प्रदेश-२मा हालसम्म ८८ जना प्रहरीमा कोरोना संक्रमण, ३८ डिस्चार्ज

जनकपुरधाम- कोरोना संक्रमणको रोकथाम तथा नियन् त्रणको लागि खटेका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढदै गएको छ।

प्रदेश २ को विभिन्न जिल्लामा खटेका ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए।

भारतसँगको खुल्ला सिमानाकाको कारण चोरबाट हुँदै आउने तथा लकडाउनको कार्यान्वयन गराउन खटेका सुरक्षाकर्मीहरुमा कोरोना फैलिदै गएको छ।

प्रदेशको ८ जिल्लामा ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जना निको भएर डिस्चार्ज भएको प्रहरी प्रवक्ता सिंहले बताए।

प्रदेश प्रहरी कार्यालयको अनुसार अहिले सम्ममा सबैभन्दा बढी पर्सामा २६ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्सामा सबैभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपनि अहिले सम्म १ जना मात्र निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै धनुषामा २२ जना संक्रमित हुँदा १५ जना निको भएर डिस्चार्ज भएका छन् ।

बारामा १४ मध्ये ७, सप्तरीमा १३ मध्ये ५, रौतहटमा ५ मध्ये ४, सर्लाहीमा ४ मध्ये २ जना निको भएर डिस्चार्ज भएका छन्।

त्यस्तै सिरहा र महोत्तरीमा दुई÷दुई जना प्रहरी कोरोना संक्रमित हुँदा सबै जना निको भएर डिस्चार्ज भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रदेश प्रहरी प्रवक्ता सिंहका अनुसार अहिले सम्म कोरोनाको लक्षण देखिएका र संक्रमित भएका सुरक्षाकर्मीहरुको सम्पर्कमा आएकाहरुको मात्र कोरोना परिक्षण गरिएको छ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्