जीवन दर्शन

नागरिक हुनुको अर्थ

कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलँदै छ। मैले यो लेख लेखिरहँदासम्म नेपालमा ७५ जना संक्रमितको मृत्यु भइसकेको छ । विगत ५ महिनामा कोरोना संक्रमण नभएका हजारौं नेपालीको अन्य बिबिध कारणले मृत्यु भएको छ । यीमध्ये धेरैलाई समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो होला । कोभिड–१९ रोग नियन्त्रण चुनौतीपूर्ण छ । सरकारी प्रयासलाई नागरिक सहयोग र खबरदारीको खाँचो छ ।

लकडाउन खुकुलो नगर्दा आर्थिक संकट गहिरिने सम्भावना र जनजीविकामा प्रतिकूल असर पर्ने आँकलनको सम्बोधन हुनै पर्ने थियो तर लकडाउन खुकुलो हुँदै गर्दा संकट झन गहिरो भएको छ। भीडभाडका कारण सरकारी कार्यालयहरु पुनः बन्द हुन थालेका छन् । सरकारी कार्यालय र धेरै स्वास्थ्य संस्थाहरुमा समेत संक्रमण रोकथामको तयारी पर्याप्त छैन । हातधुने पानी र साबुनको उपलब्धता, स्यानिटाइजर, भौतिक दूरी कायम गर्ने व्यवस्था, सेवाग्राहीले प्रयोग गर्ने सामानहरुको निसंक्रमण (Disinfection), शौचालयको सरसफाइ आदि सबैमा धेरै कमीकमजोरी छन्। सरकारी कार्यालय पुनः खोल्नका लागि यी सबै कुराको तयारीमा बिशेष ध्यान पुर्‍याउनु आवश्यक छ । स्वास्थ्य सेवाका अन्य पाटोहरुमा सञ्चार माध्यममा यथेष्ट सूचनाहरु छन् – यो लेख त्यस बिषयमा प्रबेश गर्ने छैन ।

कोभिडको पीडा माथि पीडा थप्दै बाढी पहिरोका बिध्वंशहरु देखा परिरहेका छन् । यस्तो समयमा राजनीतिक दलहरु भित्र देखिएका खींचातानीले जनतालाई निराशा मात्र दिइरहेछ । अनियन्त्रित मूल्यबृद्धि, रोजगारीको अभाव, आत्महत्याका खबरहरुले मन बिचलित छ ।

यी सबै सुन्नेलाई त यति गाह्रो छ भने भोग्नेलाई कस्तो भयो होला ? कल्पना गर्न सहज छैन । कवि इश्वर बल्लभका कविताका केही हरफले हृदय – स्पर्ष गरेझैं लाग्छ ।

केही बिम्ब देखिन थालेका छन्
पानीमा धाम अल्झेको छ
कतै गीत जस्तो
नदीको किनार
फेरि मनमा बल्झेको छ

बिराना बादल
कता कता आकाशमा उड्छन्
स्वप्नवस्ती खोज्छन्
उत्तरतिर गइरहेको कर्‍याङ कुरुङको
ताँति
भ्रान्त मन
भ्रान्त पथ
भ्रान्त पथिक

आज फेरि एउटा
आरुको फूल
निरिह झरेको छ
पानी बगिरहेको छ

कविले के सोचेर लेख्नु भएको थियो कुन्नि, प्रातः भ्रमणमा जाँदा झरेको आरुकै फूल देख्नु भएको थियो कि ?

तर म वहाँको “आरुको फूल” मा देख्छु –

पहिरो मुनि दबिएका कोमल शरीरहरु
फुटपाथमा भोकभोकै ढलेका पौरखी हातहरु
अस्पतालको ढोकाढोका चहार्दै उडेका प्राण पखेरुहरु ।

मन शान्त पार्न र शरीर स्वस्थ्य राख्ने प्रयासमा म सँधैजसो “मर्निङ वाक” मा निस्कन्छु । मन्दिरमा एउटा जोगीलाई सँधैजसो देख्छु । हिजो अलि बढी हिंडेर मन्दिर पुगेपछि केहीबेर सुस्ताउन बसें, अनि उहाँलाई सोधें “तपाई किन जोगी हुनु भएको ?” जनकपूरको एक सम्पन्न संयुक्त परिवारका अग्रज १५–२० बर्ष अघि देखि “बैराग्य”लाई अंगालेर जोगी हुनु भएको रहेछ । भन्नुभयो – “म रुखको जरा समातेर बसेको छु । रुखका हाँगा बिंगा जस्तै धर्मका अनेक स्वरुप भएतापनि भगवानको भक्ति रुखको जरा समान हो नि । जोगी भएर पनि समस्याबाट मुक्ति पाउन चाहीं गाह्रै रहेछ।

उहाँसँग कुरा गर्दै गर्दा बालकृष्ण समले जोगीसंग सम्बाद स्वरुप लेख्नु भएको कविताका केही हरफ सम्झें-

म पनि द्यौता मान्छु जोगी
म पनि द्यौता भन्छु
तर तिम्रो र मेरो द्यौतामा
आकाश र पृथ्वीको भिन्नता छ ।

तिमी उसलाई आँखा चिम्लिंदा
अमूर्त चिन्तनको बदलामा देख्छौ
म उसलाई आँखा उघार्दा
प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु
अवश्य मेरा तीन अरब द्यौतामा
अस्पष्टता छ, धमिलोपन छ, बिकार छ
म त्यही हटाउन कविता लेख्छु ।

उहाँले ती हरफहरु लेख्दा विश्व जनसंख्या ३ अर्ब रहेछ क्यारे, अहिले ७.७ अरब भन्दा बढी छ । उहाँले आफ्नो नागरिक दायित्व बोध गरेर कविता लेख्नु हुँदो रहेछ भन्ने प्रष्ट छ, तर उहाँ आफ्नो देशको परिधि भन्दा अझ बाहिर निस्केर बिश्वका सम्पूर्ण जनताका बारे चिन्तन गर्नुहुँदो रहेछ । कस्तो प्रेरणादायक, कस्तो सान्दर्भिक, अनि कस्तो “प्रोफाउण्ड”!!!

कोभिडको पीडा माथि पीडा थप्दै बाढी पहिरोका बिध्वंशहरु देखा परिरहेका छन् । यस्तो समयमा राजनीतिक दलहरु भित्र देखिएका खींचातानीले जनतालाई निराशा मात्र दिइरहेछ । अनियन्त्रित मूल्यबृद्धि, रोजगारीको अभाव, आत्महत्याका खबरहरुले मन बिचलित छ ।

आज बिश्वव्यापी “प्याण्डेमिक” महामारीको प्रकोप, अन्तर्राष्ट्रिय भ्रमण र रोजगारीका अवसरहरु अनि व्यापार व्यवसायको बिस्तार आदिले गर्दा हामीले साँचो अर्थमा “ग्लोबल सिटिजन”को भूमिका निर्वाह गर्नुपर्ने कुरा निर्विवाद भैसकेको छ । आ–आफ्नो क्षमता, ज्ञान, सीप, सभ्यतासहित नेपाली र बिश्व नागरिकको असली परिचय दिने कुरा महत्वपूर्ण छ ।

प्रातः भ्रमणमा हिँड्दै गर्दा मनमा बिभिन्न कुराहरु खेल्दै गर्छन्, धेरै प्रश्नहरु उब्जिन्छन् । केहीको उत्तर पाउँछु, तर केही प्रश्न अनुत्तरित नै रहन्छन् । खोज्दै जानु र सिक्दै गर्नु नै जीवनको सार रहेछ क्यारे ।

बिहानको हिँडाइको बाटो परिवर्तन गर्दै जाँदा हाम्रो जीवनशैली, भौगोलिक बिबिधता, रमणीयता नियाल्दै जान्छु । कवि माधव प्रसाद घिमिरेले एकै हरफमा कति राम्रोसंग हाम्रो देशको बर्णन गर्नु भएको छ ।

नेपाल – सुन्दर शान्त बिशाल

तर यहीं समस्याका चाङ्ग छन्, किंकर्तव्यबिमूढताका चुनौति छन्, निराशा र कुण्ठाका बाढी छन् ।

यी सबैका माझ परिवार र आफन्तका मायालु हौसला छन्, सुन्दर भबिष्यका मीठा कल्पना छन्, देश बनाउने उत्कट अभिलाषा छन्, युवाशक्तिका जोश र जाँगर छन् ।

जीवन – खुशी र दुःखको सम्मिश्रण

सञ्चारका माध्यमहरुमा बिद्वानहरुका छलफल सुन्छु । भन्छन् – “लोकतन्त्र साधन हो, समाजबाद साध्य” । मलाई चित्त बुझ्दैन । मलाई लाग्छ मानिसको खुशी नै हाम्रो सम्बिधानले परिकल्पना गरेको साध्य हो । लोकतन्त्र, गणतन्त्र, संघियता, समाजबाद उन्मुखता अनि सम्बिधानले दिएका यावत हक अधिकार र कर्तव्यहरु हामीलाई सम्मानपूर्वक खुशी साथ बाँच्नका लागि चाहिने साधन हुन् ।

बिगत केही महिनादेखि मैले पढेका दार्शनिकहरु प्लेटो, अरस्तु, जोन मिल सबैले सुखलाई नै प्राथमिकतामा राखेका छन् । प्लेटो र अरस्तुले त सद्गुणयुक्त मानवजीवन युडेमोनिया (Eudaimonia) को वकालत गरेका छन् ।

म नेपालको सम्बिधान पुनः एकपल्ट पढ्छु, माथिदेखि तलसम्म । हामीलाई प्रजाबाट काँचुली फेराएर नागरिक बनाउने दस्तावेज हो नेपालको सम्बिधान । यसले हामीलाई बिभेद रहित रुपमा बाँच्न पाउने अधिकार दिएको छ ।

अनि ती झरेर गएका “आरुका फूल” को थिए त ?

आफैसित प्रश्न गर्छु । अनागरिक ?

हामीले तिनको जीवन रक्षा गर्न सकेनौं ।

मलाई लाग्छ हामीले अधिकारका कुरा धेरै गर्‍यौँ, कर्तव्यका कुरा कम गर्‍यौँ। अनि कर्तव्यका काम झन थोरै गर्‍यौँ।

ती झरेर गएका फूलहरु युवा थिए, परिश्रमी नेपाली नागरिक थिए ।

अनियन्त्रित डोजर आतंकका कारण पहिरो पीडित भएका, 

रोजगारीको अभावमा “माग्नु भन्दा मर्नु निको” भनेर आत्मसम्मान जोगाएका

स्वास्थ्य क्षेत्रको अव्यवस्थाका शिकार भएका ।

हरेक क्षेत्र कर्तव्यच्यूत छ – हामी नागरिक, सार्वजनिक प्रशासन, नाफाखोर व्यापारी, अनि सबैलाई बाटो देखाउनु पर्ने राजनीतिक नेतृत्व ।

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए- “Ask not what your country can do for you, ask what you can do for your country” (देशले मलाई के दिन्छ भन्ने नसोध म मेरो देशका लागि के गर्न सक्छु भनी सोध।) यी कालजयी शब्दहरुले लाखौं अमेरिकीलाई सतत् प्रेरणा प्रदान गरिरहेका छन् – आफ्नो देशको बिकासका लागि समर्पित हुन ।

धेरै छिटो छिटो र ठूला ठूला परिवर्तन भएकोले होला नेपाली राजनीति र समाज अस्थिर छ । राम्रा कामहरु ओझेलमा परेका या पारिएका छन्, अनि निराशा व्याप्त छ । यो निराशालाई चिर्न हामी सबै आ–आफ्नो कर्तव्यप्रति बढी सचेत भई सकारात्मक उदाहरणको प्रचूरता बढाउनु छ ।

नेपालको सम्बिधानको भाग ३ मा मौलिक हक र कर्तव्यको वर्णन गरिएको छ । सम्मानपूर्वक बाँच्न पाउनु, स्वतन्त्रता, समानता, छुवाछुत तथा भेदभाव बिरुद्ध, शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्य, स्वच्छ वातावरण लगायतका ३१ हकहरु बिस्तृतमा बर्णन गरिएका छन् । यसका साथै ४ प्रकारका कर्तव्यहरुको पनि बर्णन छ । बिगत दुई दशकमा नेपालीहरुको आ–आफ्नो हक अधिकार प्रतिको सचेतना उल्लेख्य रुपमा बृद्धि भएको कुरा मैले अनुभव गरेको छु । तर नागरिक कर्तव्यका बारे थप स्पष्टता आवश्यक छ । नागरिकको हक सुनिश्चित गर्न प्रत्येक जिम्मेवार व्यक्ति र निकायको सकृय भूमिका आवश्यक छ – त्यहाँ हामी चुकेका छौं ।

धेरै छिटो छिटो र ठूला ठूला परिवर्तन भएकोले होला नेपाली राजनीति र समाज अस्थिर छ । राम्रा कामहरु ओझेलमा परेका या पारिएका छन्, अनि निराशा व्याप्त छ । यो निराशालाई चिर्न हामी सबै आ–आफ्नो कर्तव्य प्रति बढीसचेत भई सकारात्मक उदाहरणको प्रचूरता बढाउनु छ ।

मैले दक्षिण एसियाली देशहरुका सम्बिधान पनि इन्टरनेटमा खोजेर पढें । नेपाल, भारत, बंगलादेश सबैले सम्बिधानको पूर्ण पालना गर्नु नागरिकको कर्तव्य हो भनेका छन् । यहाँ म थप व्याख्या आवश्यक देख्छु । सम्बिधानको पूर्ण पालना भनेको आफ्नो हकको सुनिश्चितता खोज्नु मात्र नभएर सबैको हक–अधिकार प्रति सम्बेदनशील हुँदै आ–आफ्ना जिम्मेवारी राम्रोसंँग पूरा गर्नु पनि हो ।

श्रीलंकाको सम्बिधानमा प्रष्ट लेखिएको रहेछ “अरुको अधिकार र स्वतन्त्रताको आदर गर्नु नागरिकको मौलिक कर्तव्य हो।”

मैले नागरिक कर्तव्यको व्याख्या थप प्रष्ट पार्ने उद्देश्यले बेलायति समाजशास्त्री थोमस मार्शलले लेख्नुभएको Citizenship and Social Class भन्ने निबन्ध खोजेर पढें । यो निबन्ध सन् १९५० मा प्रकाशित भएतापनि यसका पक्ष बिपक्षमा लेखिएका अनगिन्ति नयाँ पुराना समालोचनाहरु इन्टरनेटमा उपलब्ध छन् । यी निबन्ध र समालोचनाहरुले नागरिकको राजनीतिक अधिकार भोट खसाल्नुमा मात्रै सीमित हुँदैन तर जन प्रतिनिधिका कृयाकलापको निरन्तर अनुगमन र खबरदारी समेत नागरिक कर्तव्य हो भनेर प्रष्ट पारेका छन् । साथै समानताको कुरा गर्दा फरक क्षमता भएका व्यक्तिहरुको अधिकार प्रति बिशेष सम्बेदनशील हुँदै आवश्यक कर्तव्य निर्वाह गर्न प्रेरित गरिएको छ । अमेरिकी सम्बिधानका मस्यौदाकार थोमस जेफरसनले दार्शनिक जोन लकका शब्दहरु सापट लिई बनाउनु भएको अवधारणा “Life, liberty and pursuit of happiness”  ले सम्पूर्ण अमेरिकीलाई एकताबद्ध पारेर देश विकासमा योगदान गर्न प्रेरणा दिएको छ । आ–आफ्ना अधिकारका साथै कर्तव्यप्रतिको समर्पणका माध्यमबाट सुखको खोजी नै Pursuit of happiness को अन्तरनिहित मर्म हो भन्ने कुरा बहुसंख्यक अमेरिकीले बुझेका छन् । अमेरिकी जनताको चाहना, कर्तव्य र अधिकारप्रति उनीहरुको धारणा बुझेपछि मलाई विश्वमा नै सबैभन्दा सुखी स्केन्डिनेभियन नागरिकको खुशीको कारक र नागरिक दायित्व बारे थप जान्ने उत्सुकता भयो।

उनीहरुको खुशीको आधारशीलामा नागरिक स्वतन्त्रता, एकआपस प्रतिको आदर र बिश्वास अनि जवाफदेहिता मुख्य तत्व रहेछन् । भ्रष्टाचार नहुनु, कुशलतापूर्वक संचालित राज्य र संस्थाहरु अनि सामाजिक सुरक्षा नै सुदृढ लोकतन्त्रका आधारभूत स्तम्भ हुन् भन्ने कुरा धेरै लेखहरुले थप प्रष्ट पारे ।

बेलायतका स्कूल, कलेज, सार्वजनिक निकाय आदि सबैमा नागरिक अधिकार र कर्तव्यबारे व्यापक बहस हुँदा रहेछन् । युरोपियन युनियनका सदस्य राष्ट्रका नागरिकको पनि आ–आफ्नो राष्ट्रका नागरिकका रुपमा अनि युनियनका नागरिकका रुपमा अधिकार र कर्तव्यहरु निर्धारित गरिएका छन् ।

अमेरिका स्थिति नागरिक अध्ययन केन्द्रले बिभिन्न कोर्षहरु संचालन गरेर समाजका हरेक तप्काका व्यक्तिहरुले गर्नै पर्ने काम बारे प्रशिक्षण दिने रहेछन् । यी मध्ये सबैको मानव अधिकारलाई आदर गर्नु, प्रत्येक व्यक्तिको सम्मान र महत्वलाई स्वीकार्नु, नियम कानूनको पालना गर्नु, आ–आफ्ना जिम्मेवारी स्वतः स्फूर्त रुपमा पूरा गर्नु र जनसरोकारका बिषयमा एवम् सार्वजनिक सम्पत्तिको रक्षाको बिषयमा उत्तरदायित्व लिनु जस्ता बिषयहरु प्रमुख रहेछन् ।

हाम्रो छिमेकी देश भारतमा सम्बिधान जारी हुँदा – सन् १९४९ मा सम्बिधानमा नागरिक अधिकारका कुराहरु लेखिएका थिए, तर त्यतिले मात्रै पर्याप्त नुहने रहेछ भन्ने बुझेर सन् १९७६ मा नागरिकका कर्तव्यहरु पनि सम्बिधानमा समावेश गरिए । सम्बिधान दिवस मनाउने सन्दर्भमा प्रत्येक वर्ष अभियानकै रुपमा नागरिकलाई कर्तव्य प्रति सचेत गराउने प्रचलन रहेछ ।

बिकसित मुलुकहरुमा सर्वसाधारण नागरिक, प्रशासक र राजनीतिकर्मी सबैले आ–आफ्ना कर्तव्य बारे प्रशिक्षण पाएका हुन्छन् र कर्तव्यपालनलाई प्राथमिकतामा राखेर व्यवहार चलाइरहेका हुन्छन्, त्यसैले समाज बढी व्यवस्थित हुन सकेको छ, राजनीतिक स्थायित्व बढी छ र जनताका लागि अवसरहरु श्रृजना भएका छन् ।

दुर्भाग्यवस हामी धेरै वर्ष रैती र प्रजाका रुपमा रह्यौ, हाम्रा नागरिक अधिकार प्रति बल्ल सचेत हुँदै छौ तर कर्तव्य पालनप्रति अझै सचेत हुन सकेका छैनौ । नत्र त जाजरकोटका दलित युवाको हत्या हुनु, चितवनमा चेपाङ समुदायको घर भत्काइनु, मुसहर समुदायमाथि आक्रमण हुनु जस्ता सम्बैधानिक व्यवस्थाको ढाडो उल्लंघन हुने कार्य कसरी सम्भब हुन सक्थे होलान् र ? अनि न्याय दिनुपर्ने निकायहरुले उल्टै अपराध र अपराधीको संरक्षणमा लाग्ने छुट कसरी पाउन सक्थे होलान् र? कर्तव्यच्यूत राज्य संयन्त्र पनि दण्डनीय हुन्छ नै – हाम्रो सम्बैधानिक व्यवस्थाको मर्म त न्यायको प्रत्याभूति हुनु हो ।

जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरी सडकभरी फोरहमैला असरल्ल फाल्ने नागरिक, घर पालुवा जनावरलाई सडकमा फोहर गर्न छोड्ने जनावर धनी, जेब्राक्रसिङमा पैदल यात्रीलाई बेवास्ता गर्ने सवारी धनी, कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय नअपनाउने सर्वसाधारण सबैले आ–आफ्नो नागरिक कर्तव्य प्रति पुनर्विचार गर्नुपर्नेछ ।

फोहरमैला व्यवस्थापन प्रति असंबेदनशील जिम्मेवार निकाय, पहाडमाथी टावर ठड्याएर पर्यावरण बिगार्न खोज्ने जनप्रतिनिधि, महामारीको गाम्भीर्यलाई प्राथमिकतामा राख्न नसकेर अन्यत्रै भुलेको राजनीतिक नेतृत्व सबैले समयको पद–चापलाई बुझेर बढी जिम्मेवार बन्न जरुरी छ ।

कोरोना महामारी नियन्त्रण र उपचारमा देखा परेका बिकृति बिरुद्ध enough is enough को नारा दिएर स्वतः स्फूर्त रुपमा युवाहरु आफ्नो नागरिक कर्तव्य निर्वाह गर्न जुट्नु धेरै सकारात्मक कुरा हो । यस्तो जागरणलाई सेलाउन नदिई सभ्य, सुसंस्कृत नागरिक शिक्षाका लागि निरन्तरता प्रदान गरौं ।

राम्रा काम गर्ने राष्ट्रसेवकहरुलाई प्रोत्साहन गरौं, इमान्दार सक्षम राजनीतिक नेतृत्वलाई पैसाको होडबाजीका कारण पछि पर्न नदिऔं, नागरिक सचेत तर सभ्य बनौं अनि नम्र तर सुदृढ बनौं ।

अन्त्यमा युवा कवि मेनुका चापागाईंका उत्साहप्रद कविताका केही हरफका साथ सम्पूर्ण नागरिकको मनोबल बढोस भन्ने कामनाका गर्दै यो आलेखको बीट मार्न चाहन्छु ।

यही कन्दरामा जुनी धन्य पाएँ
गरु कर्म भन्दै धरामा म आएँ ।

यही मर्म छोपी फूलौं कर्म रोपी
कला साधनाले यही सिल्प खोपी ।।

ढिंढो सिस्नु खाएँ सँधै मुस्कुराएँ
यहीं नाच्छु डाँफे चरी झै रमाएँ ।

हिंडी सत्य बाटो गरी उच्च काम
यहीं फोर्छु ढुङ्गा यहीं खोप्छु नाम ।।

म जस्तो धनी को छ होला धरामा
अहा स्वर्ण फल्छन् बलेसी गरामा ।

म नै अन्नदाता बनूँ कर्म ज्ञाता
गरुँ श्रृष्टि नौलो बनूँ मै बिधाता ।।

भनोस् कर्मबादी झुलेका गराले
सँधै धाप मारोस् मलाई धराले ।।

साउन ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्