कपिलवस्तुमा एउटै वडामा थपिए ११ कोरोना संक्रमित

बुटवल-कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ मा एकैपटक ११ जना कोरोना संक्रमित थपिएका छन्।

नगरपालिकाको वडा नम्बर-१ स्थित तौलिहवा बजारमा विभिन्न पेशा गर्दै आएका ११ जना संक्रमित थपिएका हुन्।

तौलिहवाको हाट बजारमा मासु पसल सञ्चालन गर्दै आएका ३ जना, सुन पसले ३ जना, किराना पसलका १ जना, औषधी सप्लायर्स १ जना, सामग्री ढुवानीकर्ता १ जना, फोटोकपी तथा फ्याक्स प्रिन्टका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वासथय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

यसअघि पनि तौलिहवा बजारकै पान पसले, किराना पसले, जुत्ता चप्पल पसले, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, विद्युतका कर्मचारी, बैंकका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतमा संक्रमण देखिएको थियो।

फोकल पर्सन थापा अनुसार तौलिहवा बजारबाट लिइएको २ सय २६ नमूनाबाट कुल २२ जना संक्रमित भएका छन्। कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि तौलिहवाका ३ जना गम्भीर अवस्थामा उपचार गराई रहेका छन्।

जसमध्ये १ जनाको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा र बाँकी २ जनाको बुटवलमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कपिलवस्तुमा ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

साउन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्