अयोध्यामा मोदीसँगै भूमि पूजामा सहभागी राम मन्दिर ट्रष्टका अध्यक्ष नित्य गोपाल दासलाई कोरोना

राम जन्मभूमि ट्रष्टका अध्यक्ष महन्थ नित्य गोपाल दासलाई कोरोना भाइरसको संक्रमण भएको छ।

८२ वर्षीय गोपाल दास बुधबार कृष्ण जन्माष्टमी मनाउनका लागि मथुरा पुगेका थिए। बिहीबार बिहान अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी ८ दिनअघि अगष्ट ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राम मन्दिरको भूमि पूजनमा सहभागि भएका थिए। उनी करिब एक घण्टा मोदीसँगै मञ्चमा बसेका थिए।

उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि मेदान्त अस्पताल पठाइएको बताइएको छ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्