न्यायाधीशसँगको सम्पर्कमा रहेकाको कोरोना रिपोर्ट नआउँदा अझै खुलेन अदालत

मोरङ जिल्ला अदालत। तस्बिर: अभयकुमार राई

मोरङ-  कोरोना भाइरस कोभिड १९ को आशंकामा चार दिनअघि संकलन गरिएको पिसिआर नमूनाको रिपोर्ट आउन नसक्दा जिल्ला अदालत मोरङ पुनः खुल्न सकेको छैन।

सोमबार अदालतको न्यायाधीशमा कोरोना संक्रमण देखिएको बन्द रहेको अदालत बिहीबारसम्म पनि सञ्चालनमा आउन नसकेको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकरी दिए।

सूचना अधिकारी पौडेलका अनुसार न्यायाधीशसँग सम्पर्कमा रहेका ५० जनाको नमूना संकलन गरिएको भएपनि रिपोर्ट आइनसक्दा काम सुरु गर्न नसकिएको हो । उनले हालसम्म ८ जना कर्मचारीको नेगेटिभ रिपोर्ट आएको भएपनि अरुको बाँकी नै रहँदा अदालत खुल्न नसकेको बताए ।

आइतबार तीन कर्मचारी र एक न्यायाधीश गरी चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । त्यसैगरी बाँकी तीन कर्मचारीको रिपोर्ट भने नेगेटिभ नै आएको पौडेलले जानकारी दिए । आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि आइतबार स्वाब परीक्षण गराएका थिए ।

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो । अदालतका सूचना अधिकारी पौडेलले सोमबारबाट बन्द भएका काम कारबाही बिहीबारबाट सञ्चालनमा आउने भनिए पनि कर्मचारीको पीसीआर रिपोर्ट प्राप्त नहुँदा र विराटनगर महानगरपालिकामा लकडाउन जारी रहँदा अदालत सञ्चालनमा आउन नसकेको प्रस्टाए ।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्