फाइल तस्बिर
दिनदिनै पहिरो

विकासे डोजरले सत्यानाश

बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेखी बस्तीका २१ घरमा गएको असार १९ गते राति आएको पहिरोले क्षति गर्‍यो। सातजनाको मृत्यु भयो। बस्तीमाथि रहेको सामुदायिक वन र त्यसपछिको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। पहिरोले मानवीय क्षतिसँगै स्थानीय जलविद्युत तथा सिचाइँ र खानेपानीमा क्षति गरेको गाउँपालिका इन्जिनियर लेखराज रावलले बताए।

माग्दीको धौलागिरि गाउँपालिका–६ र ७ मा गएको असार २५ गते मध्य रातमा पहिरो गयो । पहिरोमा परी वडा नम्बर ६ का १९ जनाको ज्यान गयो, दुईजना बेपत्ता भए । ६९ घरमा पूर्ण क्षति भयो। जथाभावी रुपमा भएको डोजरे विकास (जोडर लगाएर गाउँमा बाटो खन्ने प्रवृत्ति) कारण पहिरो गएको विश्लेषण गरिएको छ ।

तर गाउँपालिका अध्यक्ष थमसरा पुन भने वरपरका क्षेत्रमा बाटो खनिए पनि पहिरो गएकै क्षेत्रमा डोजर लगाएर बाटो नखनिएको बताउँछिन् । उनले भनिन्, ‘सोच्दै नसोचेको ठाउँबाट पहिरो गयो । बाटो खनिएकै कारण पहिरो गएको भन्न अल्लि मिल्दैन जस्तो लाग्छ। तर अब उपरान्त बाटो खन्दा प्राविधिकको सरसल्लाह लिने र सुन्ने योजनामा छौँ ।’

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा असार २७ गते राति एक्कासी पहिरो जाँदा १० घर बगायो । ११ जना बेपत्ता भए, अझै भेटिएका छैनन् । एकजनाको शव भेटियो ।

गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार उद्धार टोली असार २९ गते बिहान मात्रै त्यहाँ पुग्न सक्यो । गाउँपालिकाको सडक सञ्जालबाट ८–१० किलोमिटर पर रहेको बेसिन्दा क्षेत्रमा सडक निर्माणका लागि काम भएको छैन । अध्यक्ष राईले साढे चारवर्ष पहिलेको भूकम्पले चर्काएको पहाड भारी वर्षाका कारण खसेर ठूलो क्षति भएको बताए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा असार ३१ राति (साउन १ गते बिहान) पहिरो जाँदा पाँचजनाको ज्यान गयो । स्थानीय ग्याल्जेन शेर्पाले घरसँगै परिवार गुमाए ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पहिरोको कारण डोजरे विकास रहेको तथ्य स्वीकार गर्ने शैलीमा भने, ‘बाटो नपुगेका ठाउँमा पुर्‍याउनुपर्‍यो। गाउँलेको माग पनि त्यहि हुन्छ। तर पहाड फोरेर बाटोको ट्रयाक खोल्दैमा बजेट सकिन्छ । पहिरो रोकथामका लागि नाली बनाउने वा सुरक्षाका अरु उपाय अपनाउनका लागि बजेट हुँदैन, बाध्यता छ ।’

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान (साउन ३० गते) पहिरो गयो । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । २३ जना बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरोले पूरै गाउँ नै बगाएको हो ।

स्थानीय बासिन्दा तथा गाउँपालिकाले नै लिदीको बस्ती पहिरोको जोखिममा रहेको भन्दै स्थानान्तरण गर्न आग्रह गरेका थिए । तर त्यसको सुनुवाई नहुँदै पहिरोले बस्ती बगायो । भूगर्भ विभागको टोलीले गरेको अध्ययनले ठूलो पहिरोको जोखिम रहेका भनी बस्ती सार्न सुझाव दिएको थियो ।

 

यो वर्षको बर्खामा मानवीय तथा भौतिक क्षति हुने गरी गएका पहिरोका प्रतिनिधि घटनाहरु हुन् यी । यो वर्ष लगातार पानी पर्दा अघिल्ला वर्षको तुलनामा पहिरोहरु बढी गएका छन् ।

साढे चार वर्षअघिको भूकम्पले अस्थिर बनेका पहाडको भौगर्भिक संरचना अझैसम्म स्थिर अवस्थामा नआएको तथा विकासका नाममा विशेष गरी गाउँगाउँमा प्राविधिक सल्लाह वा भौगोलिक इन्जिनियरिङ्गको विस्तृत विश्लेषण बिना डोजरको प्रयोग गरी बाटो खनिँदा पहिरोका जोखिम उच्च भएका बेला बढी पानी पर्दा विपदको अवस्था आएको देखिन्छ ।

भौगर्भिक इन्जिनियरिङ्गका अध्येता तथा पहिरो विज्ञ डा. बसन्तराज अधिकारीले २०७२ मा गएको भूकम्पले अस्थिर बनेको भौगर्भिक अवस्था अझै स्थिर नभएको अनुसमान लगाउन सकिने उनले बताए ।

नेपाल जिओलजिकल सोसाइटीका अध्यक्ष तथा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘गाउँ गाउँमा विकासका नाममा डोजर लगाएर बाटो खनिएका छन् । एउटै पहाड चिराचिरा पारिएको छ । यसले पहिरोको दर र त्यसले गर्ने क्षति पनि बढाएको देखिन्छ ।’

‘हिमालय पर्वत शृङ्खलामा भूकम्पका कारण अस्थिर बनेको भौगर्भिक गतिविधि अझै स्थिर बनेको छैन भन्ने देखिन्छ । अस्थिर पहाड र धाँजा फाटेको ठाउँमा पानी पस्दा दबाब बढी भएर पहिरो गएको प्रारम्भिक अनुमान छ,’ डा. अधिकारीले भने, ‘हामीले हरेक वर्ष पहिरोको जोखिमबारे अध्ययन गरिरहेका छौँ । भूकम्पका कारण धाँजा फाटेका क्षेत्रमा त्यसको एक–दुई वर्षसम्म पहिरोको उच्च जोखिम हुने आँकलन गरिएको थियो । तर मनसुनमा त्यति पानी परेन तीन वर्षहरुमा । यो वर्ष पानी लगातार परेकाले पहिरोका घटना बढेका हुन् ।’

लिदीको पहिरोबारे उनले भने, ‘स्थानीय बासिन्दाका अनुसार लिदीमा पहिले नै धाँजा फाटेको थियो । धाँजाबाट माटोसहितको ढिस्कोमा पानी पस्दा दबाब बढ्यो र पूरै ढिस्को पहिरोमा बगेको देखिन्छ ।’

पहिले नै खोल्साहरुबाट पानी जाँदा त्यहाँको माटो कमजोर भएको देखिने उनले बताए । उनले भने, ‘धाँजाबाट पानी पसेपछि बनेको स्याचुरेटेड स्वाइल खसेको हो र तल पहिरो छेक्ने कुनै संरचना नहुँदा क्षति बढी भएको हो ।’

बस्ती मुनि रहेको जलविद्युत योजनाले सुरुङ्ग निर्माणका लागि गरेको बिस्फोटकै कारण पहिरो गएको हो वा होइन भन्नका लागि अध्ययन गर्नु पर्ने बताएका उनले प्राकृतिक कारणले अस्थिर बनेको क्षेत्रमा विकासका काम गर्दा विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक जोखिम नक्साङ्कन हुनु पर्नेमा जोड दिए ।

मानवीय गतिविधि र पहिरो

नेपाल जिओलजिकल सोसाइटीका अध्यक्ष तथा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘गाउँ गाउँमा विकासका नाममा डोजर लगाएर बाटो खनिएका छन् । एउटै पहाड चिराचिरा पारिएको छ । यसले पहिरोको दर र त्यसले गर्ने क्षति पनि बढाएको देखिन्छ ।’

प्राकृतिकसँगै मानवीय गतिविधिले पहिरोका घटनाहरु बढाएको तर्फ संकेत गर्दै उनले भने, ‘विकास गर्ने भनेर मात्रै हुँदैन, त्यहाँको माटोको संरचना हेरिनु पर्छ र सोही अनुसार निर्माणको काम कसरी गर्ने वा सावधानी कसरी अपनाउने भन्ने तय गरिनु पर्छ । तर हाम्रा पछिल्ला गतिविधिहरु भौगोलिक अवस्था र त्यसको वैज्ञानिक क्षमता सापेक्ष देखिँदैनन् ।’

पहिरोविद डा. अधिकारीका अनुसार पनि पछिल्लो समय भएका अधिकांश सानाठूला विकासका काममा भौगोलिक अवस्थाको पहिचान गरी सो अनुरुप सावधानी अपनाएर काम नभएको देखिएको बताउँछन् ।

उनले भने, ‘विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक नक्साङ्गन भएको पाइएको छैन । स्थिर पहाडलाई काटेर बाटो बनाउँदा वा जलविद्युतसहितका अरु विकासका काम गर्दा पहाडको भौगोलिक अवस्था अस्थिर बन्छ । वैज्ञानिक मापदण्ड अनुसार विकासका काम गरिएन भने पहिरोसहितका जोखिम बढ्छ र अहिले धेरै ठाउँमा भएको पनि यस्तै छ ।’

बाटो खन्दा वा अरु कुनै पनि विकासका काम गर्दा पानीको निकास उचित व्यवस्था हुनु पर्ने, सम्भावित पहिरोको जोखिम न्यूनिकरण तथा सम्भव भएसम्म वा आवश्यक नपरी पहाड फोड्ने मेसिनको प्रयोग कम गरिनु पर्ने उनले बताए ।

डा. अधिकारीले भने, ‘पहिलो पहाडमा गह्रा खेती प्रणाली थियो । पानीको व्यवस्थापन परम्परागत रुपमै गरिन्थ्यो राम्रोसँग । अहिले खेती कम हुँदै गयो, भलको निकास व्यवस्थित रुपमा हुन सकेन। त्यसमाथि विकासका नाममा पहाड चिर्न थालियो । ठूलो क्षति हुने गरी पहिरो जाने भए नि ।’

गाउँगाउँमा खनिएका अधिकांश बाटोमा पानीको निकासको व्यवस्था छैन । भलको पानी बाटोमै बग्छ । सो पानीले खोल्सो पाउने वित्तिकै छिचोलेर तल जाने र माटो धोल्लो बनाउने गरेका कारण पहिरोका गतिविधि बढेको विज्ञहरुले बताएका छन् ।

उनले भने, ‘मैले ५५ जिल्लामा काम गरेको छु, सरसर्ती हेर्दा सडक खन्ने बेला विस्तृत इन्जिनियरिङ्ग र भौगर्भिक नक्साङ्कन प्रयोग गरेको भए नोक्सानी हुँदैनथ्यो जस्तो लाग्छ एक आम सर्वसाधारणका रुपमा विचार गर्दा । वैज्ञानिक पक्षमा भने हेरक स्थानको अवस्था फरक हुने भएकाले अध्ययन नगरी बताउन सकिँदैन, तर जोखिम सडकहरुले बढाएकै छन् ।’

यस्तै रुख लगाउँदैमा पहिरो जाँदैन भन्ने पनि नरहेको भन्दै उनले यसलाई थप स्पष्ट पारे ‘रुखको जरा पहिरोमुनि जाने भएन भने झन जोखिम हुन्छ । उपयुक्त प्रजातिको बिरुवा छनौट गरिएन रुखको जरा पहिरोको गतिविधि भन्दामाथि हुने र पानी परेपछि त्यसले जमिनमा झन भार थप्ने हुन सक्छ । त्यसैले जरा तलसम्म जाने प्रजातिको रुख रोपिनु पर्छ ।’

पहिरोको पूर्व सूचना सम्भव छ

पहिरोको जोखिम मानवीय गतिविधि वातावरण मैत्री बनायो भने कम गर्न सकिन्छ, तर प्राकृतिक घटना भएकाले सचेतना अपनाएमा मानवीय जोखिम भने कम गर्न सकिन्छ ।

डा. अधिकारीले भने, ‘बाढीको पूर्व सूचना जस्तै पहिरोको पनि पूर्व सूचना दिन सकिन्छ । खासै खर्च पनि धेरै लाग्ने होइन, हामीले दोलखाको सुन्द्रावतीमा गरेको प्रयोगले पहिरोको पूर्व सूचना प्रभावकारी देखिएको थियो । त्यसैगरी सरकारी तहबाटै जोखिम रहेका क्षेत्रमा पहिरो पूर्व सूचनाको व्यवस्था गर्नु पर्छ ।’

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले पहिरो पूर्वानुमानका सम्बन्धमा अहिले अध्ययन भइरहेको बताएका छन् । उनले भने, ‘हामीले पूर्वानुमानका सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । प्रदेश २ बाहेकमा पूर्व सूचना प्रणाली जडान गर्ने गरी काम गर्ने प्रयासमा छौँ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यो वर्ष मनसुन सुरु भएयता (जेठ ३० गतेयता) देशभर पहिरोका कारण २०१ जनाको ज्यान गएको छ भने ७० जना बेपत्ता छन् ।