प्रदेश–१ मा ४८ जना कोरोना संक्रमित थपिए

माेरङ– प्रदेश १ मा गएको २४ घण्टाभित्र कोरोना भाइरसका ४८ जना नयाँ संक्रमित थप भएका छन्।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४ जना संक्रमित थप भएका छन्। त्यसैगरि सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ पुरुष रहेका छन्।

विराटनगर महानगरपालिको विभिन्न वडामा गरी १२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यसैगरि मोरङकै रंगेली नगरपालिकामा ३ महिला र ७ पुरुषमा समेत संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा ५ पुरुष र ४ महिला, दुहबी नगरपालिकामा ३ पुरुष, कोशी गाँउपालिकामा २ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

झापाको मेचीनगर नगरपालिकामा ३ पुरुष र ३ महिला, भद्रपुर नगरपालिकामा ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। त्यसैगरि स्थानीय नखुलेको अवस्थामा २ पुरुष, प्रदेश २ को गौरका १ पुरुषमा समेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना संक्रमित निको भएर घर फर्किएका छन्। प्रदेशमा संक्रमित निको भएर घर फर्कनेको संख्या १ हजार १८ पुगेकाे छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा आज १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्