महिला भन्दा पुरुषले किन बढी आत्महत्या गर्छन्?

डब्लूएचओको रिपोर्ट अनुसार हरेक वर्ष विश्वमा करीब आठ लाख मानिसले आत्महत्या गर्छन् । तर सन् २०२० को अन्त्य सम्ममा त्यो तथ्यांक दोब्बर हुन सक्ने अनुमान डब्लूएचओको वर्तमान दस्तावेजले लगाएको छ । यो तथ्यांक कति हदसम्म सत्य हो भन्ने कुराको मिहीन विश्लेषण डब्लूएचओले गरेको देखिएको छैन । कतिपय देशको तथ्यांकलाई हेर्दा के पनि स्पष्ट हुन्छ भने यस अध्ययनमा उक्त संगठनले त्यति गहिरो दृष्टि पुर्याएको देखिन्न । वस्तुतः डब्लूएचओले गरेका हालसम्मका अनेक अनुसन्धान वा वक्तव्यहरु काल्पनिक जस्ता पनि देखिएका छन् र कतिपय देशले डब्लूएचओले दिएका दिशानिर्देश र वक्तव्यलाई गम्भीर रुपले लिएको पनि देखिंदैन । उदाहरणका लागि भियतनाम र जापान जस्ता महत्त्वपूर्ण देश पनि छन् । तर पनि अध्ययनको सिलसिलामा उसका भनाइहरुलाई उल्लेख गर्नु आवश्यक हुन जान्छ ।

अध्ययनले के बताउँछ भने आत्महत्या भनेको नितान्त वैयक्तिक कुरा हो । तर कतिपय विश्लेषकका नजरमा आत्महत्या वैयक्तिक कुरा नभएर सामाजिक र त्यसको सेरोफेरोमा रहेको परिवेशको आवेशमा गरिने एउटा जघन्य काण्ड हो । त्यही काण्डलाई नियाल्दा पुरुष र महिलाहरुको आत्महत्या सम्बन्धी घटनाको तुलना पनि विषयगत रुपमा अनुसन्धानको एउटा पाटो हुनसक्छ ।

अब यहाँ महिला र पुरुषले कस्ता कस्ता आवेश र परिवेशमा आत्महत्या गर्छन् भन्ने विषयलाई उजागर गर्नका लागि केही अनुसन्धानलाई उल्लेख गर्नुपर्ने हुन्छ एकातिर भने अर्कातिर ती अनुसन्धान बाहेकै पनि यी दुई बीचमा हुने सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक विषयलाई पनि विश्लेषण गर्नु समीचीन देखिन्छ ।

अब आउँ विषयवस्तुतिर । साँच्चै किन त पुरुषहरुले महिलाका तुलनामा विश्वव्यापी रुपमा आत्महत्या बढी गर्ने गर्छन् । यसका पछाडीका केही रहस्यहरुलाई तुलनात्मक रुपले हेरौं ।

सन् २०१७ को तथ्यांकले महिलाहरुको आत्महत्या दर प्रति एक लाख मा ६.३ देखाएको छ भने, पुरुषको १३.९ देखाएको छ । संसार का अधिकांश देशहरुमा आत्महत्यामा पुरुष नै अगाडि देखिएका छन् । तर, संसारभरीका करीब दुई शय देश मध्येमा करीब ४ वा ५ वटा देशमा भने महिलाको आत्महत्या दर तुलनात्मक रुपले बढी देखिएको छ । यी चार वा पाँचवटा देश मध्ये नेपाल पर्छ कि पर्दैन भनेर खोजी हेर्दा नेपाल पर्दोरहेनछ । संसारको शक्तिशाली देश मानिने अमेरिकामा त झन् महिलाको तुलनामा पुरुषले साढे तीन गुणा बढी आत्महत्या गर्ने गर्दा रहेछन् । तर चीनमा भने ठीक एसको उल्टो महिलाको मृत्यदर बढी छ ।

नेपाल मा पुरुष र महिला को आत्महत्या को दर तुलना गर्दा, पुरुष को आत्महत्या गर्ने दर लगभग महिला को तुलनामा १.५ गुणा बढी देखिन्छ । यी सबै तथ्यांक लाई केलाउँदा महिला को तुलना मा पुरुषले किन आत्महत्या बढी गर्छन् त, भन्ने प्रश्न हामी सामुन्ने मा देखापर्छ । यहाँ यसै विषयवस्तुलाई केन्द्रविन्दुमा बनाइएको छ ।

समाजको संरचना

सन् २०१५ को Journal of Psychiatry and Neuroscience को रिपोर्ट अनुसार, पुरुषहरुले भन्दा महिलाले डिप्रेशनको (उदासीनता) रिपोर्ट बढी गरेका थिए । २०१० मा यसको विश्वव्यापी वार्षिक रिपोर्ट क्रमशः ५.५ र २.२ प्रतिशत थियो, जसले महिलामा १.७ गुणा बढी घटना प्रतिनिधित्व गर्दछ । अनि अर्को अचम्मको कुरा पनि के छ भने, महिलाहरुले आत्महत्याको प्रयास पुरुष ले भन्दा बढी गर्दारहेछन् । तर विभिन्न कारणवस उनीहरुलाई परिवार र आफन्तजनले बचाउँदा पनि रहेछन् । त्यसैले पूर्ण मृत्यु भने नहुने देखिएको थियो ।

भनेपछि यो रिपोर्ट अनुसार जो बढी उदासीन छ, वा मानसिक तवरले अव्यवस्थित छ, वा जसले बढी आत्महत्याको प्रयास गर्दछ, त्यो व्यक्तिले नै बढी आत्महत्या गर्न पर्ने हो ? तर महिला र पुरुषको आत्महत्याको घटनालाई तुलना गर्दा तथ्यांकले अर्को परिणाम देखाएको छ । यो किन भयो त भन्ने विरोधाभासयुक्त प्रश्न हामी सामुन्ने टड्कारो देखिन्छ । यसको उत्तर भने निम्न लिखित कारणहरुमा विश्लेषण गर्न सकिन्छ ।

१. पुरुषहरुको आत्महत्या विधिहरु प्रायः बढी हिंस्रक हुन्छन्, जसले गर्दा परिवार वा आफन्त जनले हस्तक्षेप गर्न पाउँदा नपाउँदै उनीहरुको मृत्यु भईसकेको हुन्छ । अमेरिकाको उदाहरण हेर्ने हो भने, १० जनामा ६ जना बन्दुक जन्य हतियारहरु बोक्ने व्यक्ति पुरुष हुन्छन् । र अमेरिका जस्ता देशहरुमा यस्ता हतियारहरु आत्महत्या गर्न का लागि आधा भन्दा बढी जिम्मेवार छन् । हातहतियार नराख्ने देशहरुमा भने उदाहरण भिन्न हुन सक्तछन् । पुरुषहरु सामान्यतया महिलाहरु भन्दा बढी आवेगशील रुपमा रहेको पाइएको छ । किनकि उनीहरु महिलाको तुलनामा बढी आक्रामक व्यवहार, दुर्घटनाहरुमा बढी संलग्न, हिंसासँग सम्बिन्धित चोटपटकहरु, लागूपदार्थको प्रयोग, अनियन्त्रित खेलकूद, र आपराधिक व्यवहारमा बढी संलग्न भएका छन्, जुन सबै आवेगसँग जोडिन आउँछ । (Cross, Copping, and Campbell, 2011)

२. बि.बि.सी को २०१९ को रिपोर्ट अनुसार आत्महत्या को मुख्य कारण कम्यूनिकेशन (सञ्चार, वार्तालाप, बातचीत) नहुनु हो । पुरुषको तुलनामा महिलाहरु आप्mना समस्याहरु बाँड्न इच्छूक हुन्छन् । र हामीले यानिकी समाजले पुस्तौं देखि पुरुषहरुलाई सशक्त हुन र आफ्नो संघर्षको कुरा स्वीकार्न प्रोत्साहित गरेनौं । यो अक्सर बालापनमा शुरु हुन्छ । हामी केटाहरुलाई रुन हुँदैन भन्छौं, र सानै उमेरदेखि केटाहरुलाई भावना व्यक्त नगर्न, वा भनौं इमोशनल नहुन भनेर ज्ञान बाँडीरहेका हुन्छौं । त्यसले पुरुषहरुमा ईमोशनलाई बाँधेर राख्ने अप्राकृतिक समस्या उत्पादन हुन्छ, जसले गर्दा विभिन्न आत्महत्याका घटनाहरु सुन्नमा आउँछ । पुरुषहरु सहयोगको खोजीमा महिलाको तुलनामा कम देखिन्छन् । (Addis, 2008; Addis and Mahalik, 2003)

३. मानसिक तनावको अर्को उपउत्पादन ड्रग र जाँड रक्सी को अत्याधिक मात्रामा प्रयोग । यसले पनि मानिस मा मानसिक रुपले अस्तव्यस्तता निर्माण गर्छ जसले आत्महत्या जस्तो घातक निर्णय मा प्रश्रय दिन्छ । पुरुष महिलाको तुलनामा, ईमोशन कन्ट्रोल गर्ने नाममा रक्सीको निर्भरतामा दुई गुणा बढी हुन्छन् ।

४. अन्य जोखिमका कारकहरु परिवार वा काम सम्बन्धित हुन सक्छन् । Psychologoy research and Behavior Management जर्नल मा, २०१५ मा छापिएको आर्टिकल – The true cost of the economic crisis on psychological well-being: a review, मा लेखिएको अनुसार, जब आर्थिक मन्दीले बेरोजगारी बढ्छ त्यहाँ आत्महत्या हुनसक्ने सम्भावना बढी हुनसक्छ । २०१५ को अर्को अध्ययन अनुसार बेरोजगारीमा हरेक १ प्रतिशत वृद्धिमा आत्महत्याको दर ०.७९ प्रतिशत ले वृद्धि भएको देखिएको छ ।

५. पुरुषहरु महिलाको तुलनामा एकान्तमा बढी बस्न खोज्ने र त्यस्तो अवस्थामा यदि त्यो व्यक्ति मानसिक अवस्थाले स्वस्थ छैन भने, उसले आत्महत्या गर्न सक्ने सम्भावना बढी हुन जान्छ ।

६. महिलाहरु पुरुष भन्दा बढी समाज परिवार प्रति संवेदनशील हुनाले, आप्mनो शरीर लाई समाप्त पार्न पुरुषको तुलना मा कम देखिन्छन् । महिलाहरु पुरुषको तुलनामा बढी उदासीन हुने, तर यस विरोधाभासको वर्तमान र विगतका विवरणहरु एन्ड्रोसेन्ट्रिक धारणामा निर्मित छन् । एन्ड्रोसेन्ट्रिकको शाब्दिक अर्थ पुरुष केन्द्रित हो । समाजले पुरुषलाई केन्द्रविन्दुमा राख्दा पुरुषलाई मनोवैज्ञानिक तथा शारीरिक रुपले सबल मनुष्यको रुपमा हेर्दछ । त्यो हुनाले पुरुषका आन्तरिक (मनोवैज्ञानिक) समस्या लाई नजर अन्दाज गरेको हुनाले आत्महत्या जस्तो घातक निर्णयमा पुरुषहरु अगाडि देखिन्छन् । तर महिलाहरु यस विषयमा कमजोर देखिनु उनीहरुको लागि आत्महत्या विरुद्ध लड्न एउटा हतियार नै साबित हुन्छ।

महिलाहरुको दिमागमा यस्ता केमिकल, सेरोटोनिन र डोपामिन, प्राकृतिक रुपले नै अलि बढी उत्पादन हुने रहेछन् । यी कारण चाहीँ महिला बढी संवेदनशील, सहनशील, र आफ्ना कुराहरु अरुलाई पनि बाँड्ने भएकाले, उनीहरुको दिमागमा यस्ता केमिकलको बढी उत्पादन हुने देखिएको हो ।

बयलोजिकल (जैविक) कारकहरु

मानिसको दिमागलाई वैज्ञानिकहरुले धेरै नै विश्लेषण गरीरहेका छन् । त्यही विश्लेषणको क्रममा डाक्टरहरु लगायत यस विषयका वैज्ञानिकहरुले विभिन्न रिपोर्टहरु पनि नछापेका होइनन् । तर मानिसको दिमागलाई अनुसन्धान गर्दा थुप्रै जटिलताहरु पनि वैज्ञानिकहरुले सामना गर्न पर्ने हुन्छ । त्यही क्रममा आत्महत्यालाई लिएर पनि विभिन्न ठाउँहरुमा विभिन्न वैज्ञानिकहरुले अनुसन्धान गरी नै राखेका छन् । त्यस्तै अनुसन्धानलाई परीक्षण गर्दा आत्महत्याका विषयमा केही निचोडमा भने अवश्य पुगेका छन् । तर त्यो निचोड नै अन्तिम निचोड हो भनेर हामीले मान्न मिल्ने अवस्था भने छैन ।

आत्महत्या गर्ने व्यक्तिको दिमागमा उत्पादित केमिकललाई परीक्षण गर्दा केही वर्ष अगाडि क्यानडाका वैज्ञानिकहरुले डिप्रेस्ड (उदासीन) व्यक्ति को दिमागमा गाबा (GABA) नामक न्यूरोट्रान्स्मिटर neurotransmitter लाई कारक तत्वको रुपमा देखेका थिए । यदि तपाईं ग्यास पेडल र गाडीको ब्रेकको बारेमा सोच्नुहुन्छ भने, गाबा ब्रेक हो… पश्चिमी ओन्टारियो विश्वविद्यालयको रोबार्टस् रिसर्च इन्स्टिच्युटका न्यूरो साइन्टिस्टका सह लेखक माइकल पोल्टर बताउँछन् । यही न्यूरोट्रान्स्मिटर का साथसाथै मान्छेकै दिमागमा उत्पन्न हुने सेरोटोनिन हर्मोन र डोपामीन हर्मोन पनि आत्महत्याका कारक केमिकल हुनसक्ने वैज्ञानिकहरु अनुमान लगाउँछन् ।

यी केमिकलहरु, मान्छे डिप्रेस्ड हुँदा दिमागले कम उत्पादन गर्ने रहेछन् । त्यही अनुरुप डाक्टर हरु एन्टी डिप्रेसेण्ट (anti-depressant) औषधि दिँदा रहेछन् । यी औषधिले यस्ता केमिकल उत्पादन गर्नमा मद्दत गर्दा रहेछन् । तर यस्ता खालका औषधिहरु पनि पूर्ण रुपले स्वस्थ्यकर नहुने, र यसका धेरै घातक साईड इफिक्ट भएकाले प्राकृतिक रुपले नै शरीर ले उत्पादन गरेको केमिकल बढी फायदा जनक हुने रहेछ ।

अनौठो कुरा त के भने, महिलाहरुको दिमागमा यस्ता केमिकल, सेरोटोनिन र डोपामिन, प्राकृतिक रुपले नै अलि बढी उत्पादन हुने रहेछन् । यी कारण चाहीँ महिला बढी संवेदनशील, सहनशील, र आफ्ना कुराहरु अरुलाई पनि बाँड्ने भएकाले, उनीहरुको दिमागमा यस्ता केमिकलको बढी उत्पादन हुने देखिएको हो ।

नेपालको परिवेशमा आत्महत्या

उल्लिखित तथ्यांकहरुका आधारमा नेपालको तथ्यांक भने पूर्ण रुपले सही ठहर्दैन । सामान्यतः हेर्दा नेपालमा महिलाहरु बढी पिडित छन् । त्यसका सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणहरु पनि छन् । यति हुँदा हुँदै पनि आत्महत्याको दरमा भने पुरुषहरुका तुलनामा महिलाहरुको आत्महत्या दर कम देखिएको छ । अनुसन्धेय कुरा कहाँ छ भने, यस्तो किन भयो, बढी भईरहेको छ तर समाजमा प्रकट नहुनुले त होइन ? नेपालकै पहाड र तराईको तुलना गर्दा तराईमा दाइजो प्रथा बाट पिडित बढी महिलाहरुमा हत्या र आत्महत्या दुवै बढी देखिएको छ । तर पहाडी र उच्च पहाडी भेगमा भने पुरुषहरुको विभिन्न किसिमका प्रताडनाहरुबाट महिलाहरु बढी पिडित छन् र कतिपय अवस्थामा आत्महत्या जस्तो जघन्य वृत्तिमा अग्रसर हुन्छन् ।

वर्तमान तथ्यांकलाई हेर्दा विगत छ महीना यता, पुरुषहरुको आत्महत्या ५७१ र ३९६ महिलाहरुले आत्महत्या गरेको देखिन्छ । नेपालका सन्दर्भमा अहिलेसम्मको जुन तथ्यांकले पुरुषहरुको मृत्युदर बढी देखिएको छ भने महिलाको कम देखिएको छ । तर, विगत केही वर्ष यता तथ्यांकले के पनि देखाइरहेका छन् भने, महिलाहरु अत्यन्त न्यून प्रतिशतले भएपनि उनीहरुको आत्महत्या दर बढ्दै गएको देखिएको छ । र यस आधारमा के प्रक्षेपण गर्न सकिन्छ भने, आउँदो पाँच दश वर्ष भित्रमा कि त समान नभए न्यून प्रतिशतले मात्रै भएपनि महिला मृत्युदर बढी हुने देखिन्छ । यस्तो किन हुँदै छ भन्ने कारणहरु लाई नियाल्दा आधुनिकीकरण, महिला पुरुष एकै हुन् भन्ने जस्ता स्वैरकल्पना पनि हुनसक्छन् । यस बारेमा अरु अनुसन्धानहरु पनि आउँदै जाने छन् ।

निचोड

महिला र पुरुष को दाँजो गर्नु र एउटै तराजुमा हालेर हेर्नु पनि गलत हुनसक्छ । तर आत्महत्या भन्ने विषय निकै संवेदनशील भएको हुनाले र यी सबै आधारहरुलाई विश्लेषण गर्दा एउटा निचोडमा पुग्न भने सकिन्छ ।

तर केही वर्ष यता देखि महिला आत्महत्या दरको वृद्धिले सामाजिक, आर्थिक राजनैतिक मनोवैज्ञानिक कारणहरु यसमा कारक हुनसक्छने । यस सन्दर्भमा संक्षेपमा के भन्न सकिन्छ भने वर्तमानमा देखिएका समतामूलक नारा, नास्तिकताको पक्षपोषण र स्वाभिमान भन्दा अभिमानकालाई प्रोत्साहित गर्नुले पनि यो परिस्थिति सिर्जना भएको छ । पुरुषहरु महिला भन्दा बढी आत्महत्या गर्ने भएपनि, माथिका कारणहरुलाई नियाल्दा कतै महिला पनि पुरुष सरह नै मानसिक रुपले अव्यस्थित भइरहेका त छैनन् भन्ने प्रश्नले हाम्रो समाजको संरचनालाई ठूलै प्रश्न गर्छ ।

यो विषयलाई एउटा वैचारिक धरातलमा विश्लेषण गर्दा दिमाग र त्यसका अंग प्रत्यांगलाई मिहिन रुपले नियाल्ने हो भने, रीस, द्वेष माथि काबु पाउने हो भने आत्महत्या जस्ता घटनाहरु घट्ने छन् । अनुसन्धानकर्ताका अनुसार आत्महत्या गर्नु अघि, उक्त व्यक्तिले आफ्नो सामुन्ने एकदमै रिसाएको व्यक्ति देख्ने रहेछ । त्यही रिसाएको व्यक्तिले अझ आत्महत्या गर्नमा प्रश्रय दिने रहेछ । त्यही रिसयुक्त भावनामा कन्ट्रोल पाउनु आत्महत्या जस्ता अप्रत्यशित घटना लाई पनि रोक्नु हो । तर त्यसरी रिसाएको व्यक्ति देख्नु मात्र कारण नहुन सक्छ ।

त्यो रीसको आवेगमा आएर मानिस आत्महत्या गर्ने निर्णयमा पुग्दो रहेछ । यस्ता मानवीय अवगुणलाई वशमा राख्न अध्यात्म र मानवीय चेतनाको आवश्यकता पर्दछ । त्यस्ता अध्यात्मिक चेत र मानिसको शरीर र शक्तिलाई एउटा स्वस्थकर बाटो दिनु भनेको ध्यान र योगलाई आत्मसात् गर्नु पनि हो । सामाजिक तरिकाले उथलपुथल दिमाग वा बायलोजिकल तरिकाले अव्यवस्थित दिमागको काबु भनेको अध्यात्मिक चेत नै हो । संसारमा, योग र ध्यानका बारेमा थुप्रै अनुसन्धानहरु भइरहेका छन् । र अधिकांश अनुसन्धानले योग र ध्यानका पक्षलाई मेडिकल पक्षबाट पनि समर्थन गरेका छन् । महिला वा पुरुष दुवैको वस्तु स्थितिलाई नियाल्दा योग र ध्यान जत्तिको औषधि अरु देखिएको छैन । अब यो कसरी गर्ने, के गर्ने भन्ने कुरा फेरी अर्कै अनुसन्धान र अध्ययनका पाटा हुन् ।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्