बेलारुसमा निष्पक्ष कभरेजको मागसहित सरकारी टेलिभिजन अगाडि हजारौँको प्रदर्शन

बेलारुसको सरकारी टेलिभिजनको भवन बाहिर प्रदर्शनकारी। तस्बिर : रोयटर्स

बेलारुसमा विवादास्पद राष्ट्रपतीय चुनावपछि भएको विरोध प्रदर्शनको पूर्ण कभरेज गर्न माग गर्दै हजारौँ प्रदर्शनकारीले राष्ट्रिय टेलिभिजन स्टेशन अगाडि प्रदर्शन गरेका छन् ।

बेलारुसमा अगस्त ९ मा भएको मतदानमा राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले जित दर्ता गरेपछि बेलारुसमा ठूलो प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले चुनावमा धाँधली भएको बताएका छन् ।

हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि प्रहरीसँग झडप समेत भएको छ । तर सरकारी टेलिभिजनले प्रदर्शनको पूर्ण र निष्पक्ष रुपमा खबर सम्प्रेषण नगरेको भन्दै आन्दोलनकारीले टेलिभिजनको स्टेशन बाहिर प्रदर्शन गरका हुन् ।

सुरुमा सरकारी टेलिभिजनले प्रदर्शन सम्बन्धी खबर प्रशारण नगर्ने निर्णय गरेको थियो । त्यसपछि प्रदर्शनकारीलाई दोष लगाउने गरी केही कभरेज गरे पनि त्यो पक्षपाती रहेको भन्दै निष्पक्ष कभरेजका लागि सर्वसाधारणले माग गरेका छन् ।

बेलारुसको निर्वाचन आयोगले सन् १९९४ देखि सत्तामा रहँदै आएका लुकाशेन्कोले अगस्ट ९ मा भएको चुनावमा ८०.१ प्रतिशत मत पाएको बताएको छ ।

विपक्षी उम्मेदवार स्भेट्लाना तिखानोभ्स्कायाले मात्रै १०.१२ प्रतिशत मत पाएको निर्वाचन आयोगको भनाई छ । तर स्भेट्लानाले मत राम्रोसँग गणना गर्न माग गरेकी छन् । उनले आफूले ६० देखि ७० प्रतिशत मत पाएको दाबी गरेकी छन् ।

साउन ३२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्