नेपाल बारले भन्योः अदालतको सेवा रोकौँ

काठमाडौँ– नेपाल बार एशोसियसनले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अदालतमा मुद्दाको सुनुवाई स्थगित गर्न सुझाव दिएको छ।

दिनदिनै कोरोनाको संक्रमण बढ्दै जाँदा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरु नै संक्रमित भइरहेको अवस्थामा भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका सेवा देशैभरका अदालतमा बन्द गर्न बारले माग गरेको हो।

बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढेकाले सुनुवाई स्थगित गर्न माग गरेका हुन्। सर्वोच्च अदालतमा कार्यरत सुरक्षाकर्मीमा संक्रमण देखिएपछि बुधबारदेखि न्यायाधीशहरु नै आइसोलेसनमा बस्न थालेका छन्।

त्यस्तै जिल्ला अदालतहरुमा पनि न्यायाधीश तथा कर्मचारी संक्रमति भइरहेको खबर सार्वजनिक भइरहेको छ। केही दिनयता मोरङ, बाँके लगायतका जिल्लाका न्यायाधीशलाई संक्रमण भएको पाइएको छ।

सर्वोच्चले साउन २५ गतेदेखि अदालतको सेवामा संकुचन ल्याउने गरी सुनुवाइ तोके पनि बारले त्यसलाई अझ घटाउन सुझाव दिएको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्