दाहाल नेपाल समूहको गुट भेला तीव्र

फाइल तस्बिर

काठमाडौँ – पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले बैठक नै राख्न नमानी रहेका बेला उनी इतर पक्षले गुटगत भेला तीव्र पारेका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेशगत रुपमा आफू निकट केन्द्रीय सदस्यहरु छलफल अघि बढाएका हुन्।

बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका दाहाल, नेपाल, खनाल र प्रवक्ता नाराणकाजीले बिहीबार ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका हुन्।

ओली पक्षले मदन भण्डारी फाउण्डेशनको नामबाट जिल्ला जिल्लामा गुटगत सक्रियता जनाइ रहेका बेला दाहाल नेपाल पक्षले तल्ला तहमा आफ्नो उपस्थित र भावी रणनीतिबारे प्रदेशगत रुपमा छलफल अघि बढाएका हुन्। थापा गाउँस्थित एक कलेजमा बिहीबारको भेलामा प्रदेश ५ का डेढ दर्जन केन्द्रीय सदस्य उपस्थित थिए।

भेलामा दाहाल नेपालले पार्टीमा भइरहेको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैली र चिन्तनका कारण समस्या आएकाले उहाँले नै निकास दिनुपर्ने बताएको उपस्थित एक केन्द्रीय सदस्यले जानकारी दिए।

दाहालको नाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आजबाट पुन छलफल सुरु भएको छ। उहाँलाई एक पदबाट कुनै हालतमा राजीनामा गराइ छाड्ने रणनीतिका साथ हामी अघि बढेका छौैँ।’

बिहान ओलीले कार्यकारी अध्यक्षको भूमीका बढाउने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजक समिति बनाउने, चैतमै महाधिवशेन गर्नेलगायतका प्रस्ताव राखेको बताए। आफूले ‘अरु साथीहरुसँग छलफल गरेर जवाफ दिने’ बताएको दाहालले उपस्थिति केन्द्रीय सदस्यलाई जानकारी गराए।

केन्द्रीय सदस्यहरुले नेताहरुको छलफलबाटै समस्याको समाधान निकाल्दै पार्टी विभाजन हुन नदिन आग्रह गरेका थिए। बिहीबारको भेलामा नेपाल पक्षका स्थायी कमिटि सदस्यहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, देव गुरुङ पनि सहभागी थिए।

ओलीले बुधबार एक टेलिभिजन अन्तरवार्तामा अबको पाँच दिनभित्र नेकपाभित्रको सिनारियो अर्कै हुने दाबी गरेका थिए।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्