ब्राजिलमा कोरोना भाइरसले लियो एक लाख एक हजार भन्दा बढीको ज्यान

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित देशमध्येमा पर्ने ब्राजिलमा कोभिड–१९ का कारण एक लाख एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख एक हजार ४९ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

ब्राजिलमा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार भन्दा धेरै पुगेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ र अझै पनि संक्रमण नियन्त्रणमा आउने संकेत देखिएको छैन ।

ब्राजिलमा पहिलो ५० हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु हुन तीन महिना लागेको थियो । तर थप ५० हजार भन्दा बढी मानिसको मृत्यु मात्रै ५० दिनमा भयो ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहेको छ तर त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले कोरोना भाइरसविरुद्धको अभियानमा अर्थतन्त्रलाई असर गर्ने कुनै पनि उपाय लागु गर्न दिएका छैनन् ।

आफै पनि कोरोना भाइरसबाट संक्रमित भएका उनले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आएका थिए । उनी बिना मास्क पनि समर्थकहरुको भिडमा उपस्थित हुने गरेका छन् ।

सहकार्यको अभावमा ब्राजिलमा कोरोना भाइरसको महामारीले अति खराब अवस्था लिएको भन्दै विज्ञले चिन्ता व्यक्त गर्दै आएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९७ लाख ६९ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये सात लाख २९ हजार भन्दा बढीको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५० लाख ४१ हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख ६२ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा २१ लाख ५३ हजार भन्दा बढी मानिस संक्रमित भएकोमा ४३ हजार तीन सय भन्दा बढीको ज्यान गएको छ ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्