रातोमाटे–बतासे–काभ्रे सडक अझै अवरुद्ध

फाइल तस्बिर

ललितपुर – दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध छ । साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण त्यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सो सडकखण्ड बिस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँबासीले समस्या भोग्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भने, ‘यहाँ करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँबासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।’

सो सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करिब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी दिए ।

यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्