‘अपमानित बार्सिलोनामा ठूलो परिवर्तनको खाँचो छ’

च्याम्पियन्स लिगमा बार्यन म्युनिखबाट लज्जास्पद हार बेहोरेको बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा ठूलो परिवर्तनको खाँचो रहेको बताएका छन् ।

क्वाटरफाइनल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्युनिखले ८–२ ले पराजित गरेको हो।

३३ वर्षका पिकेले बार्सिलोनाबाट १२ वर्षको अवधिमा २० वटा प्रमुख उपाधि जितेका छन् । आवश्यक परेमा आफू बार्सिलोना छोड्ने पहिलो खेलाडी हुने पिकेले स्पष्ट पारेका छन्।

बार्सिलोनाले युरोपियन प्रतिस्पर्धामा हालसम्मकै खराब हार बेहोरेको हो । यो सिजन ला लिगा रियल मड्रिडले जित्यो भने च्याम्पियन्स लिगमा बार्सिलोना अपमानित बन्नु परेको हो ।

पिकेले भने, ‘वी ह्याभ हिट रक बटम’ । पिकेले अघि भने, ‘यो पहिलो पटक होइन, दोस्रो पनि होइन र तेस्रो पटक पनि होइन । हामी सही दिशामा छैनौँ । प्रशिक्षक र खेलाडीले एक अर्कालाई पछ्याउनु पर्छ, क्लबलाई प्रतिस्पर्धी बनाउने त्यसैले हो । तर अहिले अवस्था तेस्तो देखिँदैन ।’

डिफेन्डर पिकेले अघि भने, ‘हामी सबैले आन्तरिक रुपमा विचार गरेर क्लबका लागि के उपयुक्त हुन्छ सो निर्णय लिनु पर्छ । यस्तो पराजय बार्सिलोनाका लागि स्वीकार्य हुनु हुँदैन ।’

यस्तो खराब हार स्वीकार गर्न नसकिने भए पनि भोलिका लागि राम्रो केही निर्णय लिनका लागि सिकाइका रुपमा लिइन्छ कि भन्ने आश भने रहेको पिकेले बताएका छन् ।

उनले भने, ‘क्लबमा परिवर्तनको खाँचो छ । मैले खेलाडी वा प्रशिक्षकको तहमा मात्रै भनेको छैन । बार्सिलोनामा सबै तहमा संरचनागत परिवर्तन चाहिएको छ ।’

उनले भने, ‘अहिलेको अवस्था परिवर्तनका क्लबमा नयाँ सञ्चार चाहिएको छ । आवश्यक परेमा म पहिलो खेलाडी हुने छु छोड्ने ।’

साउन ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्