विराटनगरमा थप एक साता बढाइयो लकडाउन

माेरङ– कोरोना भाइरसकाे संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले लकडाउनको अवधि थप एक साता बढाएकाे छ। गत साउन १६ गतेबाट सुरु भएको लकडाउनको अवधि शुक्रबार सकिँदैछ।

बिहीबार महानगरपालिकामा बसेको सीसीएमसीको बैठकले लकडाउनलाई भदौ ५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए। बैठकमा महानगरले बैजनाथपुरस्थित क्वारेन्टिनलाई ७० बेडको आइसोलेसन बनाइएको बताएका मेयर पराजुलीले संक्रमितको पीसीआर परिक्षणका लागि महानगरले मेशीन खरिद गर्ने बताए।

महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले महानगरमा नागरिक सचेत हुन आवश्यक रहेको बताए। हालसम्म महानगरले ४ हजार २ सय ७२ वटा पीसीआर नमूना परीक्षण गरिएको बताएका प्रमुख कार्कीले महानगरमा ४ सय १४ जना संक्रमित पुष्टि भइसकेको बताए।

बिहीबार एकैपटक ५९ जनामा संक्रमण पुष्टि भएको बताउँदै कार्कीले स्थिति खराब हुनुभन्दा केहीसमय थप सुरक्षित घरमै बस्नु पर्नेमा जोड दिए। साउन १६ गते अघि महानगरमा १ सय ८ जना संक्रमित भएको बताएका कार्कीले त्यसयता १२ दिनमा ३ सय ६ जना संक्रमित थप भएको बताए।

महाशाखाले यसबीच १ हजार ६ सय ४० वटा पीसीआर नमूना परिक्षण गरिएको जनाएको छ। साउन १६ अघि २ हजार ६ सय ३२ वटा पीसीआर नमूना संकलन गरिएको थियो। महानगरपालिकामा कोरोना भाइरसबाट हालसम्म ४ जनाको मृत्यु भएको छ।

त्यसैगरि ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएको महाशाखाले जनाएको छ।

त्यस्तै संक्रमितमध्ये ४९ जना होम आइसोलेसनमा रहेका छन्। ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन्। लकडाउन संक्रमण नियन्त्रणका लागि प्रभावकारी भएकाले नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू