न महिला गाग्री बोकेर उभिएको र त्यहीबाट जलधारा बहिरहेको थियो । कार्लोस बेला बेलामा भन्ने गर्थे महिलाहरु त्यस्तो मायाको मुहान हो जहाँ बाट ऊ त्यो घडाबाट अनवरत रुपमा बगिरहेको पानी झैं माया बगिरहन्छ । आमा, दिदी, बहिनी, श्रीमती वा छोरी जुनसुकै रुपवाट पनि एक पुरुषलाई दिने मायामा कति बेजोड शक्ति हुन्छ । यस्मा अलिकति पनि तलमाथि भयो भने सबै चकानचुर हुन्छ, प्रकृतीको खेला बिग्रन्छ ।

कार्लोस बेला-बेला भन्ने गर्थे, महिलाहरु त्यस्तो मायाको मुहान हो जहाँबाट ऊ त्यो घडाबाट अनवरत रुपमा बगिरहेको पानी झैं माया बगिरहन्छ । आमा, दिदी, बहिनी, श्रीमती वा छोरी जुनसुकै रुपबाट पनि एक पुरुषलाई दिने मायामा कति बेजोड शक्ति हुन्छ । यस्मा अलिकति पनि तलमाथि भयो भने सबै चकनाचुर हुन्छ, प्रकृतिको खेला बिग्रन्छ ।

करिव एक वर्षको परिचय र सहयात्रापछि अनेपेक्षित रुपमा कार्लोसले सेरालाई आफ्नो बनाउने प्रस्ताव गरे । सेराले चाहेको तर असम्भव झै ठानेर भन्न नसकीरहेको अवस्था थियो । कार्लोसको प्रस्तावले सेरा  निकै खुशी भएकी थिइन् मानौ उनले कुनै युद्ध जितेकी थिइन् । उनले बिनाकुनै बिलम्ब प्रस्तावलाई सहर्ष स्विकार गरिन् ।

कार्लोस सबैलाई माया गर्थे । प्रकृतिप्रेमी त थिए नै, बच्चाहरुलाई पनि औधी माया गर्थे । चर्चमा आउने बच्चाहरुसँग आँखामा आँखा जोडिदा कार्लोसको मुहारमा बेग्लैखाले चमक आउँथ्यो । उनी लामो समय दिएर बच्चाहरुसँग कुरा गरीबस्थे । एकदिनको कुरा हो, सेराले कार्लोससँग सोधिन्, के तिमीलाई बच्चा बनाउँन मन लागेको हो? जवाफमा उसले हो किन नबनाउने? बच्चा कसलाई मन पर्दैन ? भन्दा उस्को उज्यालो पोतिएको अनुहार र धपक्कै बलेका आँखाले सेरालाई विक्षिप्त बनायो ।  सेराका हुर्किसकेका एक छोरी र दुइ छोराहरु छन् । उमेर पनि पैतालीस नाघिसकेको थियो, यो अबस्थामा आएर जीवनलाई बच्चाको निहुँमा अन्तै कतै मोड्नु भनेको पिडा बेसाउनुजस्तै थियो । सेरालाई फेरि यो उमेरमा आमा बनेर नयाँ जीबन शुरु गर्नु उचित लागेन । तर  कार्लोसको इच्छा उचित थियो र त्यसलाई त्यसै निभ्न दिने कुरा पनि भएन ।

कार्लोस अविवाहित ३४ वर्षका मात्र थिए । सेरा  सबै कुरा सम्झेर  धेरै रात निदाउन पनि सकेकी थिइनन् । उनको मायाको कारण कार्लोस बाँझो नै बस्नुपर्ने? उसको बंशजको अन्त्य गर्न पर्ने? यो न्यायोचित थिएन । आफूलाई माया गर्ने मान्छेको इच्छा पुरा गरिदिनू सबैको कर्तब्य हुन आउछ । मनमनै सोचिन्, मलाई मायाको खाँचो भएको बेला कार्लोसले भरपुर साथ दियो तर अहिले मेरै कारण कार्लोस सन्तानविहीन हुनुपर्ने? सेराले सबै कुरा सोचविचार गरी कार्लोसलाई नयाँ केटी साथी खोजिदिने निधोमा पुगिन् । उनले धेरै केटी साथीहरु बनाइन् र घरमा बोलाइन् । कार्लोसलाई ती केटीहरुसँग सम्बन्ध बनाउन वातावरण बनाइन् । तर जसोगर्दा पनि उनी सफल भइनन् । कार्लोस सेराको प्रेममा यति गहिरो डुबिसकेका थिए कि बाबु बन्ने विचारलाई पनि तिलाञ्जली दिइसकेकाथिए । आफूलाइ छाडेर नजान सेरासँग आग्रह गरे । सेरा पनि हार खान लागिसकेकी थिइन् ।

एकदिन यिनै कुराहरु सोच्दै उनी एउटा कफी पसलमा बसी राखेकी थिइन । उनको अगाडी एक सुन्दरी महिला एक्लै आइन्, सेराको ध्यान उनीमाथि पर्न गयो । ध्यान यसरी बस्यो मानौं उनले यसअघि यति राम्रो जिउडाल भएकी युवती कहिल्यै देखेकी थिइनन् । उनि पनि कफी पिउन एक्लै आएकी रहिछिन । उनीहरुबीच परिचय भयो । ती सुन्दर युवतीको नाम इसाबेल थियो, नजिकैको गाउँमा बस्थिन् । पढाइ सकेर अब छिट्टै मानसिक डाक्टर बन्ने तरखरमा रहिछन् । सेराले आफ्नो घरको ठेगाना र सम्पर्क नम्बर टिपाइन् । अब छिटै घरमा भेट्ने कुरा सहित उनीहरु छुटिए । छोटो समयमै उनीहरु राम्रा साथी बन्नपुगे । कार्लोससँग पनि इसाबेलको राम्रो सम्बन्ध थियो ।

सेराले एकदिन कार्लोससँग मलाई छोराछोरी र बुढाबुढी बाबा आमालाई भेट्ने सार्है इच्छा लाग्यो भनी केही दिन बेलायत जाने विचार व्यक्त गरिन् । कार्लोसले आफू पनि जाने रहर भएको बतायो तर सेराले हैन म अहिले एक्लै जान्छु केही दिनमा फर्किहाल्छु भनिन् । कार्लोसले जिद्दी गर्न सकेनन् तर सहजताकासाथ लिन पनि सकेनन् । सेरा घरबाट हिड्ने बेलामा कार्लोसले मलाई एक्लै नछाड म तिमीलाई माया गर्न पाए मेरो सन्तानको इच्छा पनि छैन, मेरो वंशज अन्त्य भएकोमा पनि चिन्ता छैन भन्दै थिए । तर सेराले कार्लोसलाई बलियो चुम्बन गरिन् र फेरि भेटौला भन्दै बिदा मागेर हिँडिन् । इसाबेललाई पनि टेक्स्ट गरेर म केही दिन लण्डन जादैछु यसो कार्लोसको ख्याल गर्नु भनिन् । म फोन पनि गर्दैगर्छु भनेर लेखिन् । हिथ्रो एयरपोर्टबाट बाहिर निस्कनेबित्तिकै सेराले स्पेनको मोबाइल फोनको सिम निकालेर बेलायतको नयाँ सिम राखिन् र आफ्नो घरतर्फ लागिन् ।

त्यसपछि सेराले कार्लोसलाई कहिल्यै सम्पर्क गरिनन् । बेला बेलामा छोरा छोरी र बाआमासँग भेट्ने बाहेक सेराले प्राय एक्लो जीबन नै बिताइन् । कार्लोससँग बिताएका करिब पाँच बर्ष सम्झिँदा पनि उनि आनन्दित हुन्थिन् । जीवनको त्यो काल खण्ड अबिश्मरणिय रह्यो । कहिले काही सम्पर्क गरौ जस्तो न लागेको त हैन तर पुरानो सिमकार्ड कता पर्यो फेला पार्नै सकिनन् । सामाजिक सञ्जालमा व्यस्त भएर नजिकका मान्छेहरुसंग असामाजिक बन्न हुदैन भन्ने कार्लोस लाइ सम्पर्क गर्ने एक मात्र माध्यम फोन थियो । त्यो पनि भेट्टाउन सकिनन् ।

करिब सात वर्ष पछि कार्लोस र इसाबेलासँग भेट्ने रहर लाग्यो सेरा लाई र उनीहरु बस्ने ठाउमा पुगिन । त्यहाँ पुग्दा करिब ५ वर्षकी छोरी आँगनमा खेल्दै थिइन । आमाकै रुपरंग, लामो घुम्रेको केश, चम्किलो दाँत भएकी । सेरालाई यी बच्ची कार्लोस र इसाबेलकी छोरी हो भनी ठम्याउन गाह्रो भएन । तिम्रो नाम के हो? भनी सोध्दा उनले मेरो नाम सेरा भनिन् । सानी सेराले ठूली सेरा लाई अनायास भनिन्, के तपाइँ सपनाकी परी हौँ ? मेरो मम्मी ड्याडीले सधैँ तपाईँको बारेमा कुरा गर्नुहुन्छ घरमा तपाइसँग मिल्ने तस्विर पनि ठूली सेरालाई लाग्यो कथाको बिट यही मारौँ किनकी आफ्नो उपस्थितिले कस्तो पो परिणति ल्याउने हो फेरि? उनीहरुको जीबनमा फेरि प्रवेश गर्न हुदैन उनीहरुको जीबन खुशी होस् भन्दै उनी छिटो छिटो हिँड्न थालिन् ।

भित्रवाट कार्लोसले छोरी सेरा  तिमी कहाँ छौ? अध्यारो भयो घरभित्र आऊ भनेको सुनियो । छोरी घरभित्र गएर आमाबाबालाई फ्रेममा रहेको सेराको तस्विर देखाउँदै मैले यी परीलाई भेटेँ भन्दै औँलो सोझ्याउन थालिन् । हो ? हैन होला भन्दै बाहिर हेर्न जाँदा कार्लोसले परसम्म पनि कोहि देखेनन् । श्रीमानको साथ छुटेको सेराले केही समय पाएको सहारा तिनै मन पर्ने मान्छेको इच्छा र आबस्यकता पूरा गरि दिन सकेको सन्तुष्टिसहित उनीहरुबाट सदाको लागि टाढा भइन् ।

(घटनाहरु सत्य तर  पात्र र परिवेशहरु कथाकारका परिकल्पना हुन, कसैसँग मिल्न गए  संयोग मात्रै  हुनेछ )

 

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्