कोरोना संक्रमणको हटस्पट पर्सामा संक्रमितको संख्या एक हजार भन्दा धेरै, अहिलेसम्म २२ जनाको मृत्यु

वीरगञ्ज – कोरोना भाइरस महामारीको ‘हटस्पट’ बनेको पर्सामा संक्रमितको संख्या (साउन २८ गते बेलुका पाँच बजेसम्मको तथ्यांक अनुसार) एक हजार भन्दा बढी पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ४२ पुगेको छ ।

जिल्लामा पुष्टि भएका संक्रमित मध्ये ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, चारजना पत्रकार, ८३ कैदी–थुनुवा तथा २० जना अस्पताल सफाइकर्मी समेत रहेका छन् । संक्रमित हुनेमा १५ जना भारतीय नागरिक पनि छन् ।

उनीहरु पर्सामै रहेको बेलामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये कुल २ सय ४५ जना उपचार पशचात निको भई घर फर्केका छन् । कोरोना संक्रमणका कारण जिल्लामा २२ जनाको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

सवा तीन सय संक्रमति होम आइसोलेशनमा

पर्सामा निरन्तर बढिरहेको कोरोना संक्रमितहरुको संख्याका कारण बेडको अभावमा पर्साका ३ सय २५ जना कोरोना संक्रमितहरु घरमै होम आइसोलेशनमा बसेका छन् ।

हाल एक सय ६७ जना विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका छन् । जसमा अस्थायी गण्डक कोभिड अस्पतालमा १० महिला र ५५ पुरूषसहित ६५ जना र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १९ महिला र ८३ पुरूषसहित एक सय २ जना संक्रमितहरुको उपचार भइरहेको छ ।

यसैगरी पर्सा जिल्ला भरी ५ सय भन्दा बढी आइसोलेशन बेडहरु रहेकोमा वीरगञ्जको बसपार्क स्थित रानीपोखरी होटेलको आइसोलेशनमा ३४ जना, रानीसती धर्मशालामा ४१ जना, वीरगञ्ज कारागारमा रहेको आइसोलेशन सेन्टरमा ३८ जना र जिल्लाका अन्य आइसोलेशन सेन्टरमा ९४ जना संक्रमित रहेका छन् ।

संक्रमण बढदै जाँदा जिल्लामा हालसम्म पीसीआर जाँचका लागि १४ हजार ८ सय ३४ वटा स्वाब संकलन गरिएको छ । जिल्लाभरि अहिले बनाइएका क्वारेन्टिनमा कुल बेड संख्या एक हजार २ सय ४५ रहेकोमा हाल क्वारेन्टिनमा ३७ महिला र १ सय २ पुरूषसहित एक सय ३९ जना बसेका छन् ।

खुल्ला सिमानाका कारण पर्सामा संक्रमितको संख्या बढ्दो

भारतसँग जोडिएको खुल्ला सिमानाका कारणले पर्सामा संक्रमितको संख्या बढिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतसितको लामो खुला सीमाको कारण अनेक प्रयासका बाबजुत लुकिछिपी हुने मानिसहरुको आवातजावत रोक्न नसकिएकाले पनि संक्रमितहरुको संख्या बढेको हो ।

बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश कर्मचारी कामदारको बासस्थान वीरगंज महानगर भएको, अति आवश्यक लगायतका दैनिक ४–५ सय ढुवानीका साधानहरू नेपाल प्रवेश गर्दा चालक, सहचालक तथा लोड, अनलोडमा संलग्न हुने मजदुर संक्रमणको उच्च जोखिममा रहेका छन् ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू