कोरोना भाइरसको सङ्क्रमणले प्रदेश थलिँदै, मुख्यमन्त्री राई उद्घाटनमा व्यस्त

झापा देशभर कोरोना भाइरस सङ्क्रमणको महामारीले स्वास्थ्य प्रणालीलाई धावा बोलिरहेको अवस्था छ। यो बेला राज्य सञ्चालन गर्ने व्यक्तिहरूको सम्पूर्ण काम त्यतातिर केन्द्रित हुनुपर्ने हो। तर शासन गर्नेहरू अरु नै कुरामा अल्मलिएको अवस्था छ।

प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस सङ्क्रमणको हटस्पट बनेको छ। अहिले प्रदेश १ का अन्य स्थानमध्ये राजधानी विराटनगरमा धेरै स्थानीय सङ्क्रमित भेटिएका छन्।

यही बेला मुख्यमन्त्री शेरधन राई धेरै दिन काठमाडौं बसे। जब फर्केर आए, सङ्क्रमण रोक्नका लाई भन्दै एउटा जुम मिटिङ गरे अनि दलबलका साथ उद्घाटन कार्यक्रममा हिँड्न थाले।

यो बेला प्रदेश १ नागरिकको प्रश्न छ, ‘के बितेको छ उद्घाटन कार्यक्रममा सहभागी हुन?’

कोरोना भाइरस समुदायमा फैलिसकेको कुरा मुख्यमन्त्री राईले बजेट अधिवेशन अन्त्यको सम्वोधनमा बताएका थिए।

उनले गत चैत २१ गते विराटनगरमा कोभिड–१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश १ मा कोरोना भाइरसका कारण विना उपचार कसैले ज्यान गुमाउनु नपर्ने बताएका थिए।

तर, प्रदेश १ मा कोरोना संक्रमणकै कारण हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।

संघीय सरकारले २५ जना भन्दा बढी भेला नहुन तथा भीडभाड हुने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरे पनि संघीय सरकारको अनुरोधलाई प्रदेश १ का मुख्यमन्त्री राईले नै खिल्ली उडाएका छन्।

बिहीबार झापाको अर्जुनधारामा दलवलसहित आइपुगेका मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सन्देश फैलाउन भन्दा ९ वटा कार्यक्रममा सहभागी भएर उद्घाटन र अनावरणमै दिन बिताए।

तर आइसोलेसनको अभावमा प्रदेश १ सङ्क्रमित घर/घरमा बस्न बाध्य छन्।

कालोपत्रे सडकको उद्घाटनसँगै दूग्ध संकलन तथा चिस्यान केन्द्रको उद्घाटन, भगवान कृष्ण र अर्जुनको प्रतिमा अनावरण, पार्टी कार्यकर्ताहरुसँगै नगरका उद्योगी, व्यापारी र सहकारीकर्मीहरुसँग भेटघाटलगायतका कार्यक्रममा मुख्यमन्त्री राई सहभागी भएका हुन्।

मुख्यमन्त्री राईले मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत अर्जुनधारा–९ स्थित माता मन्दिर–कृष्ण प्रणामी मन्दिर हुँदै छिमेकी पालिका बुद्धशान्ति–२ जयपुर जोडिने कालोपत्रे सडकको उद्घाटन गरेका थिए।

साउन ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू