प्रगन्ना कुलो सिँचाई आयोजना अन्तरगत तीन नम्बर ईन्टेकमा तीनबन्ध गर्न काठ, पात बोकेर नदी पुगेका किसान । तस्बिर: दशरथ घिमिरे

दाङ– प्रगन्ना कुलो सिँचाई आयोजना सुरु हुने खबरले राप्ती गाउँपालिका वडा नं. ८ पिपरा निवासी लवरु चौधरी खुशी थिए । कुलो खन्ने र बाँध बाध्ने काम अब सकिन्छ भन्ने लागेको थियो ।

तर, प्रगन्ना कुलो सिंचाई आयोजना सुरु भएपनि लवरुको दुःख भने कम भएन । हरेक वर्ष कुलो खन्ने, सफा गर्ने, राप्ती नदीमा झाला लगाएर बाँध बाध्ने काम चलिरह्यो ।

‘प्रगन्नाको ईन्टेकले काम गर्दैैन् । राप्ती नदीमा पानी डोर्‍याएर इन्टेकमा छिराउनुपर्छ’ उनले भने– ‘बावु, बाजेले जे गरे । हामीले पनि त्यही गर्नुपर्‍यो । छोरा नातीको पालामा पनि उही बाँध बाध्ने, कुलो सोर्ने काम चलिरहन्छ ।’

प्रगन्ना कुलो सिँचाई आयोजना अन्तर तीन ओटा साइड ईन्टेक बनेका छन् । यी ईन्टेक मार्फत राप्तीको पानी किसानको खेतवारीसम्म पुग्ने गर्छ । तर, राप्ती नदीमा प्रगन्नाको ईन्टेक बनाउने बेलामै असफल ईन्टेक बनेका कारण आफुहरुले दुःख भोग्नु परिरहेको भानपुर मझमेरीया प्रगन्ना मुमल समितिका संयोजक कालिप्रसाद चौधरीले बताए ।

‘तीन नम्बर ईन्टेकमा २०६२ सालबाट पानी सुरु भयो । पानी सुरु भएकै वर्ष राप्तीको गिट्टी, बालुवा सबै कुलोमा थुप्रीन थाल्यो’ उनले भने– ‘कुलो बुझीएर सफा गर्नै मुस्किल पर्छ । अनी राप्ती नदीको पानी हाम्रो ईन्टेकमा ल्याउन माथीबाटै कच्चि बाँध बनाउँदै पानी डोर्‍याएर ल्याउनुपर्छ ।’

वर्षाको पानीले सिँचाई सुविधा केही सहज भएपनि हिउँदमा भने यो ईन्टेकको पानीमा आश्रीत किसानलाई सिँचाई समस्या हुने गरेको छ । ‘वर्षामा धानलाई पानी पुग्छ । तर, हिउँदमा कुलोमा पानी हुदैन । गहुँ, मकै छर्न गाह्रो पर्छ’ उनले भने– ‘राप्ती नदीमा साईड ईन्टेक मात्रै बन्यो । पक्कि बाँध सहितको व्यारेज बनाउनुपर्ने हो ।’

मझमेरीया ईन्टेकको पानीले एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको छ । ईन्टेक असफल हुदा वर्षेनी किसानले सिँचाइको समस्या भोग्नु परेको बरुवागाउँका भैरव चौधरीले बताए । ‘धेरै मन्त्री, हाकिमहरुले यो समस्या हेर्नु भएको छ र थाहा पाउनु भएको छ । तर, काम भने हामीले चाहेजस्तो गतीमा हुन सकेको छैन् ।’

प्रगन्ना कुलो सिंचाई आयोजना अन्तर्गत तीन ओटा साइड ईन्टेक छन् । यी ईन्टेक अहिले जीर्ण र पुरानो हुन थालेका छन् । राप्ती नदीमा गरिएको नदीजन्य वस्तुको उत्खनन्को असरले पनि यी ईन्टेकमा पानी घटेको छ । समस्याको रुपमा तीन नम्बर ईन्टेक र एक नम्बर ईन्टेक हेरिन्थ्यो । तर, अब दुई नम्बर ईन्टेक पनि समस्यामा परेको छ ।

पक्कि ड्याम र व्यारेज आवश्यक

प्रगन्ना कुलो सिँचाई आयोजनामा देखिएको पानीको समस्या समाधान गर्न राप्ती नदीमा पक्कि ड्याम र व्यारेज आवश्यक पर्ने प्रगन्ना तथा वड्कापथ सिँचाई व्यवस्थापन कार्यालय लमहीका ईञ्जिनियर गोविन्द निरौलाले बताए ।

‘प्रदेश र संघिय मन्त्री ज्यूहरुले ईन्टेकहरुको अवलोकन गर्दा हामीले पनि भन्यौं साईड ईन्टेकमा पानी पुर्‍याउन नदीमा ड्यामसहितको व्यारेज आवश्यकता पर्छ’उनले भने– ‘ड्याम र व्यारेज बनाउन लागत कस्ट बढी आउँछ ।’ प्रगन्ना कुलो सिँचाई आयोजना बनाउने बेलामा नदीको किनारमा मात्रै संरचना बनाइएको थियो । ड्याम र व्यारेज नबनाइदा अहिले कुलोमा पानी घट्दै गएको छ ।

समस्या धेरै, बजेट थोरै

प्रगन्ना कुलो सिँचाई आयोजनाका धेरै ठाउँमा संरचना मर्मत गर्नुपर्ने छ । तर, ती संरचना मर्मत गर्न प्राप्त भएको बजेट भने थोरै रहेको छ ।

प्रदेश नं. ५ भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा प्रगन्ना कुलो सिँचाई आयोजनाको संरचना मर्मतको लागी तीन करोड बजेट विनियोजन गरेको छ ।

यस्तै वसन्तपुर प्रणालीको लागी एक करोड ९० लाख बजेट प्रदेश बाट तोकेर आएको ईञ्जिनियर गोविन्द निरौलाले जानकारी दिए ।

नाराणपुर प्रणालीको लागी साढे तीन करोड बजेट

प्रगन्ना कुलो सिँचाई आयोजना अन्तर्गत भएपनि नारायणपुर प्रणालीमा पानी अझैं चलेको छैन् । बन्दा बन्दै बिग्रिएको यो प्रणालीका किसानलाई सिँचाईको सुविधा पुर्‍याउन प्रदेश ५ सरकारले बजेटको व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको लागी साढे तीन करोड बजेट बिनियोजन भएको छ । गत वर्ष कार्यालयले नारायणपुर प्रणालीको डिटेल सर्भे गरेको थियो । १५ करोड बढीको लागत लाग्ने स्टिमेट तयार भएको थियो ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्