सौराहामा पर्यटकः फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई हप्तामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारदेखि बन्द भएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेदेखि बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए ।

कर्मचारी बोलाएर सरसफाई, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ ।

उनले भने, ‘हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गर्नुप¥यो ।’ रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाई छ ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दसैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उहाँको भनाई छ ।

होटलसँगै रेष्टुरा पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुरामा ग्राहक नआउने व्यवसायीको भनाई छ । सौराहामा ११० होटल रहेका छन् ।

यसैगरी साना ठूला १०० हाराहारी रेष्टुरा छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्