आजदेखि नेकपामा बिग्रह सकियो : महासचिव पौडेल

नेकपा महासचिव विष्णु पौडेल

काठमाडौँ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद सुधारोन्मुख देखिएको छ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन बनेसँगै विवाद सुधारोन्मुख देखिएको नेताहरुले दाबी गरेका छन्।

शुक्रबारको निर्णयपछि पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको कार्यदलका संयोजक विष्णु पौडेलले बताए।

कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

पौडेलले कार्यदलले समस्या के हुन्? समाधान के हुन सक्छ? भन्ने विषयमा विस्तृत छलफल गरी चाडोभन्दा चाडो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने जानकारी दिए। महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिएपनि समस्याहरुको सकारात्मक समाधान गरि एकतालाई सबल बनाउँदै अगाडी बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताए।

महासचिव समेत रहेका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडी अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको उल्लेख गरे।

उनले भने, ‘पार्टीमा बिग्रहको कल्पना गरेका थिए कतिपयले। नेकपामा कुनै प्रकारको बिग्रह हुँदैन। एकतावद्ध भएर अगाडी बढ्छ। नेकपाको एकता अच्छुर्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ।’

पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आस्वस्त रहन सबैलाई आग्रह गर्दै उनले भने, ‘नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु। आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडी बढेको छ।

नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपा भित्र खेल्ने यस प्रकारका कोशिष नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न सामर्थ छ । जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ।’

पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनँले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताए। ‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो।

जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए। प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन्। अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडि बढाउँछाँै। सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन, उनले भने।

साउन ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्