बेलारुसमा प्रदर्शनः प्रहरी हिरासतमै एकजनाको मृत्यु

बेलारुसमा एक प्रदर्शनकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ । विवादास्पद राष्ट्रपतीय चुनावपछि गएको आइतबारदेखि सुरु भएको प्रदर्शनको क्रममा अहिलेसम्म दुईजनाको ज्यान गइसकेको छ ।

गोमेलमा रहेको प्रहरी हिरासतमा २५ वर्षका व्यक्तिको मृत्यु भएको हो । सरकारी अधिकारीले मृत्यु कारण थाहा नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर ती युवाकी आमाले भने आफ्नो छोरालाई मुटु सम्बन्धी समस्या रहेको र प्रहरीले घण्टौँसम्म भ्यानमा राख्दा समस्या भएर उनको निधन भएको हुन सक्ने बताएकी छन् ।

प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ र प्रहरीले ज्यादती गरेको अभियोग लागेको छ । प्रहरी भने आफूहरुमाथि आक्रमणपछि मात्रै बल प्रयोग गरेको दाबी गर्छ ।

संयुक्त राष्ट्रसंघले प्रदर्शनकारीमाथि प्रशासनद्वारा भइरहेको बल प्रयोगको आलोचना गरेको छ । प्रहरीको बल प्रयोगका कारण कम्तीमा २०० प्रदर्शनकारी घाइते भएको र त्यस मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्