काठमाडौँ – अभिनेत्रीप्रति लक्षित गरेर टेलिभिजन कार्यक्रममा आपत्तिजनक भाषा र त्यस्तै प्रस्तुतिका कारण विवादमा आएका चलचित्र पत्रकार प्रकाश सुवेदीले माफी मागेका छन्।

कार्यक्रम रजतपटमा बोलेको कुराले आलोचनाको केन्द्रमा आएका उनले माफी पनि कार्यक्रम मार्फत नै माग्ने बताएका भए पनि त्यसो नगरी विशेष भिडियो बनाएर माफी मागेका हुन्।

एपी वान टेलिभिजनमा प्रशारण हुने कार्यक्रम रजतपटका सञ्चालक सुवेदीले माफी माग्नका लागि बनाएको तीन मिनेट ४९ सेकेण्डको भिडियोमा आफूले प्रयोग गरेको दारा भन्ने शब्द प्रयोग गर्न नहुने र आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन्।

उनले भनेका छन्, ‘मबाट गल्ती भएकै हो, म माफी माग्छु सय पटकले पुग्दैन भने हजार पटक माफी माग्छु, हजारले पुग्दैन भने लाख पटक माफी माग्छु ।’ तर उनले आफूले सो शब्द कसैप्रति लक्षित गरेर नबोलेको दाबी गरेका छन् ।

सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर ‘महानायिका बनाइदिनु पर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई’ भनेका भन्दै विराेध चर्केकाे थियाे

सुवेदीले माफी मागे पनि आफ्नो भाषा शैलीका लागि चलचित्र क्षेत्र नै दोषी रहेको भन्दै पन्छिने प्रयास गरेका छन् । उनले भनेका छन्, ‘हामी साथीभाइ घर परिवारमा मायाले दारे, पुड्के, मोटेसहितका विभिन्न शब्द प्रयोग गर्छौँ । नेपाली चलचित्रमा पनि ती शब्द धेरै प्रयोग भएका छन् । म चलचित्रबाट प्रभावित भएँ ।’

उनले यस्ता शब्द क्यामरा अगाडि बोल्न नहुने भनेर अरु बेला प्रयोग गर्ने वा गर्न मिल्ने आशयमा माफी मागेका छन् । उनले माफी मागे पनि प्रस्तुतिमा कुनै ग्लानी नदेखिएको भन्दै आलोचना पनि भइरहेको छ । उनले माफी भनेर जारी गरेको भिडियो पनि ‘घमण्ड’ प्रस्तुत गरेको देखिएको भन्दै प्रतिक्रिया आएका छन् ।

नायिका शर्माले उनीविरुद्ध आइतबार कलाकार संघमा उजुरी दिएकी छन् । यस्तै अभिनेत्रीहरु ऋचा शर्मा, केकी अधिकारीसहितले चर्को आलोचना गरेका छन् ।

तर सुवेदीले भने माफी मागेको भिडियोमा आफूले चलचित्र क्षेत्रमा गरेको योगदानलाई भुलेर एउटा शब्दका लागि अनेक प्रतिक्रिया आएको भन्दै गुनासाे पनि व्यक्त गरेका छन् ।

प्रकाशको माफी अति नै हलुका भएको भन्दै पूजा शर्माले यस्ता कुरालाई प्रस्तोताले लिएको जस्तो हलुका रुपमा लिन नहुने उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेर भावी दिनका लागि नजिरसमेत बस्ने गरी कुराको टुंगो लगाउने उनले उल्लेख गरेकी छन् ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्