आंशिक शिक्षकहरुद्वारा आन्दोलनका कार्यक्रमहरु, क्याम्पसमा कुर्सीहरु जलाइयो

काठमाडौँ– आंशिक शिक्षकहरुले उपत्यका बाहिरका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन्। नेपाल आंशिक प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा.महेश गजुरेलका अनुसार संघले आइतबार क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएको थियो, सोमबार लेखा शाखामा ताला लगाएको छ भने आगामि दिनमा क्याम्पस गेटमा नै ताला लगाउने कार्यक्रम रहेको छ। संघका केन्द्रीय अध्यक्ष गजुरेल चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत छन्।

‘हामीले ‘समान कामको समान ज्याला’ मागेका हौँ। शान्तिपूर्ण आन्दोलन अगाडि बढाउँदै जाँदा हामी काम गर्ने क्याम्पसले, त्रिभुवन विश्व विद्यालय र नेपाल सरकारले सहमति गर्नुभयो तर कार्यान्वयन भएन।,’ डा गजुरेलले देशसञ्चारसँग भने, ‘यति गर्दा हाम्रो मागको सुनुवाई भएन भने हामी हिंसात्मक आन्दोलनमा जान सक्छौँ।’

गजुरेल भन्छन्, ‘७० प्रतिशत पढाउने जिम्मेवारी धानेका आंशिक शिक्षकलाई यो समयमा अलिकति पनि वास्ता सरकारले गरेन।’

आइतबारदेखि शुरु भएको तालाबन्दी कार्यक्रमका क्रममा दाङ बहुमुखी क्याम्पस र पोखराको पृथ्वी नारायण क्याम्पसका कुर्सी जलाइएको छ।

लकडाउन शुरु भएदेखि तलब नपाएका शिक्षकहरुले आफ्नो व्यवस्थापनको लागि विश्वविद्यालयलाई कार्यविधि बनाउन माग गरेका थिए, शुक्रबार कार्यविधि आउने अन्तिम मिति थियो।

यसरी मर्कामा पर्ने देशभरका ६३ ओटा क्याम्पसहरु रहेका छन्। नेपाल आंशिक प्राध्यापक संघसँग भएको तथ्यांकमा १०६७ उपत्यका बाहिर र ७२३ उपत्यकाभित्रका शिक्षक शिक्षिकाहरु आंशिक प्राध्यापकहरु छन्।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्