सञ्जय दत्तका लागि प्रार्थना गर्नु होला, अफवाह नफैलाउनु : मान्यता दत्त

फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता सञ्जय दत्तकी श्रीमती मान्यता दत्तले कुनै पनि प्रकारको अफवाह नफैलाउन र त्यसको पछि नलाग्न अपिल गरेकी छन् ।

उनले बुधबार एक वक्तव्य जारी गरेर सञ्जय दत्तको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म सञ्जुका फ्यानसँग आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारको अफवाह वा अड्कलको पछि नलाग्नु होला । म चाहन्छु कि तपाईँहरु सबै यसैगरी माया र साथ दिइरहनु होला । पछिल्ला केही वर्षमा हाम्रो परिवारले धेरै समस्या झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रिने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि फाइटर रहेको छ । भगावनले फेरि हाम्रो सामु चुनौति खडा गरेर परीक्षा लिँदै हुनुहुन्छ ।’

मान्यताले भनेकी छन्, ‘यो समय हामीलाई हजुरहरुको आशिर्वाद र प्रार्थना चाहिएको छ । तपाईँहरुको सहयोगमा सधैँ झैँ विजेता बनेर आउने छौँ । यो समयको प्रयोग सकारात्मकता फैलाउनका लागि गर्नु होला ।’

मंगलबार अभिनेता दत्तले स्वास्थ्यका कारण चलचित्रबाट ब्रेक लिएको बताएका थिए । तर उनले रोग भने खुलाएका थिएनन् ।

उनी अगस्ट ८ मा उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोमबार उनी डिस्चार्ज भएका थिए।

६१ वर्षका अभिनेता क्यान्सरको उपचारका लागि अमेरिका जाने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको फोक्सोको क्यान्सर स्टेज फोरको रहेको बताइएको छ ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्