शवले खोक्दैन, सास फेर्दैन र हाच्छ्यूँ पनि गर्दैन: स्वास्थ्य मन्त्रालय

काठमाडाैँ– स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना भाइरसको संक्रमण नसर्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शवले नखाेक्ने, सास नफेर्ने र हाच्छ्यूँ पनि नगर्ने भएकोले शवबाट कोरोना नसर्ने बताएका हुन्।

‘शवले नखाेक्ने, सास नफेर्ने र हाच्छ्यूँ पनि नगर्ने भएकोले शवबाट डाइरेक्ट कोभिड–१९ सर्दैन। यदी शवबाट कुनै तरल पदार्थ निस्केको छ र त्यो छोएर राम्ररी हात धोएन भने मात्रै कोरोना सर्छ। कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्यष्टिमा स‌ंलग्न हुनेले हात धुने, पञ्जा प्रयाेग गर्ने, मास्क लगाउने लगायतका सावधानी अपनाउनु पर्छ’, प्रवक्ता डा. गाैतमले भने।

साथै परिवारका सदस्य तथा शुभेच्छुकले हेर्न चाहेमा अनुहार मात्रै देखाउने, तर  शवलाई मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न नहुने प्रवक्ता डा. गाैतमले बताए।

अन्त्येष्टिका क्रममा शवलाई कपडाले छोप्ने, मृतकको नाक र कानमा कपास राख्ने लगायतका सावधानी अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयको सुझाव छ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्