माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोसँग अन्तर्वार्ता

‘चितवनको माडीसँग भगवान् रामको सम्बन्ध रहेको यथेष्ट प्रमाण छन्’

भगवान राम नेपालमा जन्मिएको दावी गर्दै भारतले नक्कली अयोध्या खडा गरेको भनेर अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा समेत आलोचना भइरहेको छ।

आफूलाई राष्ट्रवादी देखाउन उनले धार्मिक आस्थासँग जोडिएको विषयमा ‘अन्टसन्ट’ बोलेको आरोप छ। यहीबीच प्रधानमन्त्री ओलीले चितवनको माडी नगरपालिकाका प्रमुख, उपप्रमुखलाई गत शनिबार बालुवाटार बोलाएका थिए।

माडी भगवान रामको वास्तविक जन्मभूमि भएको दाबी गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो अडानलाई देखाउन त्यहाँका जनप्रतिनिधिलाई बोलाउनु अर्को ‘मुभ’ थियो। प्रधानमन्त्री ओलीसँग भएको करिब दुई घण्टा लामो साक्षात्कारमा सहभागी माडीका उपप्रमुख ताराकुमारी काजी महतोसँग देशसञ्चारले कुराकानी गरेको छ।

१. प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको भनेर अभिव्यक्ति दिनुअघि स्थानीयस्तरमा रामको जन्मस्थलबारे चर्चा भएको थियो कि थिएन? 

– माडी नगरपालिका-१ मा रहेको गोडदक धाममा हरेक रामनवमीमा ठूलो मेला लाग्ने गरेको छ। यो वर्षौँदेखिको चलन हो। नजिकै बाल्मिकी आश्रम पनि छ। माडी नगरपालिका-९ मा राम सीता गुफा पनि छ जसमा ससाना मूर्तिहरु रहेको देख्न सकिन्छ।  रामको जन्मभूमि नै हो भनेर चर्चा थिएन तर यो ठाउँसँग रामको कुनै सम्बन्ध रहेको हुन सक्छ भन्नेमा स्थानीयस्तरमा कुराकानी चाहिँ हुन्थ्यो। राम नवमीमा त्यहाँ मेला लाग्नु, नजिकै बाल्मिकी आश्रम हुनु, राम सीताको गुफा रहनुले रामको कुनै न कुनै सम्बन्ध रहेको कुरा नकार्न सकिँदैन।

२ . यस विषयमा प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनुअघि स्थानीय जनप्रतिनिधिसँग कुराकानी गर्नु भएको थियो ? तपाईँहरुलाई त अब चुनौती थपियो नि? 

– कुराकानी त भएको थिएन। तर प्रधानमन्त्रीको कुरालाई हामीले अस्वभाविक रुपमा लिएका छैनौँ। यो अध्ययनको विषय हो। हामील‍े एक महिनाअघि राम जन्मभूमि खोज अनुसन्धान समिति गठन गरेका छौँ। यो समितिले राम र यस भूमिसँग जोडिएका विभिन्न विषयको खोज र अनुसन्धानमा सहयोग गर्ने छ। त्यसैले यो चुनौती भन्दा पनि तथ्यहरुको उत्खनन् गर्ने बेला हो। प्रधानमन्त्रीले पनि भन्नु भएको छ- हजारौँ वर्षका कुराहरुलाई अहिले स्थलगत प्रमाणित गर्न सकिँदैन यसमा शास्त्र हेरेर अध्ययन र विश्लेषण गर्नुपर्छ। हामीले स्थानीय पुराना थारु बासिन्दासँग कुरा गर्दा रामनवमीमा मेला लगाउने चलन निकै पुरानो भएको बताउनु भएको छ।

३. तपाईहरुलाई प्रधानमन्त्रीले किन बोलाउनु भएको रहेछ ? 

-प्रधानमन्त्रीज्यूले बोलाएपछि हामी माडीका प्रमुख, उपप्रमुख, प्रवक्ता, राम जन्मभूमि खोज अनुसन्धान समितिका प्रतिनिधिसहित ८ जना काठमाडौं आएका थियौँ। हामीसँगको कुराकानीमा प्रधानमन्त्रीज्यूले रामको जन्मभूमि माडी नै भएको दोहोर्‍याउनु भयो। उहाँले माडीमा रामनवमीका दिन ठूलो मेला लगाउनुपर्छ भन्नु भयो। यस्तै त्यहाँ राम मन्दिर बनाउन पनि निर्देशन दिनु भएको छ। यो वर्ष सम्भव नभएपनि अर्को रामनवमीसम्म मन्दिर बनाइ सक्नुपर्छ भन्नु भएको छ। उहाँले राम, सीता र हनुमानको मूर्ति आफूले उपलब्ध गराउने बताउनु भयो। अब हामी उपयुक्त जग्गा खोज्ने, डिपीआर बनाउने काम अगाडि बढाउछौँ।

४. राममन्दिर बन्दैमा, रामनवमीमा पूजा लगाउँदैमा रामको जन्मभूमि स्थापित हुन्छ र? 

-हामीले रामको जन्मभूमिभन्दा पनि रामभूमिका हिसाबले त्यहाँ मन्दिर बनाउन लागेका हौँ र मन्दिर बनाउने कुरा प्रधानमन्त्रीले भनेपछि मात्र आएको होइन। हामीले धेरै अघिदेखि प्रयास गरे पनि आर्थिक अभावका कारण यो सम्भव भएको थिएन। रामसँग जोडिएका त्यहाँ हुने मेला, गुफा, बाल्मिकी आश्रमले पनि त्यहाँ एउटा राम मन्दिरको औचित्य पुष्टि गर्छ। रामको जन्मभूमिका विषयमा सोधखोजसहित अगाडि बढ्न सकिन्छ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्