चलचित्र पत्रकारिताको ‘दाह्रा’

चलचित्र क्षेत्र अहिले रन्किएको छ।

लकडाउन सुरु भएदेखि नै कोरोनाको त्रासलाई भुसुक्कै भुलाउने धेरै थरी काण्डले चलचित्र क्षेत्रलाई तातो बनाइराख्यो।

२०७७ साल साउन २५ गते, आइतबार दिउँसो नायिका पूजा शर्मा रुँदै चलचित्र कलाकार संघमा उजूरी दिन पुगिन्। न्यायको लागि पुगेकी नायिका शर्माको आँसु सञ्चारकर्मीको प्रश्नपछि ह्वात्तै पोख्खियो।

‘मान्छेलाई दुर्व्यवहार गर्नलाई बलात्कार नै गर्नुपर्छ भन्ने छैन,’ नायिका पूजा शर्माले आँखाबाट बगेका आँसुका ढिक्का पुछ्दै भनिन्, ‘मैले तीन महिनादेखि सही रहेको थिएँ, मेरो गल्ती स्वीकार गरेकी थिएँ। उहाँले मलाई फेरि अन्तर्वार्ता लिनका लागि बोलाउनु भएको थियो तर मैले-सक्दिन दाइ भनेकी थिएँ।’

शर्माले अगाडि भनिन्, ‘उहाँको बोलीले, भन्ने शैलीले मेरो परिवारलाई पनि यातना भएको छ । मैले उहाँले बोलाएको अन्तर्वार्तामा ‘जान्न’ भने त्यसपछि नयाँ नयाँ कार्यक्रम एपिसोडमा मलाई नै होच्याएको पाएँ।’

नायिका शर्माको अनुसार यो क्रम विगत तीन महिनादेखि चलिरहेको थियो। उनले बेलाबेलामा यस बारेमा वरपरको ‘सर्कल’ लाई गुनासो गर्ने गरेकी पनि थिइन्। सबैले ‘छोड्देउ’ भनिरहेका थिए। तर अगस्ट ६ मा एपी वान टेलिभिजन मार्फत ‘रजटपट’ कार्यक्रम प्रशारण भएपछि नायिका रुँदै न्याय माग्न पुगिन्, ‘त्यो कार्यक्रम प्रशारण भएपछि उनले अब आफू ‘लड्ने’ नै हो भनेकी छन्।

के भनेका थिए कार्यक्रममा ?

‘विनाश काले विपरित बुद्धि।’

एपी वान च्यानलबाट साप्ताहिक रुपमा प्रशारण हुने कार्यक्रम ‘रजटपट’ सञ्चालक प्रकाश सुवेदी यसको अर्थ प्रष्ट्याउँदै भन्छन्, ‘अर्थात जब विनाश हुने समय आउँछ नि त्यसबेला बुद्धि पनि विपरित हुन थाल्छ। अहिले चलचित्र नगरीमा त्यस्तै भइरहेको छ।’

यति लाइन भनिसकेपछि आफ्नो परिचय दिएका सुवेदी कार्यक्रम सुरु गर्नु अगाडि भूमिका बाँध्दै भन्छन्, ‘कोरोनको कहर बढ्दै छ, खुकुलो भएको लकडाउन अझै कडाइ गर्न थालिएको छ। चलचित्र क्षेत्र खुल्ला कि, अब त चलायमान होला की भन्ने आश लागेको बेलामा परिस्थिति झन् विषम बन्दै गइरहेको छ। यस्तै अवस्था रहे नेपाली चलचित्र क्षेत्रको हरिबिजोग होला जस्तो छ। तथापि केही अपवादमा परेका नायिकाहरुको फूर्ति भने अझै घटेको छैन।’

उनको नायिका लक्षित अभिव्यक्ति अझै अगाडि बढ्छ। उनी बलिउडको उदहारण दिन्छन्, ‘बलिउडमा एउटी नायिका थिइन्। नाम नभनौँ – कुरा अलि अगिकै हो, ती नायिकाको चलचित्र चलुञ्जेल सबैकी प्यारी, सबैकी हाईहाई भइन्। तर जब उनको चलचित्र चल्न छोड्यो, उनको हल्लो हाई गर्ने साथी समेत कोही भएनन्। त्यसपछि उनले आफैले एउटा क्यामरा किनिन्। र घरको गार्डेनमा ट्राइपटड राखेर आफू क्यामरा अगाडि उभिएर आफै एक्सन भन्ने र आफै डायलग भन्ने अनि आफै कट भन्ने । कट भनिसकेपछि बेस्करी हाँस्ने । अनि ग्वाँ ग्वाँ रुने। त्यस्तो अवस्था आयो ती नायिकाको ।’

सुवेदी उदहारण दिइसकेपछि सुझाव दिँदै भन्छन्, ‘त्यसैले म भन्ने गर्छु, विषेशगरी नायिकालाई त्यो पनि हिन्दीमा ‘दो दिनकी चाँदनी, फीर अँधेरी रात।’ अर्थात दुई दिनको चमक धमक फेरि अँधेरी रात। त्यसैले यहाँ कसैले घमण्ड नगरे हुन्छ।’

उनको उदाहरणयुक्त, धम्काईपूर्ण सुझाव पछि नायिकाहरुको करियरको संभावित भविष्यवाणी आउँछ। उनी हात जोडेको शारीरिक हाउभाउ देखाउँदै भन्छन्, ‘कुनै दिन यस्तो अवस्था आउन सक्छ, ‘प्लिज दाई, इन्टरभ्यू राख्दिन पर्‍यो, लिइदिन पर्‍यो’ भनेर। त्यो दिन ती नायिकाको कुरा हाम्रा यी कानले नसुन्न सक्ला। त्यसैपनि पुस्ता परिवर्तनको क्रममा नै छ। टीकटक पुस्ता हाबी भइरहेको अवस्थामा कसैले घमण्ड गर्नै मिल्दैन।’

यति भनि सकेपछि उनी आफ्नो अनुभव सुनाउँछन्, ‘मैले करिश्मा मानन्धरको पुस्ता पनि देखे, रेखा थापा, सञ्चिता लुईँटेल आदिको पुस्ता पनि देखेँ। त्यसपछि ऋचा, नम्रता, केकी, नीताहरुको पुस्ता पनि देखियो। हुँदा हुँदा स्वस्तिमा, आँचल, वर्षा र साम्राज्ञीहरुको अन्तर्वार्ता पनि लिँदै हिँड्नु परेको छ यतिखेर। चार पुस्ता देखेको छु, ठीकै छ, पाँचौँ पुस्ताको अन्तर्वार्ता पनि मेरै खप्परमा लेखेको छ कि हैन त!’

यसपछि उनी खिस्स हाँस्दै नायिकाको नाम नलिई भन्छन्, ‘जे होस्, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले पनि लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई मिलाई। महानायिका बनाइदिनु पर्ने दारा निश्केको अनुहारलाई। कति हाँस्नु !’

समाजिक सञ्जालमा विरोध

सुवेदीको यो टिप्पणी पछि सामाजिक सञ्जाल अहिले तातेको छ। धेरै कलाकारहरुले सुवेदीको यो अभिव्यक्तिलाई ‘दम्भ’ भनेर व्याख्या गरेका छन्। चलचित्र पत्रकारितामा पाँचौँ पुस्ताको अन्तर्वार्ता लिने अपेक्षा बोकेका सुवेदीलाई आफ्नो पद र स्थानको ‘ध्वास’ देखाएको बताइरहेका छन्।

अभिनेत्री ऋिचा शर्मा लेख्छिन्, ‘एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु। जब(जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ।’

शर्मा अगाडि भन्छिन्, ‘जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यस पछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ।’

शर्माले रााष्ट्रिय च्यानल भनेर प्रशारण गर्नेहरुले समिक्षा गर्ने अवसर पाएको बताएकी छन्। अन्त्यमा उनले लेखेकी छन्, ‘ मैले बुझेको रजतपटको अर्थ-चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुँदै गएको छ, सायद धुने बेला आएको छ, शायद फेर्ने बेला आएको छ ।’

यस्तै नायिका केकी अधिकारीले भनेकी छन्, ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ।’ यस्तै नायिकाले ह्यासट्याग राख्दै भनेकी छन्, ‘अति गरे क्षति हुन्छ।’

सामाजिक सञ्जालमा पत्रकारितामाथि प्रश्न उठिरहेको बोलमा कान्तिपुर पब्लिकेशनका पत्रकार गोकर्ण गौतमले लेखेका छन्, ‘पत्रकारिता न दम्भ हो, न कसैको अपमान । ‘महानायिका बनाईदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई‍‍…’ यो वाक्यांसले लज्जाबोध भएको छ, एउटा पत्रकारकारुपमा । ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले एक हिरोइनलाई निशाना साँधेर बोलेक अन्य शब्दहरु पनि उत्तिकै आपत्तिजनक छन् । प्रस्तुति शैलीमा दम्भ र अपमान अनुभुत हुन्छ ।’

उनले मिडियाले तथ्यगत आलोचना गर्न पाउँने तर यो अव्यवसायिक गाली हो, ‘बडि सेमिङ हो।’ स्त्रीद्वेषी मानसिकता हो।’

गौतमको यो अभिव्यक्तिलाई धेरै कलाकारहरुले शेयर गरेका छन्।

अभिव्यक्ति ‘को’ प्रति लक्षित थियो ?

उनको कार्यक्रम सार्वजनिक हुने बित्तिकै नायिका पूजा शर्माले फेसबुकमा आफ्नो भावना पोखिन्,

‘कति चुप रहने ? कति सहने ?

प्राइम टिभीमा अन्तर्वार्तामा बोलाइयो गएँ, सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो ।?

अन्तवार्ता चल्दा चल्दै मैले पत्रकार प्रकाश सुवेदीजीलाई मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस्, भने मान्नु भएन

त्यो चिज प्रसारण भयो, भाइरल भयो मेरो थुप्रै ट्रोलहरु बने, आफ्नै गल्ती हो भनेर चुपचाप बसे,

पछि जब प्रकाशजी एपी वान जानु भो मलाइ पुन ‘अन्तर्वार्ता’ मा आउ पुजाु भनेर भन्नु भो।’म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ?

म त्रसित पनि थिए, त्रुयरुसैले मैले सरी दाई म आउन सक्दिन भनेँ,

तर त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर दारा निस्केको, महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसर छोड्नु भएन,

के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?’


यसपछि यो मुद्दा चलचित्र कलाकार संघसम्म पुग्यो। नायिका शर्माले यो उजुरी चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनका साथै प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताएकी छन्।

के भन्छन् सुवेदी ?

यी सबै घटनाक्रम विकास भईसकेपछि प्रकाश सुवेदीले ‘ए पी वान टेलिभिजनको पर्दामा बसेर ‘आफूले नायिकालाई प्रयोग गरेको ‘दारा’ शब्द गलत भएको भन्दै माफि मागेका छन्। उनले यो क्षेत्र आफ्नो परिवार भएको र कलाकार भएर नै आफू यहाँ भएको भन्दै ‘क्यामरा बाहिर प्रयोग गरिने शब्द’ लाई भुलबश प्रयोग भएको बताएका छन्।

देश सञ्चारसँगको टेलिफोन कुराकानीमा सुवेदीले भने, ‘जो नायिका अहिले बोलिरहेकी छन्, त्यो नायिकालाई भनेकै होइन। उहाँको दारा पनि छैन।’ उनले आफूले दिएको

हिन्दी श्लोक यस्तो हुन सक्छ हामी लामो समय टिक्ने बाटोमा लाग्नुपर्छ भनेको बताए।’

उनले भन्दा ‘यो चेतना दिन खोजिएको हो ?’

सुवेदीले आफूबाट गल्ति भएको स्वीकार गर्दै भने, ‘त्यसलाई काट्न सकिन्थ्यो, हामी चिप्लियौँ।’

उनले नायिका पूजा शर्माप्रति आफ्नो अभिव्यति नरहेको बताउँदै भने, ‘आगामी कार्यक्रममा म कसलाई भनेको हो, खुलाउछु।’

सुवेदी आफूलाई चलचित्र पत्रकारितामा ३०-३२ वर्षको अनुभव भएको भन्छन्।

कार्यक्रममा आएका पाहुनाले ‘मैले बोलेको यो कुराले मलाई समस्या पर्न सक्छ, काटिदिनुस् भन्न नहुने हो ?’ भन्ने प्रश्नमा सुवेदी भन्छन्, ‘मैले हरेक पल्ट अन्तर्वार्ता लिएपछि सोध्ने गर्छु ‘केही काट्नु पर्ने छ ?’ भनेर। भन्नुभएको जतिको काट्ने गरेको छु। जो नायिकाले अहिले मान हानी भएको भन्नु भएको छ, उहाँले मलाई अन्तर्वार्ता काट्न भन्नु भएको नै छैन।’

‘एक त म नायिकाहरुसँग जिस्कने गर्छु, सम्बन्ध अलि नजिकको छ। मैले शायद त्यही व्यवहार सोचेँ होला।’ सुवेदी भन्छन्, ‘जे मैले बोले त्यो बोल्न हुने थिएन, तर जिब्रो चिप्लियो।’ पूजाले एपीवानमा बोलाइएको होला तर यही नै कारणले पछाडि लागेको होइन भन्छन् सुवेदी।

पूजा र प्रकाशको नोकझोक

प्रकाशले आफूले प्रतिकात्मक रुपमा भनेको व्यक्ति ‘पूजा शर्मा नरहेको’ दाबी गरे, तर शर्मा उजूरी दिन पुगिन्।

पूजालाई असन्तुष्टि प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदा देखिको छ। ‘रजटपट’ कार्यक्रममा अन्तर्वार्ताका लागि पुगेकी पूजा शर्मालाई प्रकाशले नेपालमा कति जिल्ला र अञ्चल छ भनेर प्रश्न गर्छन्, यो प्रश्नको जवाफ गलत दिएपछि नायिका शर्माको ट्रोल भईरहेको थियो।

सुवेदीका अनुसार यो कार्यक्रम लकडाउन अगाडि प्रशारण भएको थियो, लकडाउनको समयमा शर्मा आफैले सुवेदीलाई आफू ट्रोल भएको जानकारी गराएर उक्त कार्यक्रम हटाउन अनुरोध गरेकी थिइन्।

प्राइम टाइम टेलिभिजनको यूट्युब च्यानलमा अहिले त्यो कार्यक्रम भेटिँदैन। सुवेदीका अनुसार यो कुरा नायिका शर्माले सक्काइनन्, ‘आफू अन्तअन्त बोल्दै हिँड्नु भयो, आफै कमजोरी गर्ने अनि हाम्रो विरुद्धमा बोल्ने नि आफू सतिसावित्री बन्दै हिँडेपछि, हामीले महारानी बनाइदिनुपर्ने त होइन नि!’

त्यसपछि अहिले यो विषय कलाकार संघसम्म पुगेको छ। तर सुवेदी र पूजा बिच बारम्बार सम्पर्क भईरहेको थियो ।

‘रजटपट’ कार्यक्रम नै विवादको केन्द्र

हाल एपी वान टेलिभिजनबाट प्रशारण भईरहेको कार्यक्रम ‘रजटपट’ भर्खरैको कार्यक्रम होइन। कार्यक्रम सञ्चालक प्रकाश सुवेदी अहिले भर्खरैका कार्यक्रम प्रस्तोता होइनन्। कार्यक्रमको ब्राण्ड उनी जहाँ गयो त्यही पुगेको छ।

नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, प्राइम टाइम टेलिभिजन हुँदै भर्खरै एपी वान टेलिभिजनमा तेस्रो एपिसोडसम्म पुगेको छ।।

यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा सञ्चालन भएको समयमा पनि यस्तै विवादमा परेको थियो। त्यसको केही समयपछि सुवेदीले कार्यक्रम बन्द गरेर टेलिचलचित्र निर्माण, निर्देशनतर्फ लागेका थिए।

प्राइम टाइम टेलिभिजन मार्फत उनी पुन कार्यक्रम सञ्चालन गर्न आइपुगे, नायिका पूजा शर्मा, निर्देशन दिपाश्री निरौलाको अन्तर्वार्ता आलोचनाको चूलिमा पुग्यो।

एपीवान भन्छ, ‘त्रुटी भएकै हो।’

एपी वान टेलिभिजनका कार्यक्रम सञ्चालक निर्देशक सुरेश पौडेलले च्यानलबाट प्रशारण हुने केही कार्यक्रमहरु विश्वासको आधारमा पनि प्रशारण गर्ने गरिएको बताए। देशसञ्चारसँग पौडेलले भने, ‘एपिसोड २ हेरेका थियौँ, ३ हेरिएन, हामीबाट त्रुटी भएकै हो।’

सुवेदीले गल्ती महशुस गरेकै हुन् त ?

आइतबार साँझ सुवेदीले माफी मागेका छन्। साथै उनले आफ्नो भाषा शैलीका लागि चलचित्र क्षेत्र नै दोषी रहेको भन्दै पन्छिने प्रयास गरेका छन्।

उनले लिएका पछिल्ला केही अन्तवार्ताले नायिकाहरुको सामान्य ज्ञान र दम्भको बारेमा चर्चा भइरहेको अवस्थामा उनी आफैले नायिकाहरुलाई गरिने छुद्र व्यवहार प्रस्तुत गरे। नायिकाको आयु निर्धारण गरे, उनीहरुलाई फूर्ति नलगाउन भने।

यसपछि शारीरिक वनावटको आधारमा ‘नायिकालाई महानायिका बनाइदिनुपर्ने’ भन्दै इङ्गित गरेपछि उनको चौतर्फी विरोध भएको थियो। उनले माफि त मागे तर यसलाई ‘औपचारिकता पूरा गरिएको’ भनेर व्याख्या गरिएको छ।

दीपाश्री निरौला मिसिएको ‘महानायक’ विवाद पछि चलचित्रकर्मी दिपकराज गिरीले माफि माग्दा उनले दम्भ देखाएको बताइएको थियो। अहिले सुवेदीले मागेको माफीका शब्दहरुमा कुनै ग्लानि नभएको टिप्पणी आइरहेको छ।

उनले ‘दारा भएको नायिका’ शब्दलाई केन्द्रमा राखेर कुरा गरिरहेका छन् तर यी ‘दो दिनकी चाँदनी, फिर अँधेरी रात’ जस्ता हिरोइनका आयु निर्धारण गर्ने प्रवित्तिको वकालत गरेकोमा कुनै अफशोच व्यक्त गरका छैनन्।

उनी पत्रकार भएर व्यक्तिगत रुपमा प्रस्तुत भएका छन्।

हुन त माफी माग्नु र दिनु ठूलो सबैभन्दा ठूलो कुरा मानिन्छ। तर सुवेदीको माफी मगाइले समग्र नायिकाहरुलाई होच्याइएको अवस्था पूर्ति होला त ?

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्