नेपाल भारतबीच कालापानी–लिम्पियाधुरा विवादपछि पहिलोपटक वार्ताकाे तयारी

फाइल तस्बिर

काठमाडौँ – कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबीच आउँदो हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ।

नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

काठमाडौँमा हुने छलफलमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गर्ने छन् ।

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना रहेको छ । औपचारिक रुपमा बैठकको मिति घोषणा नभए पनि अगस्त १८ अर्थात भदौ २ गते गर्ने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौड्यालले देश सञ्चारसँग भने, ‘परियोजनाहरुको मूल्यांकन सम्बन्धमा द्विपक्षीय बैठक गर्ने बारे कुराकानी भइरहेको छ । तर सो बैठकबारे ठोस निर्णय भएको छैन । अहिले नै यहि मितिमा बैठक हुन्छ भन्ने अवस्था छैन ।’

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्