पति परमेश्वर कि जीवन साथी ?

चाड पर्वहरु सुरु भएका छन् । पूजापाठ, व्रत, कर्मकाण्ड जति हुन्छन्- अधिकांशमा श्रीमतीले श्रीमान्‌को गोडा धोएर पानी खानेछिन्। मान्यजनको गोडामा शिर राख्ने क्रमहरु धेरै हुनेछन् ।

श्रीमान्‌को आयुका निमित्त श्रीमती व्रत बस्ने, उनको गोडाको पानी खाने र गोडा ढोग्ने पक्ष–विपक्षमा सञ्चार माध्यमहरुमा बहस चल्नेछ केही समय ।

मैले यसअघि पनि लेखी सकेको छु गोडा ढोग्ने चलन गुरुकुलबाट सुरुभएको रहेछ । क्रमशः आमाबुवा हजुरबा हजुरआमासम्म पुग्यो । र त्यही क्रमलाई श्रीमान्, ज्वाइँ, छोरी, भान्जाभान्जी, पुरोहित आदिसम्म तन्काएर ल्याइयो ।

यो सर्वथा दमन संस्कारबाट प्रेरित थियो । र अझै पनि छ ।

त्यही संस्कार (कु), सभ्यता(अ) र संस्कृति (विकृति) बन्दैै धार्मिक हुन आइपुग्योभन्दा अत्युक्ति नहोला ।

श्रीमतीले श्रीमान्‌को गोडा ढोग्ने संस्कारको चर्चा गर्न खोजिएकाले श्रीमान्‌श्रीमतीको सम्बन्ध केलाऊँ ।

श्रीमान् श्रीमतीलाई जीवन साथीको उपमा दिइन्छ । यो उपमा आधुनिक समाजको उपज होइन । पार्वतीले महादेव पति पाउँ भनेर व्रत ब्रसेपछि उनका पिता हिमालयले पुत्री पार्वतीलाई आफ्नो जीवन साथी छनौटको स्वतन्त्रता प्रदान गरेबाट यो पुष्टि हुन्छ ।

साथी भनेको जहिले पनि समान हैसियतको हुन्छ । जस्तै बालसखा, स्कुल कलेज पढ्दाको, जागिरखाँदाको कुनै पनि व्याचमेट आदि । यी सबै साथी सम्बन्ध तलमाथि हुँदैन। त्यसैगरी जीवन साथी पनि समान हैसियतकै हो ।

हैसियत समान नभए जीवनसाथी भनिनु हुँदैन ।

साथीबीच एकअर्कामा तँ, तिमी वा तपाईँमध्ये एक सम्बोधन गरिन्छ । एकले तपाई र अर्कोले तँ वा तिमी भनिन्छ भने त्यहाँ पूर्ण साथित्व रहँदैन ।

बरु उमेर, पद वा नाताले सानो ठूलो भन्ने बुझिन्छ ।

राष्ट्रहरु बिचको मित्रवत हैसियत पनि यस्तै हो । नेपाल र भारत, अमेरिका र क्यानडा वा भुटान र बेलायत लगायत संसारका जुनसुकै देश हुन् सबै समान हैसियतका हुन्छन्। साथी हैसियतका ।

व्यक्ति वा राष्ट्रबीचको साथित्वमा केही भिन्नता रहँदैन । ठूलो, सानो, गरिब, धनीका आधारमा मित्रताको हैसियत होचो अग्लो हुँदैन । सुदामा र कृष्णको जस्तै समान र अर्थपूर्ण हन्छ र हुनुपर्छ ।

सुदामा र कृष्णको साथित्वमा समानता प्रस्तुत गरिनु परिवर्तित हरेक युगका, हरेक शासक र शासितहरुलाई सन्देश दिनका लागि पनि हो । यति बुझिएन भने मित्रताको गहनतामा पुगिन्न ।

गहनतामा नपुगिने बाटोकै यात्रा भएका छन् अध्यात्म, योग, हाम्रा चाडपर्व, संस्कार, सभ्यता, संस्कृति, नाता सम्बन्ध र धर्ममा पनि ।

विवाह र जीवनसाथीको संवेदनशीलताको उचाइ बुझ्न नखोजेकै कारण सम्बन्धहरु सिसाको झ्याल र सानो ढुंगाको कथा बनिरहेछन् । विवाह एक सामाजिक प्रथाले बनेको मानवशास्त्रिय संस्था पनि हो । निरंकुश र दमनकारी संस्था कहिल्यै दिगो र त्यसको भविष्य उज्यालो हुँदैन ।

विवाहका धार्मिक, आर्थिक, कानुनी, नैतिक, सामाजिक आदि मान्यता र आवश्यकताहरु रहेका छन् । तसर्थ श्रीमान् श्रीमतीबिचको सम्बन्ध एकअर्कामा परिपुरक हुन्छन् भन्ने भुल्नु हुँदैन ।

तर विवाह मण्डपमै दुलहीलाई दुलाहाको गोडा ढोगाएर दमन संस्कारको सुरुवात गरिन्छ । सायदै कुनै समुदायका दुलाहालाई दुलहीको गोडा ढोगाइँदैन ।

मानव समाजमा विवाह संस्थाको प्रादुर्भावका बारेमा १९ औँ सताब्दीमा वेखोफोन, मोर्गन, मैकलीन लगायतका मावशास्त्रीले आफ्नो अध्ययनबिचार प्रदान गरेका छन् । उनीहरुका अनुसार आदिकालमा विवाहमा कुनै बन्धन थिएन । महिला पुरुषमा इच्छा अनुसार काम सुखको अधिकार थियो ।

महाभारतमा पाण्डुले पत्नी कुन्तीलाई भनेका छन् पहिले विवाहको प्रथा थिएन । यौन सुखकालागि स्त्री स्वतन्त्र थिइन् ।

भारतमा सर्वप्रथम श्वेत केतुले विवाहको मर्यादा स्थापित गरेको मानिन्छ । चीन, मिश्रसभ्यता र युनानका केही पुराना साहित्यमा पनि विवाहका केही पुराना मान्यताहरु पाइन्छ ।

तीज आयो । श्रीमान्‌ले लागि श्रीमती र सपनाको राजाका लागि लागि प्रेमीका भोकप्यासै व्रत बस्छिन् । तिनको प्रेम र समर्पणबाट पवित्र उनको शरीर र मन साँच्चै पुजनीय हुन्छ । यदि ढोग्ने नै हो भने, तिनको पारिवारिक र सांसारिक योगदान र प्रेमप्रतिको त्यो समर्पणका लागि श्रीमान्‌ले गोडा ढोग्नुपर्छ । श्रीमतीले होइन ।

चाहे विवाह एउटा संस्थाकारुपमा विकास भएको होस् वा यौन सुखका लागि स्वतन्त्र भएको अवस्थामा होस् । स्त्री पुरुषको सम्बन्धमा समानताको हल मिलेको हुनुपर्छ ।

साथित्वको समानतासहितको सम्बन्ध स्थापित हुनुपर्छ । स्त्री पुरुषको समान सहभागिता र सक्रियताविना यौन सुखको पनि कल्पना गर्न सकिन्न भने जीवन संचालनमा असमान सम्बन्ध वा मर्यादाले जीवन साथीको सार्थकतालाई सम्बोधन गर्ने परिकल्पना कसरी गर्न सकिएला र ?

हजुरआमाले हजुरबाको, आमाले बुवाको भाउजुले दाजुको गोडाको पानी खाए, गोडामा शिर झुकाउनुमै खुशी भए । त्यही कारण यो प्रथालाई निरन्तरता दिनुपर्छ भन्नु सामयिक सभ्यता होइन ।

१३ वर्षको उमेरदेखि श्रीमान्‌को आयुका लागि पानी नखाई व्रत बसेकी मेरी आमा ३७ वर्षकै उमेरमा किन विधवा भइन्? उनले आफ्ना पतिपरमेश्वरको आयु लम्ब्याउन किन सकिनन्? यदि पति परमेश्वर हुन् र पत्नी दासी हुन् भने दासीले परमेश्वरको जीवन रक्षा गर्ने कुरा सर्वथा उल्टो भएन र ?

मैले मेरी आमाको जीवन कथाबाट नसिकेर श्रीमतीलाई आफ्ना गोडासम्म झुकाउने र गोडा पखालेको अस्वश्थ्यकर पानी खान कसरी अनुमति दिने ? उनले मेरा गोडामा उनको पवित्र शिर नराखेकै कारण हाम्रो दाम्पत्य, धार्मिक आश्था र जीवन संचालनको अग्रगमनमा कुनै बाधा आएको छैन ।

पति परमेश्वर हो । उसका गोडाको पानी खानुपर्छ । गोडामा शिर राख्नुपर्छ । कुन वैदिक शास्त्रमा उल्लेख छ ? यदि कतै छ भने आदरणीय पंडितज्यूहरु तथा यसका अध्येताहरु ! जानकारी पाए द्विविधामा रहेको समाज आभारी हुने थियो । त्यसपछि फरक पाटोबाट बहस गर्न सजिलो पर्थ्यो ।

पार्वतीले शिवजीलाई पति पाउन व्रत गरेको कथामा पनि गोडाको पानी खाएको उल्लेख भएजस्तो लाग्दैन । उनले व्रत गर्दा पानी र अन्न नखाएर सुकेका पात मात्र खाएकी छिन् । खान नमिलेरभन्दा पनि उसबेला जंगलमा जे थियो त्यही खाएकी हुन् भन्ने बुझ्न गाह्रो पर्दैन ।

सोधकर्ताहरुले भनेका छन् पछिल्लो समयमा लेखिएका स्वश्थानी, गरुडपुराण वा अन्य यस्तै पूर्वाग्रही वा आग्रही साहित्य हुन् । ती साहित्यको उदाहरण अमान्य सभ्य समाजलाई स्वीकार्य नहुने कुरा विनम्रतापूर्वक अनुरोध गर्दछु ।

यदि संस्कार, संस्कृतिहरु समाजका दीर्घकालीन आचारसंहिता हुन् भने यिनले कसैमाथि होचो अर्घेलोको व्यवहार गरेको हुनुहुन्न । चित्त नबुझ्दा परम्पराहरुमाथि प्रश्न गर्ने, समयानुकुल परिमार्जन गर्र्ने छुट हुनुपर्छ ।

अन्यथा त्यस्ता कुनै धर्म, संस्कार र संस्कृतिमा ‘कु’ जोडिएको मान्ने बाध्यता आइलाग्छ । देखिएको पनि छ आजको वैज्ञानिक पुस्तामा । हाम्रा राम्रा कुरा बुझाउन नसक्ने, मन नपर्दा कुरा लाद्ने परिपाटीले हाम्रा सुन्दर पहिचान र परम्पराहरु ओझेलमा परेका छन् र आयातीत कुराहरुले घर गरिरहको छ ।

अब महिला भूमिकाको हिजो, आज र भोलिको महत्वको व्यवहारिक कुरा गरौँ ।

सृष्टि संचालनमा महिलासँगै पुरुषको योगदानलाई बिर्सिनु हुँदैन । तर यस विषयमा स्त्रीसँग पुरुषको तुलना हुन सक्दैन । एउटी स्त्रीले जन्मिएको घर छोडी पराइघरलाई आफ्नो ठानेर स्वतन्त्र जीवन र आफ्ना सपनाहरुसमेत तिलान्जली दिन्छे । एउटा परिवारलाई पूर्णता प्रदान गर्छेे, र सृष्टि चलाउँछे ।

साँच्चै भन्ने हो भने उसले व्यक्तिसँग नभई घरसँग विवाह गरेकी हुन्छे । त्यसैले परिवारका सबै सदस्यहरुको हरतरहको सेवा गर्न बाध्य हुन्छे । आफ्नी आमाको सेवा गर्न पाउँदिन तर लोग्नेकी आमाको गुहुमुत सोहोर्छे ।

तर उसैको श्रीमान्‌ले आफ्नी सासू विरामी पर्दा भेट्न जान पनि भ्याउँदैन । श्रीमतीका परिवारका कुनै सदस्यप्रति कुनै प्रकारको गुन लगाउन बाध्य हुँदैन । उसैका तुलनामा उसकी श्रीमती कसरी तल्लो मर्यादामा पर्छे ।

के कारणले श्रीमान्लाई परमेश्वर मानेर उसको गोडा ढोग्ने, गोडाको पानी खाने बाध्यता र संस्कार बचाउने बाध्यतामा पर्छे ?

यदि श्रीमान्श्रीमती दम्पति वा जीवनसाथी हुन् भने हरेक पुरुषले आजैबाट यो बिकृतिलाई हटाउनुपर्छ ।

तीज आयो । श्रीमान्‌ले लागि श्रीमती र सपनाको राजाका लागि लागि प्रेमीका भोकप्यासै व्रत बस्छिन् । तिनको प्रेम र समर्पणबाट पवित्र उनको शरीर र मन साँच्चै पुजनीय हुन्छ । यदि ढोग्ने नै हो भने, तिनको पारिवारिक र सांसारिक योगदान र प्रेमप्रतिको त्यो समर्पणका लागि श्रीमान्ले गोडा ढोग्नुपर्छ । श्रीमतीले होइन ।

सहमत हुनुहुन्छ पुरुष महोदय ?

चलनलाई निरन्तरता दिनुपर्छ भन्ने शैक्षिक प्रमाणपत्रधारी महिलाको संख्या पनि कम छैन । तपाईका छोरी, बुहारीको मर्यादाको रुपान्तरण गर्दै सभ्य, आधुनिक र समतामूलक समाज निर्माणकालागि तपाइँहरु कहिलेसम्म बाधक बनिरहनुहुन्छ ?

यो प्रश्नको उत्तर आफैँ खोज्ने प्रयास गर्नुहोला ।

एकातिर बिरोध गर्नेहरुले शिवलिङ्ग पूजालाई खुइल्याउने गरेको पाइन्छ । अर्कोतिर आफूले आँखा चिम्लेर पूजा गरेको शिव लिङ्गमा योनी अस्तित्व पनि सँगै छ भन्ने कुरा धेरै महिलालाई थाहा छैन ।

नारी पुरुष सहअस्तित्वको यो सन्देश नारी पुरुष दुबैले बुझ्नुपर्छ । ग्रन्थ ज्ञाताहरु पनि सबैलाई यो कुरा भन्न चाहँदैनन् ।

उमामहेश, सिताराम, राधाकृष्ण, लक्ष्मीनारायण गरेर देवताकोभन्दा अघि देवीको नाम पहिले लिनुको तात्पर्य के थियो त ? नारीलाई पुरुषभन्दा अघि राखिनु उनको सम्मान होइन र ?

यति कुरा बुझ्न ब्रह्म ज्ञानी भइरहनुपर्दैन । नपढेका आमाहरुले पनि बुझ्न सक्नुहन्छ बुझाएमा ।

डा. प्रमोद ढकालले आफ्नो पूर्वीय दर्शनको पुनरव्याख्या पुस्तकमा लेख्नु भएको छ देवी र देवतामध्ये एकलाई ठूलो वा सानो मान्ने कुरालाई वैदिक परम्पराले निषेध गरेको छ । शिव र शक्तिलाई एकै सिक्काको दुवै पाटाजस्तो मानेको छ । देवी देवतालाई चित्र वा मूर्तिमा सँगै देखाइनु पनि समान अस्तित्व मानेको हो ।

देवीदेवताको पूजा गर्दा नै हेरौँ न ऋद्धिसिद्धी सहित श्री गणेशाय नमः, ब्रह्मासहित सावित्रीभ्यो नमः, लक्ष्मीसहित नारायण नमः, पार्वतीसहित शिवाय नमः भनेर देवीको नाम पहिले उच्चारण गरिन्छ ।

यसलाई संयोग मात्र मान्ने र ? नारी सम्मान होइन र यो । नारीलाई पहिलो स्थानमा राखेको मान्न अरु के तथ्य खोज्ने ?

यति सामान्य कुरालाई पर्दाभित्र राख्ने हामी हाम्रै धर्म र शास्त्र विरोधी हौँ कि पक्षपाति ?

डा.ढकालका अनुसार देवीको नाम देवताकोभन्दा अगाडि सम्बोधन गरिनु र मण्डपमा पूजा गर्ने मानिसको दाहिनेतिर राखिनु नारी सम्मान हो ।

यती सामान्य अर्थलाई नजानेर वा नमानेर नारीलाई पुरुषका गोडासम्म झुकाइरहेका छौँ ।

कसैले तर्क गर्न सक्छ । विवाहमा सिन्दुर लगाउनुअघि बेहुलीलाई आशनको दाहिनेतिर राखिएको हुन्छ । जब सिन्दुर हालिन्छ तब बायाँ तर्फ स्थानान्तरण गरिन्छ । यहीँबाट सुरु हुन्छ महिला होच्याउने कार्य । डा. ढकाल लेख्नुहुन्छ आफ्नी छोरीको संरक्षणका लागि उनका बाआमाले दुलाहालाई कसम खुवाएका हुन्छन् । उसले पनि अग्नी साक्षी राखेर कसम खाएकाले तरवार उचाल्ने दायाँ हाततिरको स्थान खाली राखेर संरक्षितलाई बायाँतर्फ राखिएको वैज्ञानिक र व्यवहारिक अर्थ छ ।

अष्टलक्ष्मी, महालक्ष्मी, धान्य लक्ष्मी, धैर्य लक्ष्मी, गजलक्ष्मी, सन्तान लक्ष्मी, विजय लक्ष्मी, धन लक्ष्मी गरेर एउटी लक्ष्मीका मात्र अनेक रुप, भूमिका र सम्मान छन् । विद्या, बुद्धी, बल, धनसम्पति सबैको मालिक देवीलाई मानेको वैदिक कालको कुरा होस् वा आजको आधुनिक समाजमा होस् यी सबैको संरक्षक हरेक घरकी नारी नै हुन् ।

निश्कर्ष:
पुरुषले कमाएको संपतिको नारीले संरक्षण मात्र गरेकी छैनन् आफैँले कमाएर घर चलाएकी छन् । सन्तानहरुलाई स्कुलका किताब पढाएकी मात्र छैनन् धैर्य, सहनशिलता, सेवा र समर्पणको व्यवहारिक शिक्षा प्रदान गरिरहेकी छन् । राज्य, प्रशासन, न्याय संचालनमा मात्र होइन सन्तान र परिवारको संरक्षणमा समेत योगदान गरिरहेकी छन् ।
यी सारा तथ्यलाई बेवास्ता गरेर नारी मर्यादालाई एउटा पुरुष वा अर्की एक महिलाले किन लोग्नेका गोडासम्म उनको टाउको झुकाउन लगाएको वा झुकाउन सहमति दिएको ? किन गोडाको पानी खान दिएको वा खान लगाएको ? तिखो स्वरमा यो प्रश्न कहिले गर्ने हो ?

श्रीमान श्रीमतीबीच असमान सांस्कृतिक सम्बन्ध र व्यवहारहरु रहुन्जेल समानताको कस्तै कानुन, अधिकार र आयोगहरुको जत्रै थुप्रो लगाए पनि व्यवहार र भावनागत समानता कहिल्यै प्राप्त हुँदैन ।

यदि पाप र धर्मकै पक्षबाट तर्क गर्ने हो भने नारीले आफ्ना पारिवारिक कर्तव्यसहित श्रीमान्को सेवा गरेर अतुलनीय धर्म कमाइरहेका छन् । बरु पुरुषले त्यस्ती महान नारीलाई आफ्नागोडामा झुकाएर, गोडाको पानी खुवाएर उनको अपमान मात्र होइन कहिल्यै नकटिने पाप पनि गरिरहका छौँ ।

अन्त्यमा, सांस्कृतिक वा धार्मिक जसले जसरी लिए पनि तीज पर्व र परम्पराको बिरोध गर्नु पर्ने कारण छैन । केबल यसमा निहीत बिकृतिलाई हटाउनु आवश्यक छ । व्रत, प्रार्थना र कामना यसभित्रका सुन्दर पक्ष हुन् । केबल यसका वैज्ञानिकतालाई पहिचान गरी पालना गर्न आवश्यक छ । र, महिलामाथि दमन गरिएका पौराणिक साहित्यको पुनर्लेखन पनि जरुरी देखिन्छ । त्यसपछि मात्र नयाँ नेपाली संस्कार र संस्कृतिको अपनत्व ग्रहण गर्नेछ र यसलाई पछ्याउने छ ।

अनि संरक्षण हुनेछ हाम्रो धर्म र संस्कृतिको ।

चेतना होस् ।

साउन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्