ओली–प्रचण्डबिचको अवरुद्ध वार्ता नौ दिनपछि पुनः सुरु

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबिच अवरुद्ध भएको संवाद पुनः सुरु भएको छ।

गएको हप्ताको मंगलबार (साउन २० गते) प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो ।

ओली र प्रचण्डबिच प्रधानमन्त्री निवासमा छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओलीविरुद्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँडिएको थियो ।

त्यसपछि आफ्ना ६ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि प्रचण्ड आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए ।

ओली–प्रचण्डबिच संवाद हिनताको अवस्था रहेका बेला नेकपाका दोस्रो तहका नेताहरु भने पार्टी भित्रको आन्तरिक कलह अन्त्य गर्ने प्रयासमा जुटेका थिए ।

महासचिव विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, जनार्जन शर्मा, वर्षमान पुनसहितका नेताहरुले विवाद समाधानका लागि कोशिश गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाँच दिन भित्र पार्टी भित्रको ‘सिनारियो’ परिवर्तन हुने दाबी गरेका छन्।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्