कार्यदलबारे भ्रम सिर्जना गर्न खोजियो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ-नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न गठित कार्यदलबारे भ्रम सिर्जना गर्न खोजिएको बताएका छन्।

दुई अध्यक्षका निर्णयबाट गठन भएको कार्यदलप्रति श्रेष्ठसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले असहमति जनाएको भन्दै सार्वजनिक भएका समाचारप्रति खण्डन गरेका हुन्।

उनले विवाद समाधानका लागि कार्यदल बन्नु सकारात्मक भएको टिप्पणी गरेका छन्। श्रेष्ठले भनेका छन्, ‘यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।’

शुक्रबार गठित ६ सदस्यीय कार्यदलले कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि पार्टी र सरकारलाई सुझाव दिने उनले दाबी गरे।

उक्त सुझावलाई छलफल गरेर अघि बढ्दा नै पार्टीमा देखिएको विवादले निकास पाउने श्रेष्ठको दाबी छ।

‘कार्यदलले पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ। ‬‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ, प्रवक्ता श्रेष्ठले फेसबुकमा भनेका छन्।

साउन ३२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्