कोरोनाका कारण एकै दिन तीनजनाको मृत्यु, ७९ को ज्यान गुम्यो

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण सोमबार थप ३ जनाको मृत्यु भएको छ।

योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका दुई तथा पर्साका १ जनाको मृत्यु भएको हो।

राजधानीको बानेश्वरमा बस्ने ७६ वर्षीय एक पुरुषको सोमबार विहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो।

जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनी मधुमेह, निमोनिया तथा उच्च रक्तचापका विरामी थिए।

साउन २४ गते स्वाव संकलन गरिएपनि उनमा सोमबार मात्र कोरोना पुष्टि भएको हो।

यस्तै काठमाडौँ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको छ।उनी मिर्गौलाका दीर्घरोगी विरामी रहेको मन्त्रालयले जानकारी दिएको छ।

निमोनिया भएपछि उनी असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनमा साउन ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी पर्साकी ४५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

उनको आइतबार उपचारको क्रममा मृत्यु भएको भए पनि मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्