कोरोना महामारीबीच पीएचडी अध्ययनरत सम्झनाले सुरु गरिन् चियापसल

‘स्यामिज टी कप्स मीठो चिया'की सञ्चालक सम्झना शाक्य।

काठमाडाैँ– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा गम्भीर असर गरेको छ।

गत चैत ११ गतेदेखि देशव्यापी रुपमा गरिएको लकडाउन सकिए पनि उपत्यकामा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले व्यवसायहरु ठप्प छन्। यसै पनि नेपालको अर्थतन्त्र खासगरी उत्पादनमुखीभन्दा पनि व्यापारमुखी छ। कोरोना भाइरसले धेरै समस्या निम्त्याएको छ जुन समस्याहरुले तत्कालीनभन्दा पनि दीर्घकालीन असर गर्छ।

यसैबीच पाटनकी सम्झना शाक्यले भने चाबहिलस्थित सरस्वतीनगरमा ‘स्यामिज टी कप्स मीठो चिया’ शुक्रबार उद्घाटन गरेकी छन्।

उनी अहिले अमेरिकाको ‘युनिभर्सिटी अफ अर्कान्सास फर मेडिकल साइन्स’ बाट पब्लिक हेल्थमा पीएचडी गर्दैछिन् र अहिले पढाइकै क्रममा नेपाल आएकी हुन्। लामो समय उनले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा जनस्वास्थ्य अधिकृतको रुपमा काम गरिन्।

त्यसै क्रममा स्कलरसिप पाएपछि उनी अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीमा पब्लिक हेल्थमा मास्टर्स गर्न गएकी थिइन्। तर समयले उनलाई भिन्न बाटोमा डोर्‍याएको छ।

सम्झना भन्छिन्, ‘हामी नेपाली चियाको पारखी छौँ तर पैसा हुँदाहुँदै पनि कहिलेकाहीँ मीठो चिया खान पाउँदैनौँ। त्यही आवश्यकतालाई महशुस गरेर म र मेरो टिमले स्यामिज टी कप ‘मीठो चिया’ को कन्सेप्ट ल्याएका हौँ।’

यो उनको पहिलो व्यवसाय हो। तर जनमानसमा घुल्ने खालको उनको पढाइ पनि भएकाले उनमा केही गर्न सक्छु भन्ने आत्मविश्वास छ।

पारिवारिक जमघट होस् या साथीहरुसँगको भेट अथवा अफिसियल मिटिङ नै किन नहोस्, अनिवार्य हिस्सा नै बनेको छ चिया। सम्झनाले पनि चिया पारखीहरुलाई मध्यनजर गर्दै यो व्यवसाय सञ्चालन गरेकी हुन्।

सम्झना २०१४ देखि २०१९ को सुरुवातसम्म करिब ५ वर्ष अमेरिका बसिन्। उनको त्यो बसाइको अनुभव अनुसार ‘कस्टमर केयर’मा नेपाल धेरै नै पछि छ। उनका अनुसार बाहिर देशको तुलनामा नेपालमा ग्राहकहरुलाई रेस्पेक्ट दिइँदैन र ग्राहकको आवश्यकतााई पनि महशुस गरिँदैन।

सम्झना थप्छिन्, ‘कहिलेकाहिँ पसलमा सामान किन्न जाँदा मेरो मुख नै नहेरी पैसा फिर्ता गर्नुहुन्छ। धन्यवाद, आउनुस्, बस्नुस्, जस्ता कुराहरु त कसैले पनि भन्न जानेकै छैन। त्यसैले मैले यो क्याफेको कन्सेप्ट ल्याउँदा बेस्ट कस्टमर केयर दिन्छु र आफूले देखेर, सिकेर अनि भोगेर आएको कुरालाई नेपालमा लागू गर्ने कोशिश गर्छु भन्ने सोचाइ लिएको थिएँ।’

उनका अनुसार नेपालमा धेरै अवसरहरु छन् तर सही तरिकाले मानिसहरुले प्रयोग गर्न जानेका छैनन्।

स्लोगन नै ‘मीठो चिया’ भएकाले स्यामिज टी कप्सको प्रमुख विशेषता चिया हो। त्यसबाहेक यहाँ भेजिटेरियन ग्रीन मोःमो, योमरी, नेवारी समेबजी, पनिर आदि पाइन्छ।

कोरोना महामारीका बीच सरकारले गरेको लकडाउनलाई उनले सकारात्मक रुपमा लिएकी छन्। त्यसैले यहाँ ‘टेक अवे’को पनि व्यवस्था गरिएको छ। स्यानिटाइजर र मास्कलाई गेटमै राखिएको छ।

सम्झना भन्छिन, ‘लकडाउनको समयमा यसरी व्यवसायमा हात हाल्दा घाटा त पक्कै पनि लाग्छ होला तर जीवनभन्दा ठूलो घाटा चाहिँ लाग्दैन। मैले आफूले आफैँलाई पनि प्रश्न गरेको थिएँ गर्ने कि नगर्ने भनेर। तर हृदयबाट भर्खरै उम्रिँदै गरेको व्यवसायीको लागि यो एउटा राम्रो मौका हो भन्ने जवाफ पाएँ।’

सम्झनासँगै बेकर आराधना राई र व्यवसायी राजीव न्यौपाने पनि यो टिममा छन्।

उनका अनुसार व्यवसायको सट टर्म र लङ टर्म प्लान हुनुपर्छ। आज पसल खोलेर आज नै नाफामा जान सकिँदैन, तर लङ टर्म प्लान सुरु गरेर व्यवसाय सुरु गरेमा अवश्य सफलता पाइन्छ।

उनी थप्छिन्, ‘हाम्रो पहिलो तीन महिनाको गोल भनेको सिक्नु हो, र त्यसपछि लङ टर्ममा फ्रेन्चाइजहरु विस्तार गर्ने योजना छ।’

सम्झना भन्छिन्, ‘अर्थतन्त्रलाई पुनःसंरचना गरेर नयाँ ढंगले अगाडि बढाउने गरी उद्योग क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्ने मौका यही नै हो।’

तस्बिर/भिडियोः रविन आचार्य/देश सञ्चार

साउन ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्