बाजुराको बुढीगंगा नदीमा बाढीः एकजना बेपत्ता, दर्जन बढी घर र झोलुङ्गे पुल बगायो

धनगढी – लगातारको वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराका तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ।

बुढीगंगा नदीमा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । यस्तै बाढीले एक दर्जन बढी घर र झोलुङ्गे पुल बगाएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

उनले अहिले पनि पानी परिरहेकाले क्षतिको यकिन विवरण भने आइनसकेको बताए । खासगरी बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका दुईका वडा अध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी गैरे बताए ।

उनले बाढीले जिल्लाका घागर, भौनेरा, राप्का लगायतका क्षेत्रमा दर्जन बढी घर बगाएको प्रारम्भीक जानकारी प्राप्त भए पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

घर भित्र रहेका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको बताउँदै प्रमुख जिल्ला अधिकारी गैरेले उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भइसकेको बताए ।

बाढीले साफेँ मार्तडी सडक अन्तर्गत बुढिगंगा नदीमाथि बनाएको बेलिबिज्र समेत बगाएको छ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्