महासागरको छाल, घैलाघारीको ताल र जगतपुरको सिमल

त्यो रात ऊ सुत्न सकेन । ननिदाउन पर्ने कारण थिएन तर पनि ऊ निदाउन सकेन । त्यो दिन उसले पहिलो पटक अमेरिकाको भ्रमण गरेको थियो । सपनामा पनि नसोचेको मियामी र डेटोनाको समुन्द्री किनार देखेको थियो । दुनियाको लागि सपनाको देश ठहरिएको अमेरिका पहिलोपटक घुमेको थियो । एटलान्टिक महासागरको दुइ प्रसिद्ध विच मियामी र डेटोनामा मस्ती मारेको फोटाहरु फेसबुकमा लाइभ पनि गरेको थियो । अमेरिका घुमे भनेर दुनियालाई देखाएको पनि थियो । तैपनि त्यहि साझ ऊ बेचैन भयो । ऊ उठ्यो र घडी हेर्‍यो। घडीले रातको एघार बजाएको थियो । दिदीको घरमा सुतेको ऊ कसैलाई दुःख दिन चाहदैनथ्यो । तसर्थ, कसैलाई नभनी घरबाट बाहिर निस्कियो र एटलान्टिक महासागरको छालहरूको बारेमा सोच्न थाल्यो ।

एककोणबाट हेर्दा, समुन्द्रको छाल उसलाई एक छुट्टै पहिचान भएको, एक अन्त र एक शुरुआत भएको, एक जन्म र एक मृत्यु भएको जस्तो लाग्यो । तर फेरी अर्को कोणबाट हेर्दा, छालको आफ्नै अवस्थिति नभएको र पानीको व्यवहारबाट उत्पन्न पानीकै एक अंग मात्र हो जसको छुटै अस्तित्व वा पहिचान छैन भन्ने लाग्यो । ऊ छालमा गहिरिन थाल्यो । हावा र पानीको अस्थायी करामत हो छाल र यो निरन्तर परिवर्तनशील परिस्थितिहरूमा निर्भर गर्दछ । हरेक छाल प्रत्येक अर्को छालसँग सम्बन्धित छ ।

एक दिनभरी देखेको एटलान्टिक महासागरमा छालहरूमा मग्न हुन थाल्छ । छालहरू उठ्छन्, सुस्ताउँछन, चट्टानमा बर्सिन्छन् र फेरी फर्किन्छन् । छालहरू कहाँबाट आउँछन्? सागरबाट । तिनीहरू कहाँ जान्छन्? सागरमा। भावनाहरू आउँछन् जान्छन्, र अन्ततः गहिराइमा गएर हेर्दा हाम्रो भावना पनि महासागरका छाल जस्तै हुँदारहेछन् । छालहरू महासागरको प्रकृति हुन् यद्यपि सागर छालबाट व्याकुल हुँदैन । त्यसरी नै विचार र भावनाहरू मनका अभिव्यक्ति हुन । तिनीहरू दिमागबाट उठ्छन्, र दिमागमा नै विघटन हुन्छन तर मान्छे भावनाले तड्पिन्छ । मान्छेले अलिकति समय दिएर धैर्यवान भयो भने सागरका छालझैँ उसका संवेगहरु मनकै प्रकृतिमा बस्थे । सागरको तेज तरङ्गको क्रोध सम्झन्छ र जतिनै तेजवान भएपनि सागरमा मिल्नुपर्ने छालको नियति बुझ्दछ । “ओहो ! जीवनका हाम्रा संवेगहरु संसारको अनन्त महासागरमा यसरि नै मिल्छन है,“ऊ लामो सुस्केरा फाल्छ ।

अल्फ्रेड लर्ड टेनिसनको ’ब्रेक, ब्रेक, ब्रेक कविताले उसलाई तान्छ । साथीको मृत्युमा आवाज बिहिन बनेका कबि टेनिसनले समुन्द्रलाई चिसा, खैरा पत्थरमा टुक्रिन अनुरोध गर्छन् ताकि उनको जिब्रोले उनको मनमा उठेका बिचारहरु उच्चारण गर्न सकुन् । उनले सागरको माध्यमबाट हराएको हातको स्पर्श, गुमेको साथ र साथीको ध्वनि सुन्ने चेष्टा गर्छन् । टेनिसनले सागरमा खोजेको साहारा उसले घैलाघारी तालमा खोज्न थाल्छ । जीवनको शैशबकाल घैलाघारी तालमा पौडी खेलेर बितेका सम्झनाका पलहरु गाढा भएर उसको मानसपटलमा ठोक्किन आइपुग्छन् ।

ऊ सम्झन्छ एकदिन गाईबस्तु चराएर फर्कदै गर्दा भैसी घैलाघारी तालमा आहाल खेल्न पस्यो । सानो ठाउँबाट पानी बाहिरिने यो ताल भैसीहरु आहाल खेल्दाखेल्दा फोहोर भएको थियो । ताललाई देखाउँदै उसको बुवाले भन्नुभएको थियो, “ताल जस्तो जमेर कहिल्यै नबस्नु तर मनलाई ताल जस्तै स्थिर राख्नु । जीवनको दौरानमा विचाररुपी भैसीहरु आउँछन, जान्छन । त्यसमाथि साक्षीभाव राख्नु । भैसी समस्या होइन, त्यसलाई हेर्ने नजर समस्या हुनसक्छ । भैसी आहाल बसेपछि हत्तपत्त उठ्न नमान्ने बानि तर्फ इंगित गर्दै बाबाले भुन्नुभएको थियो, ‘कतिपय मानविय प्रवृतिहरु भैसीजस्तै उठ्न नमान्ने हुन्छन्, त्यसलाई अभ्यासको माध्यमबाट उठाएर हिँडाउनु पर्छ।’
घैलाघारी तालमा ‘ढुंगा तार्ने’ पल सम्झदाऊ झन् बढी भावुक हुन्छ । कसले कति टाढा ढुंगा तार्न सक्छ भन्ने प्रति स्पर्धा चल्थ्यो । त्यो क्षणिक हुन्थ्यो । सोच्छ, क्षणिक हुन्थ्यो र त रमाइलो हुन्थ्यो । तर जीवन पनि क्षणिक हो भन्ने जान्दा जान्दै मान्छे किन रमाउन सक्दैन? ऊ निरुत्तर हुन्छ किनकि ऊ आफै रमाउन सकेको छैन । जीवनलाई प्रतिस्पर्धा मात्र सम्झन थाल्यो भने जीवनको मज्जा गुम्छ हो?

उसका विचारहरु तिब्र गतिमा बहदै थिएँ । ढुंगा तार्ने खेलले तालमा उत्पन्न तरङ्गहरुबारे गहिरिन्छ । जीवन पनि त आखिर त्यहि खेल त रहेछ । चाहेर वा नचाहेर मान्छे संसारको प्रति स्पर्धामा तानिन्छ । चाहेर वा नचाहेर जीवन नामक खेलमा सहभागी हुनुपर्छ । जीवन तरङ्गसँग कोहि बैरागिएर भाग्छन, कोहि दैवीशक्तिलाई पुकार्छन् र कोहि त्यसै सँग बहन्छन् । अस्तित्वमा धेरै बाटाहरु छन र मान्छे आफ्नो स्वभावअनुसारको बाटो समात्छ ।
ऊ अल्बर्ट कामुको ‘दि मिथ अफ सिसिफस’ र ‘दि रिबेल’ भन्ने पुस्तकका कुराहरु सम्झन्छ । ब्रह्माण्डलाई नै विसङ्गत र निरर्थक देख्ने अल्बर्ट कामुले मान्छेसित तीनवटा बाटा भएको जिकिर गर्छन् आत्महत्या, दैवी शक्तिमा विश्वास र विसङ्गतिको स्विकारोक्ति । पहिलो विकल्प वा आत्माहत्याको बाटोलाई ऊनी कायरताको रुपमा हेर्छन भने दोस्रो मनोवैज्ञानिक ढाँट । यस अर्थमा जीवन देखि बैरागिएर हिँड्नु आत्महत्या हो भने दैवीशक्तिलाई पुकार्नु मनोवैज्ञानिक ढाँट ।

उसका विचारहरु तिब्र गतिमा बहदै थिएँ । ढुंगा तार्ने खेलले तालमा उत्पन्न तरङ्गहरुबारे गहिरिन्छ । जीवन पनि त आखिर त्यहि खेल त रहेछ । चाहेर वा नचाहेर मान्छे संसारको प्रति स्पर्धामा तानिन्छ । चाहेर वा नचाहेर जीवन नामक खेलमा सहभागी हुनुपर्छ । जीवन तरङ्गसँग कोहि बैरागिएर भाग्छन, कोहि दैवीशक्तिलाई पुकार्छन् र कोहि त्यसै सँग बहन्छन् ।

कामुको दोस्रो विकल्पसंग सहमत हुँदाहुदै पनि सन्तुष्ट हुदैन ऊ । एक्लोपनले थलिदा होस वा निस्सार जीवनमा सार खोज्दै हिँड्दा वास्तविक भनिने मान्छेले गर्ने दुरदुर भन्दा काल्पनिक दैवले कम्तिमा मनोवैज्ञानिक टेको दिएको अनुभव गरेको छ उसले । ऊ दैवलाई आकारमा खोज्दैन । दैव उसको लागि मानिसमा नै निहित त्यो कल्पना शक्ति बन्छ जसबाट उसले निस्सार जीवनमा सार भेट्ने प्रयास गरिरहन्छ । ऊ भन्छ, ‘दैव मान्छेमा निहित पोटेन्सियल एनर्जी हो र कल्पनाको डाइनामोले यसलाई काइनेटिक एनर्जीमा बदलेर जीवनको सार खोज्न प्रेरित गरेको हुन्छ ।’ हजारौँ वर्ष अगाडी धर्मग्रन्थमा उल्लेखित दैब वा भगवानमा उसलाई कुनै चासो छैन । तर ग्रन्थले संकेत गर्न खोजेको कुराको अर्थ खोज्छ । कृष्णलाई भगवान भनेर पुज्दैन तर कृष्णको मनोबैज्ञानिक र दार्शनिक पाटो पान गर्न छोड्दैन ।

तर उसलाई थाहा छ कि कामुले विकल्पको कुरा गरेका हुन । उनलाई मन परेको तेस्रो विकल्प हो विसङ्गतिको स्विकारोक्ति । संसारमा बिद्यमान विसङ्गतिलाई स्विकारेर जीवनको सङ्गति खोज्नु ऊनको अब्सर्ड दर्शन हो । संसारको क्रियाकलापबाट तरंगित घैलाघारी ताल अन्तत स्थिरता र शान्तिमा फर्केको उसले देखेको हो र यसैबाट सिकेको हो जीवनमा आउने विसङ्गत तरङ्गसंगै हिँड्दैगर्दा शान्तिको बाटोपनि खोज्दै हिँड्ने । कम्तिमा निरर्थक संसारमा आफ्नो जीवनको सार्थकता खोज्ने ।

उसको जीवनमा कल्पनाका कथा धेरै छन । उसले आफ्नो बाल्यकाल र जवानीका कल्पना सम्झियो । अझ बढी त ठुलो सिमलको रुख सम्झियो र त्यस रुखको छहारीमा खेल्दाको कल्पना सम्झियो । उसलाई ठुलो सिमलको रुखमुनि छहारी बसेको र गुच्चा खेलेको स्मरण भयो । एक्कासि हरिले भनेको सम्झिन्छ, “तिमीहरु राजा भयौ भने के गर्छौ?’ सोमले भनेको थियो, “म दुई गोजी गुच्चा किन्छु“ र रामेले भनेको थियो,“ म सधै केरा खान्छु “ । काल्पनिक यस्ता रमाइला क्षण उसका जीवनमा धेरै छन । उसले बुझेको छ जीवनको निस्सारता बाट भाग्न सकिन्न । देब्रे ब्रेनमा निस्सारता बोक्दै गर्दा मान्छेले दाइने ब्रेनमा सृजनात्मकता बोक्ने प्रयास गर्नुपर्छ । यो सृजनात्मकताको बाटो कल्पनाको बाटो हो । अस्थाई नै सहि कल्पनाले मान्छेलाई एकप्रकारको मनोबैज्ञानिक टेको प्रदान गर्छ ।

उसले किताब किन्न नपाएको आफ्नो व्यथा सम्झन्छ, “एकदिन दालभात खाएर विस्तारामा पल्टिँदा एकाएक कल्पनाको सागरमा उडेछु, भोलि क्याम्पस जाँदा पाँच हजार जति भेटिए हुन्थ्यो र यसैबाट किताब किन्न पाँए हुन्थ्यो । कल्पना गर्दा गर्दै निदाएँछु । भोलिपल्ट क्याम्पसमा एउटा साथीसँग सापटी मागेर पाँच रुपैयाँको चिया खाएँ । अहिले आएर आफैँलाई सोध्छु, कल्पना नै गर्दा ५० हजार ५० लाख वा ५० करोड नै किन नगरेको हुँला? धेरै रकम कल्पना गर्न नसक्ने मेरो बुद्धिमता थियो वा मूर्खता? वा यो मेरो धरातलीय यथार्थ?“ आजपनि उसलाई एउटा प्रश्न मनमा आइनै रहन्छ, “के कल्पना बर्गीय हुन्छ, हो?“ संस्कृतमा प्रश्नले पहेलीको अर्थ बोकेजस्तै यो उसको जीवनमा पहेली बनेर बसेको छ ।

ऊ सिमलको स्मृतिमा मजाले डुब्छ, “राताम्मे फुलेको सिमलको फूलले जीवनको जवानी सम्झाउँछ । शायद जवानीमा फुल्न र फल्न सके आगतका समयहरु सार्थक हुन्छन । मेरो जवानी फुल्न र फल्न सकेन । देशको परिस्थिति बेग्लै थियो । ‘जिन्दावाद’ र ‘मुर्दावाद’ एउटा आवस्यकता र बाध्यता थियो । देशले काँचुली फेर्दाको समयमा राताम्य जवानी फालेको एउटा सिंगो पुस्ता अहिले बिदेशमा छ । यो हराएको पिढी भएकोछ ।’
सिमलको कोशा फुटेर निस्केको सुन्दर र सेतो भुवा आँखा अगाडी हावामा तैरिएको तस्विर उसको मनभरी नाचीरहन्छ । मन अघाएजस्तो हुन्छ जब ऊ सोच्छ, ‘भुवा जस्तै एकदिन हावाको झोक्काले मलाई विदेश धकीलदियो। हावामा गतिहीन र दिशाविहीन भएको भुवालाई लाग्दो होम कुनैदिन राताम्य फुल्ने फूल थिए ।’

ऊ सिमलमा ध्यानस्त हुन्छ । उसले सिमलको कुनै स्वतन्त्र अस्तित्व देख्दैन । जगतपुरको सिमल उसको लागि ब्रह्माण्डभरि फैलिएको सम्बन्धहरूको अत्यन्त सूक्ष्मअंग प्रतित हुन्छ । वर्षातको पानी यसको पातहरूमा झर्छ, हावाले यसलाई हल्लाउँछ, माटोले यसलाई पोषण दिन्छ र यसलाई धान्छ । ब्रह्माण्डका सबै बस्तुहरु जस्तै चन्द्रमा र ताराको प्रकाश र सूर्यको किरण सबै सिमलका अंश हुन । यो कुनै पनि क्षणमा कुनैपनि चीजबाट अलग छैन र प्रत्येक क्षणमा यसको प्रकृति सूक्ष्मरूपमा परिवर्तन हुँदै जान्छ । उसले सोच्छ शायद बुद्धको शुन्यताको कुरा यहि हो अर्थात् जब हामी अस्तित्वको वा जीवनको शुन्यताको कुरा गर्छौ, त्यो भनेको कुनैपनि बस्तुको स्वतन्त्र अस्तित्व हुँदैन भनेको हो ।

एक सोच्छ, ‘उदासिनताले गहिराई दिन्छ । खुशीले उचाई दिन्छ । सिमलका जरा उदासीनताका र यसका फल र फूल खुसीका प्रतिक हुन । जीवनको खुशी आकाशमा फैलिएको सिमल जस्तै हो, र दुःख पृथ्वीको गर्भमा रहेको यसका जरा जस्तै । दुबै आवश्यक छ जीवनमा । तर किन मान्छे फलमामात्र खुसि हुन्छ र फूलमामात्र खुसि खोज्छ? सिमल जति उच्च हुदै जान्छ, त्यति नै गहिराईमा जान्छ । गहिराईमा जान नसकेको दिन वा आफ्नो जरा भुलेको दिन सिमलको मृत्यु हुन्छ ।’ ऊ एक्कासी चिच्चाउँछ, ‘त्यहि सिमलको जरा मेरो जरा हो ।’ रातको दुई बजेकोछ । ऊ दिदिको घरबाहिर बसेर जिन्दगी गुन्दैछ र यसलाई गम्दैछ ।

हो, ऊ दिदिको घरबाहिर बसेर जिन्दगी गुन्दैछ र यसलाई गम्दैछ । एकपटक बाबासँग भैसी चराउन जाँदाको कुरा सम्झन्छ । त्यो दिन र त्यो समय बाउछोरा त्यहि ठुलो सिमलको रुखमुनि बसिरहेका थिए । ठुलो हावाहुरीसहित पानी दर्किन थाल्यो । दश, पन्ध्र मिनेटमा एकतहरो पानी पर्यो । त्यहिबेला उसले भनेको थियो, ‘ठुलो रुखमा ओत लाग्दा बरु रुझिदैनरै’छ ?’ मुसुक्क हाँस्दै बाले भनेका थिए, ‘हो, रुझिदैन तर यदि रुख लड्यो भने बचिदैन पनी । शायद त्यहिदिनबाट उसलाई ठुला भनिएका मान्छे र ठुला देखिने बस्तुसँग त्यति बढी प्रेम छैन ।

उसले वातावरण बिज्ञानमा पढेको थियो, “ब्राजिलको अमेजन रेनफरेस्टको विनाशले पेरिसमा सास फेर्न गाह्रो हुन्छ । अमेजन रेनफरेस्ट पृथ्वीको फोक्सो हो तर दिनानुदिन हामि हाम्रो फोक्सो कोपरीरहेका छौ ।“ उसले एकाएक सिमल नजिकै निरन्तर बगिरहेको राप्ती नदि सम्झिन्छ । राप्ती सिमललाई सिंचित गर्छ, वेपर्बाह बग्छ र अन्ततः एटलान्टिक महासागरमा गइ मिल्दछ । उसलाई लाग्छ कि एटलान्टिक महासागर, घैलाघारीको ताल, जगतपुरको सिमल, ब्राजिलको अमेजन रेन  फरेस्ट र ऊ आफू गहिरोसँग अन्तर्सम्बन्धित छन् । ऊ धर्तीमाताको काखको एकछेउबाट अर्कोछेउमा जाँदैमा काख टुक्रिएको भ्रम बोक्दैन । भ्रमपूर्ण राजनीतिक राष्ट्रवाद मान्दैन र सिमलको जरा नै आफ्नो जरा सम्झन्छ । सिमलको जरा तेरो जरा होइन भन्नेहरुलाई‘ जो मर्जी राष्ट्रवादी’ भन्ने बाहेक केहि गर्न सक्दैन । कतिपय राष्ट्रवादीलाई बिदेशिएका नेपालीले चश्मा किनिदिएको समाचार पढेको सम्झिदै, ऊ बिस्तारमा पल्टिन्छ ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्