यस्तो छ गाेंगबु हत्याकाण्डको नालीबेली

यस्तो छ गाेंगबु हत्याकाण्डको नालीबेली

गोंगबुमा भएको विभत्स हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरी मंगलबार बिहान काठमाडौँ ल्याएको हो । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।

चितवनबाट सोमबार बेलुका पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौँ ल्याइ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गरेको स्वीकार गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन्।

घटनास्थलबाट प्रहरीले बरामद गरेका सामानहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार

कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेको एसएसपी ज्ञवालीले जानकारी दिएका छन्। दहीमा नसालु पदार्थका पाँचवटा ट्याब्लेट मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा प्रहार गरेको कल्पनाले स्वीकार गरेकी छन्।

चितवनको कालिका नगरपालिका–७ स्थायी घर भएकी उनी गोंगबु क्षेत्रमा बस्दै आएकी थिइन्। विगत तीन–चार वर्षदेखि कृष्णबहादुरसँग आफ्नो चिनजान रहेको र विगत सात–आठ महिनादेखि कृष्णबहादुर गोंगबुको एक गेस्टहाउसमा बस्ने गरेको कल्पनाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ।

३७ वर्षकी कल्पनाले कृष्णको अण्डकोशमा प्रहार गरेपछि सलले घाँटी कसेर मृत्यु पक्का गरेको बताएकी छन्। त्यसपछि भान्छामा रहेको हतियारले टाउको र खुट्टा काटी शरीर सुटकेसमा राखेर बाहिर फालेको उनले बताएकी छन्।

आफू एक्लैले मारेको भए पनि शव व्यवस्थापनमा छोरीको सहयोग लिएको उनले बताएकी छन् । हत्याको घटना शनिबार राति ८ देखि १० बजेको बिचमा भएको खुल्न आएको प्रहरीले जनाएको छ।

राति ११ बजेतिर ट्वाइलेटमा लगेर घाँटी काटेको र त्यसपछि घाँटी तथा खुट्टा झोलामा हालेर फालेको उनले जानकारी दिएकी छन् । शरीर सुटकेशमा राखेर राति १ बजे बाहिर लगेको र त्यसमा छोरीले साथ दिएको उनको भनाई छ ।  प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ।

कृष्णबहादुर शनिबार बेलुका पाँच बजे आफू बस्ने गेस्टहाउसबाट बाहिरिएको देखिने प्रहरीले जनाएको छ ।

चितवनबाट बिरामी लिएर आएको एम्बुलेन्सका चालकलाई आफूले चिनेको र सोही एम्बुलेन्समा आइतबार बेलुका चितवन गएको उनले बताएकी छन्।

कृष्णबहादुरले आफूमाथि यौन दुर्व्यवहार गर्ने तथा आफ्नो तस्बिर राखेर फेक फेसबुक आइडी बनाएर दुःख दिने गरेको उनले दाबी गरेकी छन्।

आफ्नी छोरीमाथि पनि आँखा लगाएकाले योजना नभए पनि हत्या गरेकाे कल्पनाले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

कल्पना विभिन्न टेलिचलचित्रमा अभिनय गर्ने कलाकार रहेको समेत खुलेको छ।

गोंगबुमा भएको विभत्स हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरी मंगलबार बिहान काठमाडौँ ल्याएको हो । तस्बिरहरु: बर्षा शाह/देश सञ्चार

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले त्यसपछि हत्या गरिएको ठाउँ पत्ता लगाएको थियो।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

साउन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू