हाम्रा सरकार प्रधानका राम्रा उखान टुक्काहरु सुनेर र त्यसलाई मनमा गुनेर दंग परिरहेका जनता तिनका उपप्रधानको उखान टुक्का प्रस्तुत गर्ने शैली देखेर यिनले त्यसै केही नगरकिन अकुत थैली भित्र्याएका होइन रहेछन् भन्ने निष्कर्षमा पुगेका छन् ।

सरकार प्रधानले उखान टुक्का सुनाउने मात्रै गरेका थिए भने उनका उपप्रधानले त्यसको परिभाषा र सप्रसंग व्याख्या समेत गरेर र प्रधान भन्दा पनि एक कदम अगाडि सरेर अनि उस्तै परे आफ्नाे औकातबाट तल समेत झरेर सुनाउने गरेका कारणले भविष्यमा यिनले सरकार प्रधानलाई पनि माथ खुवाएर सबै श्रोताहरुको साथ पाउनेमा शंका गरि राख्न पर्ने कुरै आएन ।

यिनलाई नेपालीभन्दा पनि हिन्दी उखानमा अलि बढी ज्ञान भएकोले यिनको पनि उतैतिर ध्यान भएजस्तो देखिन्छ । यिनले हालसालै सप्रसँग ब्याख्या गरेको ‘लकीरका फकिर’ भन्ने उखानले निकै चर्चा पाएकोले यसमा आफ्नाे दखल देखाउन यिनलाई कुनै पर्चा छरिराख्न परेन । यिनको भनाई अनुसार कुनै जोगीले भिक्षा धेरै माग्ने हो भने ठाउँ र तरिका बदली राख्न पर्छ भन्ने शिक्षा लिन पर्छ रे । उही पुरानै तरिका अपनाउने हो भने भिक्षा नपाउने सम्भावना बढी हुन्छ रे ।

यो यिनको अहिलेसम्मको अनुभवबाट प्राप्त ज्ञान भएको हुनाले यसमा सबैले ध्यान पुर्याउन पर्छ । सबैले आआफ्ना अनुभवहरु नै बताउने र त्यसैबाट आफ्नाे बाटो तताउने अनि भनेजसरी खान नपाए अरुलाई सताउने हुन् भन्ने सबैलाई थाहा छ ।

यिनले लकीरका फकिर भएर एकै तरिका अपनाउँदा उद्देश्य हाँसिल हुँदैन भन्नु ज्यादै ठीक हो । यसमा उनले अहिलेसम्म बुद्धि बल शक्ति शिक्षा आदि सबै प्रयोग गरेर हाँसिल गरेको धन सम्पत्तिको रहस्य लुकेको हुनाले यिनका क्रियाकलापहरु अर्कै दिशातिर झुकेको, लकीरका फकिर नहुनाले यिनको आमदानीको श्रोत जहिले पनि फुकेको र यिनको शिक्षा अबलम्बन नगर्नेको आमदानी जहिले पनि सुकेकोबारे कसैलाई पनि जानकारी छैन भन्ने यिनको सोचाई छ ।

तर जनताहरु यिनले चालेका र यिनले आम्दानी गर्न थालेका हरेक पाइलाहरुसित परिचित छन् । यिनलाइ बिगतदेखि वर्तमानसम्म चिन्नेहरुका अनुसार यिनले आफू लकीरका फकिर हुन सानैदेखि छोडेका हुनाले नै जीवनमा प्रसस्त सम्पत्ति जोडेका रहेछन् । सबैले आफूले जानेको, आफूले ठीक छ भनेर मानेको, आफूले त्यसैबाट फाइदा तानेको, आफूले ठीक हो भनेर ठानेको र लकीरका फकिर भएर एउटै बाटो हिँडेर भिक्षा गुमाउनुभन्दा नयाँ नयाँ बाटो पहिल्याएर प्रशस्त नगद तानेको विषयमै बढि जानकारी हुने र त्यसैले जहिले पनि दिमाग छुने भएकोले अरुलाइ बारम्बार बताउने र सोझासिधालाई सताउने अनि लाजशरम पचाएर आमदानीको बाटो तताउने पनि त्यहि कुरा नै हो ।

यिनले आफू लकीरका फकिर भएर नियम कानून, सिद्धान्त, आदर्श, सदाचार सत्चरित्र सद्विचार आदि मानेर र यसैलाई सबैथोक ठानेर बसेको भए अहिलेको अवस्थामा आइपुग्ने कुनै सम्भावना नभएको पहिल्यै जानेर अनि आउने जति सबैतिरबाट सबैथोक तानेर नवधनाढ्यको सूचिमा आफूलाई दर्ता गरेर माथिपनि मजाले बुझाएको हुनाले शासनको हर्ताकर्ता हुन सकेको कारणले जसरी जहाँबाट हुन्छ आफू पनि मजाले खाउ र आफ्नाहरुलाई पनि खुवाउँ भन्ने सिद्धान्त नै यिनको लागि सर्वोपरि हो भन्ने यिनलाई नजिकबाट चिन्नेहरुको अनुभवले बताउँदो रहेछ ।

जानकारहरुका अनुसार यिनको जन्म पनि यिनीजस्तै अरु सरह पहाडको दुर्गम गाउँको सामान्य परिवारमा भएको रहेछ । आफ्नो उब्जनीले मुस्किलले वर्षदिन खान नपुग्ने हुनाले यिनको बाल्यकाल अभावमै बितेको भएपनि छट्टु र फटाहा हुनाले त्यसबेलापनि यिनले आफ्ना समकालीनहरुलाई जितेको भन्ने सुनिन्छ । लुच्याइँ छुल्याइँ फट्याइँ ठगाइँ आदिको साथै गरिबीको कारणले आफ्ना करिबीले समेत पत्याउन छोडेपछि मुश्किलले बाटोखर्च जुटाएर राजधानी छिरेका रहेछन् ।

राजधानी छिरेपछि सानातिना मजदुरी देखि लिएर अर्काको घरमा घरेलु सहयोगीको रुपमा काम गरेर अलि अलि पढ्दापढ्दै जग्गा दलालहरुको सँगत पाएर र उनीहरुकै खान्की खाएर दलालीको तरिका सिक्दै अनि छट्टु र धुर्त हुनाले जतासुकै बिक्दै गएकोले छोटै समयमा दलालीमा विज्ञता प्राप्त गरेका रहेछन् । जग्गा दलाली, बालुवाखानीमा दलाली, ढुंगाखानीमा दलाली, उठ्तीपुठ्तीमा दलाली आदि गर्दागर्दै राजनीतिमा घुसेछन् र लुच्याइँफट्याइँ जस्ता राम्रा गुणहरुले गर्दा छोटै समयमा राम्राराम्रा पदहरुको मजा चुसेछन् ।

अहिले पनि राजधानीमा मात्रै यिनको स्वामित्वमा एक देखि डेढसय रोपनीसम्म जग्गा छ रे भन्ने सुनिन्छ र यस्तै मान्छे जनताबाट पनि चुनिन्छ अनि सोझासाझा उम्मेदवारहरुको अवसर थुनिन्छ । ठूला बजार, सपिङ्ग कम्प्लेक्स, हाउजिङ्ग, अपार्टमेन्ट आदिमा पनि ठूलै लगानी छ रे भन्ने हल्ला पनि गर्छन् । मान्छेले बढाइ चढाइ मात्र गरेका भए थाहा भएन । उनकै परिभाषा अनुसार लकीरका फकिर भएर गाउँमै बसेका भए यत्रो साम्राज्य कहाँबाट हुनु ?

राजनीतिक दलमा लागेर माथिल्लो तहमा पुगेपछि बेलाबेलामा दल फुट्दापनि र जुट्दापनि मौकाको सदुपयोग गर्दै करोडौँ कुम्ल्याउन सफल भएको भन्ने बजारे हल्लामा सत्यता भएको त समाचारलाई कसैले पनि खण्डन नगरिएकोबाट पनि केहि कुरा बुझ्न सकिन्छ । केही वर्ष अगाडि अख्तियारले घरमा छापा मार्छ रे भन्ने सुराकी पाएपछि र फेलापर्ने समस्या आएपछि घर परिवार मिलेर रातारात घरको पानी ट्यांकीमा करोडौँ लुकाएर राखेको अनि अख्तियारको सुराकीले पनि मजैले कमिशनको खुराकी चाखेको भन्ने हल्ला अहिलेसम्म सेलाएको पनि छैन र यसलाइ कसैले मिहिन तरिकाले केलाएको पनि छैन । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नगरीकन पानीट्यांकीमा समेत नअटाउने नगद थुपार्न सक्नेले मिलेसम्म कमिशन नठटाउने र सहयोग नगर्नेलाइ डाँडो नकटाउने कुरै भएन । यसमा पनि लकीरका फकिरको सप्रसँग व्याख्या ठ्याक्कै मेल खाएको देखिन्छ ।

यी त पुराना कुरा भए अनि सबैले बिर्सँदै पनि गए । यसपाली उप प्रधान भएपछि र पहिलेभन्दा ठूलो कुर्सीमा गएपछि लकीरका फकिर नभएर आफ्नाे बाटो बदलेर बढि आटो बटुल्ने बानिलाई अझ फैलाउँदै जान परिहाल्यो अनि मौका हात पर्नासाथ आफ्ना सबै सहयोगीहरुसहित काममा अघि सरिहाल्यो । बहुमूल्य सरकारी जग्गा आफू नजिकका व्यापारिक घरानालाई कौडीको भाउमा नियम विपरित भाडामा दिएर दाउ छोप्ने कार्यमा सम्बन्धित विभागीय अध्यक्षले असहयोग गरेपछि नियमाबली नै संशोधन गरेर धन कमाउने उद्देश्यले सरकार प्रधानले लकीरका फकिर सिद्धान्तका विरोधी यिनलाई अध्यक्ष बनाएपछि ठूलो कमिशन हात पारेर त्यस समूहले भाडामा लिइरहेको गोकर्णको होटलसहितको जग्गाको म्याद सकिन पाँच वर्षभन्दा बढी समय बाँकी हुँदाहुँदै म्याद थप गर्नुका साथै अन्य नयाँ र लाभदायक स्थानका जग्गाहरु भाडामा लिनेले नै तोकेको भाउमा दिनेगरि सही ठोकेको पनि धर्म कमाउन र परोपकारमा रमाउन मात्रै त पक्का पनि होइन होला ।

करार अवधि सकिन पाँचवर्षभन्दा बढी समय बाँकी हुँदाहुँदै म्याद थपेको र यसबाट सम्बन्धित सबैलाई ज्यादा से ज्यादा लाभ मिलोस् भनेर जपेको संसारकै दुर्लभ घटनामा शायद यो कार्य पर्न सक्छ होला । अध्यक्षमात्रै बदलिएको नभएर भाडामा लिने व्यापारिक समूहका कर्मचारीलाई पनि सरकारी समितिमा सदस्य नियुक्त गरेर गौरवान्वित हुने कामले मोटो नगद छुने सौभाग्य पाउन पनि ठूलै कर्म लिएर जन्मन पर्ने रहेछ । देश रक्षाको जिम्मा लिने उपप्रधानले दलाल, बिचौलिया, घुसखोर, कमिशनखोर, भ्रष्टाचारीहरुको मात्रै रक्षाको जिम्मा लिएपछि र यस्तैमा मात्रै चासो दिएपछि यो पदलाइ पनि यिनिहरुकै नासो बनाएको देख्दा भोट दिएर जिताउने जनता चाहिँ हर्षले गदगद भएका छन् भन्ने सुनिन्छ ।

लकीरका फकिर नहुने र हात लागि हुने भएपछि सानोतिनो रकम नछुनेलाई कोरोना पनि मजाले कमाउने र त्यसको लागि विचौलियाहरु समाउने सुवर्ण अवसरको रुपमा आयो । सुरुमै जाँचका उपकरणहरु खरिदमा कमिशनको चक्करले गर्दा सर्वसाधारणले अनेक खाले ठक्कर खान पर्यो । यसमा त आफ्नो छोरा र अर्का स्वास्थ्यको जिम्मा पाएका मन्त्रीका छोरालाई प्रयोग गरेर कहिल्यै स्वास्थ्य सम्बन्धी काम नगरेको ओम्नि नामक कम्पनिलाई निकै महंगो मूल्यमा सामान आपूर्तिको टेण्डर दिने र त्यसबाट सबैले ठूलो कमिशन लिने चाँजोपाँजो मिलाएर अनि बिरोध गर्नसक्नेहरुको मुख सिलाएर भएपनि उसैलाई टेण्डर दिलाएर अगाडि बढ्दा समयमा सामान नआएको र निकै ढिलो आउँदा पनि सक्कली नपाएको हुनाले सबै खेल छताछुल्ल हुन पुग्यो । यसबाट देश र जनताले कुनै लाभ नपाए पनि उनीहरुले मोटो कमिशन पाए र छोराहरुले अहिले देखिनै भविष्यमा सफल नेता कसरी बनिन्छ र सरकारी काम गर्नु के लाइ भनिन्छ भन्ने राम्रो अनुभव बटुल्न पाए । यो नै यस खरिद प्रकरणको सबैभन्दा राम्रो पक्ष र उनीहरुको एकमात्र लक्ष हो ।

यसै गरेर कोरोना जाँच्ने मेडिकल जाँच उपकरण र अन्य सामानहरु खरिदको जिम्मेवारी, क्षमता र त्यसैको लागि जनताको करबाट पालेर राखेको मन्त्रालयले खरिद गरेर ल्याउने काम समेत गर्न नसकेको देखेर यसको भर पर्न नसकिने देखेर सरकार प्रधानले कुनै हिसाबले पनि यसमा जिम्मेवार नभएको संस्थालाई खरिद गर्न लगाउँदा त्यसमा पनि लकीरका फकिर उखानवालाले कमिशन नपाउने कारणले असहयोग गर्दै अप्ठ्यारो मात्रै पार्दै आएको प्रष्ट भयो । छोरा र उसका सहयोगीहरु मार्फत छोटो समयमा मोटो कमिशन हात नपरिकन दस्तखत नै नगर्ने र जिटुजि खरिद प्रणालीमा खल्तिमा पर्ने गरि केही नझर्ने भएपछि असहयोग गरेर असफल गराएर सबैलाइ अलमलाउने र फेरि विचौलियाहरु मार्फत छोराहरु चलमलाउने अनि यसबाट आफ्नो बैंक खाता झलमलाउने अबसरबाट बन्चित हुने देख्दादेख्दै लकीरका फकिर भएर बसिराख्न सकिने कुरा पनि आएन ।

त्यसै गरेर फास्टट्र्याक हो कि एक्स्प्रेसवेको लागि पनि परामर्शदाता र ठेकेदारहरु आफ्नो छोरा मार्फत नियुक्त गर्न पाए मनग्गे आमदानी गर्न सकिने र कमाइसँगै त्यो सडक मैले बनाएको भनेर चुनावमा बकिने हुनाले दोहोरो फाइदा लिने कुरामा पछि हट्नु त मुर्खता नै भइहाल्यो । हरेकै किसिमका विचौलियाहरु, ठकेदारहरु, कमिशन एजेन्टहरु, भ्रष्टाचारीहरु आदि सबै आफ्नो समूहमा भएका उपप्रधानले बिना व्यक्तिगत आम्दानी त्यत्रो सडक बनेको छ भने पनि उनको बिगत हेरेर कसैले पत्याउने अबस्था नभएकोले सबै नैतिकतालाई लत्याउने र मिलेसम्म कमिशन हत्याउने विचारमा तगारो हाल्न खोजेपछि र कमिशन नदिने बाटो रोजेपछि बाध्य भएर उनले लकीरका फकिरको व्याख्या गर्नै पर्ने बाध्यता आइपरेको बुझियो ।

त्यसै गरेर ठूलो मात्रामा खरिद गरिने हतियार र अन्य उपकरणहरुको खरिदबाट कमिशन खान पाए छोटै समयमा ढुकुटी भरिने भनेर मुख मिठ्याउँदा मिठ्याउँदै त्यसको कमिशनबाट पनि वन्चित भइएला जस्तो अबस्था देखिएपछि खप्न र सहन नसकेर त्यो उखान सुनाएर भएपनि केही झार्न, मोटो कमिशन मार्न, सिधै भन्न नमिल्ने कुरा उखान मार्फत घुमाउरो भाषामा अगाडि सार्न र कसैले केही जानेका बुझेका छैनन् भने जसरी उखान टुक्काको सहारा लिने अनि आफ्नो भित्री इच्छाको जानकारी पनि दिने सारै राम्रो आशय सहित दिएको उदाहरणलाई अरुले पनि उच्च मूल्यांकन गर्दै र यसैको आधारमा कमिशनमा चर्दै सर्पपनि मरोस् र लौरोपनि नभाँचियोस् भनेर उखानको झटारो हान्दा बेकारको चटारोमा परिएला भन्ने थाहा पाउन सकिएको भए यस्तो कुरा नै हुने थिएन होला ।

विदेशीले जबरजस्ती बोकाएको डलरको धोक्रो बोकेर उनिहरुकै खोक्रो योजना अनुसार उनीहरुले हल्लाएको कोक्रोमा मच्चिएर र उनीहरुले योजना अनुसार बसालेको कुर्सीमा थच्चिएर उनीहरुकै गोटी बनेर उनिहरुकै स्वार्थ बमोजिम काम गरेर अपार सफलता पाएको गुड्डि हाँक्दाहाँक्दै जनताको नजरमा कुन स्तरमा झरियो र कुन बर्गमा परियो भन्ने पनि बुझ्ने प्रयास गरे राम्रै हुन्थ्यो होला । उतैको इशारामा धर्म, सँस्कृति, परम्परा, नैतिकता, आदर्श आदि सबै ध्वस्त पारेको र सबैतिरबाट कमिशन मारेको अनि सबै क्षेत्रको स्तरलाइ रसातलमा पुग्नेगरि झारेको महान उपलब्धीबाट सन्तुष्ट र गौरवान्वित हुँदै अन्धकार भविष्यतिर उन्मुख हुँदा पनि सारै ठूलो काम गरे जसरी कुर्लँदै र जतापनि कमिशनको लागि उर्लँदै हिँड्दा पनि साबिक पदमा अझ बलियो तरिकाले अड्नु र त्यसै अनुसार अगाडि बढ्नुमा सरकार प्रधानको समेत मिलेमतो छैन भन्न सकिन्न भन्छन् अबुझ जनताहरु ।

प्रशासन क्षेत्र ध्वस्त,शिक्षा क्षेत्र ध्वस्त,कूटनीतिक क्षेत्र ध्वस्त, स्वास्थ्य क्षेत्र ध्वस्त, व्यापार बाणिज्य क्षेत्र ध्वस्त, दैनिक शान्ति सुरक्षा कायम राख्ने संस्थाहरु ध्वस्त, न्याय क्षेत्र ध्वस्त, यातायात क्षेत्र ध्वस्त, विकास निर्माण क्षेत्र ध्वस्त, औद्योगिक क्षेत्र ध्वस्त, रोजगारी क्षेत्र ध्वस्त, जनताका सरोकार र जीविकाका क्षेत्रहरु ध्वस्त आदि गन्ने र भन्ने हो भने देशका सबै क्षेत्र नै ध्वस्त पारिसकेपछि जनताले पूर्ण भरोसाको केन्द्रको रुपमा सम्मान गरेको र देश र जनताको लागि कसैसित सम्झौता नगरी अघि सरेको एउटै मात्रै बाँकी संस्थालाई पनि आफूजस्तै कमिशनखोर बनाएर धराशायी पार्न र बर्तमान स्तरबाट झार्न पाए विदेशीबाट अझ ठूलो आशिर्बाद र स्याबासी पाउने आशामा काम भइरहेको हो कि जस्तो देखिन्छ ।

यहि उद्देश्य परिपूर्तिको लागि असहयोग गर्ने, मौका खोजिखोजी बदनाम गर्ने, कमिशनको लागि आफ्नाे पदको ख्यालै नराखी तल झर्ने, नियम विपरित काम गर्न नमानेमा आँखा तर्ने र कमिशन प्राप्त हुन्छ भने जस्तोसुकै बदमाशी गर्नपनि अघि सर्ने गरेर धेरै ठूलो कीर्तिमान कायम गर्ने प्रयास भइरहेको देखेर जनता पनि दंग परेका छन् । जे भएपनि जीवनमा ठूलो मान्छे बन्नु र धेरै नोट गन्नु छ भने लकीरका फकिर हुन हुँदैन भन्ने उनको भनाइ सोह्रै आना सही हो ।

भदौ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्