भुवन चन्द। तस्बिरहरु: देशसञ्चार
अभिनेत्री शृङ्खला–२, भुवन चन्द

‘एक समय मलाई इन्डस्ट्रीमा किन आएछु भनेर ग्लानि भो !’ (भिडियोसहित)

‘मलाई त दिक्क लागिसक्यो ! के–के भएको यो ?’ अन्तर्वार्ताको लागि माइक मिलाउँदै गर्दा अनायासै बोलिन् वरिष्ठ कलाकार भुवन चन्द।

उनको दिक्दारी दुईतर्फ लक्षित थियो, ‘कोरोना भाइरस महामारीपछि बन्द चलचित्र नगरी र चलचित्र क्षेत्रसँग सम्बन्धित आइरहेका एकपछि अर्को विवादहरु।’ किनकी उनले सुरु गर्दा कलाकारिता क्षेत्र असाध्यै ‘सफा’ थियो।

सादा कुर्ता सुरुवाल लगाएकी उनको अनुहार पनि सफा थियो।

सुरुमा उनले कोरोना भाइरस महामारीपछि चलचित्र क्षेत्र के होला भन्ने प्रसंग कोट्याइन्। ‘यो संक्रमण पछि एक डेढ वर्ष लाग्छ होला चलचित्र क्षेत्रलाई पहिलाको जसरी सञ्चालन हुन । फाट्टफुट्ट चलचित्र छायाँकन भएका छन्, तर हलसम्म को जाने ?’

भुवनका अनुसार ‘यस्तो आपत चलचित्र क्षेत्रलाई पहिलोपल्ट आइलाग्यो, भूकम्पमा यस्तो भएन, द्वन्द्वकाल फरक बेला थियो।’ अहिले जति निर्माताको चलचित्रमा लगानी भएको छ, चन्दलाई उनीहरुको माया लागेर आउँछ।

उमेर ७० वर्ष काटेकी, नेपालको पहिलो चलचित्र ‘आमा’ की नायिका भुवन यो क्षेत्रकी अभिभावक हुन्। उनी चलचित्रमा कदम चाल्दाको अनुभव यसरी सुनाउँछिन्,

‘वि सं २०२१ सालमा पहिलो चलचित्र बन्यो, त्यसपछि अर्को चलचित्र ‘हिजो, आज र भोलि’ बन्यो। त्यो चलचित्रमा पनि मैले मुख्य भूमिका नै गरे। त्यसपछि चलचित्र बनेन। फिल्म भन्या के हो पनि बुझियो, म स्टेट कलाकार थिए, त्यतै व्यस्त भएँ।’

‘महेन्द्र सरकार कला प्रेमी हुनुहुन्थ्यो, राष्ट्रिय नाच घरमात्र त्यस्तो ठाउँ थियो जहाँ प्रतिभा देखाउन पाइन्थ्यो। नाँचघर राजा महेन्द्रकै पत्नीको नाममा थियो, राजा आफै गीत रच्नुहुन्थ्यो। त्यसैले पनि धेरै कार्यक्रमहरु हुन्थे।’

१० वर्षको हुँदा नाटककार बालकृष्ण समको नाटकमा बालकलाकारको अभिनय गरेर भुवन जानी–नजानी यो क्षेत्रमा आबद्ध भइन्। अनि डबली, जनसेवा हलमा नाच्दै मञ्चमा पुगिन्, त्यसपछि कलाकेन्द्र खुल्यो त्यसैमा आवद्ध भइन्। स्टेजमा प्रस्तुति हुन्थे, उनी ‘लिड रोल’ मा थिइन्।

२०३३ सालतिर उनी जर्मनी गइन्। श्रीमानसँग दुई वर्ष बसिन्। उनी नेपाल फिर्दा कृष्ण मल्ल, शर्मिला मल्लहरुको चलचित्र बनिसकेछन्।

त्यसपछि बनेको चलचित्र ‘वासुदेव’ हो। निर शाहले यो चलचित्र बनाउँदै थिए, भुवनलाई काम गर्ने अवसर आएको हो तर व्यवहारिक कारणले काम गर्न पाइनन्। त्यसपछि उनले काम गरेको चलचित्र ‘दुई थोपा आँशु’ हो।

यो २०३७ सालतिर बन्यो। त्यसपछि भुवनलाई अरु चलचित्रहरुमा पनि देख्न सकिन्छ। उनले अभिनय गरेको पछिल्लो चलचित्र सेल्फि किङ हो भने उनले ‘साइनो’ चलचित्र निर्माण गरिसकेकी छन्।

कलाकारलाई कसरी हेरिन्थ्यो ?

चन्दको पालामा कलाकार बन्न धेरै गाह्रो थियो। एक त निश्चित ठाउँ र समयमा मात्र आफ्नो प्रस्तुति दिने अवसर पाइने, अर्को कुरा नाँच गान गर्ने व्यक्तिलाई समाजले हेयको दृष्टिले हेथ्र्यो। ‘कसैले पढेको छ भने त्यो सचिव, डाक्टर बन्थे।’ चन्दले भनिन्, ‘अहिले पनि अगाडिमात्र ‘कलाकार बन्ने रे’ भनेको सुन्दा खुसी हुने हो नत्र मनमा त खिस्स।’

हुन त स्कूलमा नै नाँचगान गराउने चलन भएकोले परिवारले स्वीकारेका हुन्, नत्र भने हाम्रो काम अझै पनि मन पराउँदैनन् । चन्द भन्छिन्, ‘यो क्षेत्रलाई मान्छेले नबुझेर मात्र हो, नत्र यो क्षेत्र अति नै सुन्दर छ।’

अहिले चलचित्र कस्ता भए?

कलाकारको लागि चलचित्रको संख्या बढ्नुजत्तिको खुशीको कुरा अरु के होला ? तर हिजोआज चलचित्रको गुण भन्दा संख्या धेरै भए। लगानी धेरै भए। मानिस लगानी उठाउन थाले, कथा भन्न छोडे।

पहिला ६–८ महिना चलचित्र बनाउन नै लाग्थ्यो। जसरी हुन्छ राम्रो चलचित्र बनाउने भन्ने ध्याउन्ना हुन्थ्यो। भुवन भन्छिन्, ‘त्यसैले अहिलेसम्म यादगार चलचित्रहरु बनेका छन्।’

नायिका बन्नलाई के चाहिन्थ्यो ?

‘मलाई चलचित्रमा काम गर्ने भनेर छान्दा ‘अडिसन’ लिइएको थियो।’ हिरोइन हुनका लागि स्थापित केही मानकहरु ‘राम्री हुनुपर्छ, कोकाकोला जस्तो शरीर हुनुपर्छ, अथवा अग्लो हुुनुपर्छ’ भन्ने कुरा अलि कडा रुपमा लागु भएन । ‘अग्लो हुनपर्थ्यो भने मलाई शायद लिँदैनथे।’ भुवन भन्छिन्, ‘तर अभिनय नआउने सर्त भने थिएन।’

चन्दको पालामा जस्तो पात्र त्यस्तै खालको शारिरीक हाउभाउलाई धेरै प्राथमिकता दिइन्थ्यो। ‘अहिले त हिरोइन नै ‘भिलेन’ बनेर खेल्छन्, उनीहरु नै कमिडि गर्दै हिँड्छन्। समय अर्कै भइसक्यो।’

चन्दको अनुभवमा अहिले जस्ता एकेडेमीहरु त्यो बेलामा थिएनन्, जसले कला सिकओस्। त्यो बेला नाचघरमा गुरुले सिकाएको आधारमा गर्नुपर्थ्यो। कलाकार सीमित थिए तर राम्रा कलाकार थिए। चलचित्र पनि धेरै बन्ने थिएनन्, कलाकारबिचमा प्रतिस्पर्धा थिएन बरु चलचित्र कसरी राम्रा बनाउने भन्ने मात्र थियो।

महिला कलाकारमाथि गरिने व्यवहार

हिजोआज महिला कलाकारलाई फरक व्यवहार छ भन्ने कुरा धेरै सुनिन्छ तर भुवनको करियर सुरु हुँदा यस्तो प्रवृत्ति थिएन। ‘मलाई लाग्छ, निर्देशक र निर्माताको ध्यान ‘राम्रो कलाकारलाई लिएर राम्रो चलचित्र बनाऔँ’ भन्ने थियो, अरु कुरामा थिएन। मैले कहिले पनि त्यस्तो कुरा सुनिनँ।’

पारिश्रमिकको कुरा गर्दा भुवन काजमा खटिएकी थिइन्। नियमित मासिक तलब (२००) नै उनको पारिश्रमिक थियो। उनी सँस्कृति विभागबाट पुरातत्व विभागमा खटिइन्।

‘त्यो बेलामा पैसा कमाउन भन्दा पनि चलचित्र कस्तो हुने रहेछ भनेर जान्नलाई खेलियो।’ भुवन भन्छिन्, ‘हिजो आज भोलिमा चाँही मैलै ४ हजार रुपैयाँमा सम्झौता नै गरेको हुँ। यो २०२२ सालतीरको कुरा हो।’ त्यो बेलामा केटा र केटी कलाकारमा पारिश्रमिक फरक थिएन।

महिला कलाकारमाथि हुने दुर्व्यवहारको कुरा

‘म ती महिला कलाकारलाई मान्छु जसले आफूलाई यो निर्देशकले, यो निर्माताले शोषण गर्‍यो भन्छन्। मैले शुरु गर्दा त हैन, ४, ५ वर्ष अगाडि पत्रपत्रिकामा हेडलाइन राखिएको थियो।’ भुवन भन्छिन्, ‘तर धेरै कुरा आफैमा निर्भर हुन्छ।’

भुवनको व्यक्तिगत अनुभव छैन । ‘मेरो जागिर थियो, मञ्चमा हुने कार्यक्रममा नै व्यस्त हुन्थे, वर्षमा एक वा दुई चलचित्रमा मात्र काम गरे मैले।’ त्यसैले उनलाई धेरै ठाउँमा ‘सिनियर कलाकार’ भनेर सम्मान मिल्यो। बरु चन्दले ‘दिज्यू, मेरो पहिलो चलचित्रमा काम गर्दिनु पर्यो’ भनेर केही चलचित्रमा सित्तैमा काम गरेको अनुभव भने बटुल्न भ्याइन्।

भुवन केही विषयलाई व्यक्तिगत र व्यवसायिक रुपमा छुट्याउन पर्नेमा जोड दिन्छिन्। ‘मलाई कोही सेटकै मान्छे मन पर्छ भने त्यो मेरो नितान्त व्यक्तिगत जीवन हो, तर मन पर्ने, मन नपर्ने कुराले कसैको प्रयोग भने गर्नुहुँदैन।’

चन्द भन्छिन्, ‘हाम्रो समाजले केटीलाई कसरी लिन्छ भन्ने थाहा छ, त्यसैले कसैसँगको सम्बन्धको बारेमा कुरा खोल्दा आफूले के गरेको थिए भन्ने कुरा भुल्न हुँदैन। सम्बन्धको आधार के थियो भन्ने कुराले महत्व राख्छ नत्र यो नितान्त महिलालाई नंग्याउने काम मात्र हुन जान्छ।’

उनी भन्छिन्, ‘यसो भन्दैमा आफूलाई शोषण भएको छ भने चुप बस्नुपर्छ भन्ने हैन। जतिबेला पर्छ, त्यतिबेलै बोल्नुपर्छ।’

चलचित्र क्षेत्रको विकृति

राम्रा नराम्रा कुरा सबै क्षेत्रमा हुन्छन्। चन्दको अनुभवमा चलचित्र क्षेत्रमा एक पल्ट यस्तो समय आयो जतिबेला अवसरका लागि धेरै कुराको ‘बार्गेनिङ’ हुन्थे।

‘केही छन्, जो कलाकार बन्न आउँछन्। सिकेको हुँदैन अनि दोस्रो बाटो अपनाउँछन्।’ चन्द भन्छिन्, ‘पर्दा अगाडिको सम्बन्ध के हो सबैलाई थाहा हुन्छ, पर्दा पछाडिको कुरा व्यक्तिमा भर पर्छ।’

चन्दका अनुसार केही नाम र फेमको लागि मात्र यो क्षेत्रमा आउँछन्। अभिनय गर्नेले खुल्लामा गर्छन्, लुकेर गर्ने काम त के हो के हो ? यस्तो फाइदाका लागि बनाइएका सम्बन्धहरुमा फसाउने नियत लुकेका हुन्छन्। यसले मात्र बदनामी हुन्छ।

भुवन भन्छिन्, ‘अवसर लिने ठाउँ बनाउनु हुँदैन।’ चलचित्रको छायंकन सकिएपछि हिराइन लिएर हिँड्ने निर्देशक, निर्माताहरु छन्। सँगैबसेर रक्सि खान्छन्। ‘हाम्रो बेलामा त्यस्तो थिएन। बिचमा यस्तो विकृति पनि देखियो ।’ चन्द भन्छिन्, ‘अहिले कलाकार महिला, वा पुरुष कसलाई कहाँ गएर के गर्ने भन्ने राम्रोसँग थाहा छ। अहिलेका पुस्ता व्यसायिक अभ्यासमा छन्।’

हिजो आज कलाकार च्याउ उम्रिएका जस्ता छन्। चलचित्र क्षेत्र फराकिलो हुँदै गएपछि विभिन्न पाटाहरु आउँनु सामान्य हो। जमाना फरक छ, हेर्ने आँखा फरक भएको छ। ‘मेरो पालोमा चौबन्दि चोलो चल्थ्यो, अहिले मान्छेलाई उदागिंएको मन पर्छ।’ भुवन भन्छिन्, ‘तर चलचित्र बनाउँदा कथा चाँही होस्।’

चन्दले याद गरिन्, एक समय तीन, चार ओटा हिन्दी चलचित्र हेर्यो अनि कथा बनायो, निर्माता खोज्यो अनि चलचित्र बन्यो । निर्माता पनि आफ्नो स्वार्थ हेरेर आउँने, पाँच–छ जना मिल्ने र चलचित्र बनाउने नाममा फरक खालको काम गर्ने चलन चल्यो। पैसा लगानी गरेर हिरो बन्न पनि आए।

‘एक समय त म यो क्षेत्रमा किन आएछुँ भन्ने लाग्यो, जब यो क्षेत्रलाई ऐयासीको रुपमा हेरिन थालियो।’ चन्द भन्छिन्, ‘त्यो बेला हिरोइनलाई ऐयासी गर्ने साधन जसरी प्रयोग गरियो।’

हुन त ग्ल्यामरकै कारण आफूलाई कलाकार बनाउन आउने हिरोइनलाई चन्द कलाकार नमान्ने बताउछिन्। जब कलाकारिताको नाममा अर्कै चिज भयो चन्दलाई ‘नमज्जा’ लाग्यो। किनभने उनले भोगेको चलचित्र क्षेत्र पवित्र थियो।

नयाँ पिढीलाई सुझाव

चन्द यो क्षेत्रमा पाइला टेक्दा यो क्षेत्र के हो ? नबुझि नआउन सुझाव दिन्छिन्। ‘पढेर आउनु पर्छ। पढेर नै बुद्धि आउँछ। एकेडेमीहरु खुलेका छन्, सिकेर आउनु पर्छ किनभने प्रतिस्पर्धा धेरै भईसकेको छ।’ चन्द दोहोराउछिन्, ‘इन्डस्ट्री बुझेर मात्र आउनुपर्छ।’

राम्रा नराम्रा पक्षहरु धेरै नै हुन्छन्। म के गर्छु, के हुन्छ के हुँदैन भन्ने ज्ञान हुन आवश्यक छ। कलाकारिता गर्न जाने हो या अरु के भन्ने कुरा खुलस्त हुन जरुरी छ। उनी भन्छिन्, ‘यो क्षेत्रमा लाग्न अहिलेको समयमा अभिभावकको जरुरी छैन, कलाकारहरुले सिक्न जरुरी छ। समय दिनसक्नुपर्छ दिग्गजलाई मान्नुपर्छ।’

चन्दले पछिल्लो समय चलचित्र निर्माणमा हात हालिन्, त्यो बेलामा उनले यो क्षेत्रलाई जेरी जेलिएझै चुनौतिपूर्ण पाइन्। कलाकार भएर चलचित्र क्षेत्र बुझ्न गारो भयो। चन्द सुझाव दिन्छिन्, ‘नयाँ आउने निर्मातालाई पुरानो निर्मातालाई बुझेर मात्रै आउनुहोस्। निर्देशक पनि राम्रो समूह हेरेर मात्रै काम गर्नु होला।’

‘हामीले समाजसँग धेरै संघर्ष गरेर आयौँ, कलाकारिता क्षेत्रको जग बसेको छ। अहिले बा आमाले सजिलै अनुमति दिन्छन्। त्यो बेलामा यही क्षेत्रमा लागेर बाँच्न गारो थियो। बिचमा धेरै कलाकार विदेश पलायन भएका छन्। अहिले कलाकारको पारिश्रमिक राम्रो पाएका छन्।’

अन्त्यमा चन्द भन्छिन्,

‘विकृति ल्याउने नल्याउने आफ्नो हातमा छ, किनकी कला क्षेत्र निकै सुन्दर छ।’

भदौ १, २०७७ मा प्रकाशित