एक कोरोना संक्रमितको आक्रोश-सरकार, हामी जनता हो कि फुटबल ?

मैले कोरोनाको परीक्षण टिचिङ अस्पताल महराजगञ्जमा आइतबार गरेँ। सरकारको नियम अनुसार ५ हजार ५ सय रुपैयाँमा कोभिड परीक्षण गर्नु पर्ने थियो।पहिले ५ हजार ५ सय तिरेपछि फेरि आवश्यक कीट किनेर ल्याउन भनियो।

त्यस बापत फेरि मैले ३ सय ७५ रुपैयाँ तिर्नुपर्‍यो।सरकारले गरेको घोषणा अनुसार सबै ५ हजार ५ सय रुपैयाँमा नै हुनुपर्ने थियो। त्रासपूर्ण मानसिकता भएको बेला केही नबोली तिरेँ। स्वाव दिएपछि, मंगलबार बिहान १० बजे १३ नम्बर काउन्टरमा आएर रिपोर्ट लिन भनियो।

म मंगलबार सम्पर्क गर्दा, रिपोर्ट दिन सकिँदैन तपाईंलाई फोन आउँछ भनियो।मैले रिपोर्ट दिनोस्, यदि म संक्रमित भए अरुलाई सर्न सक्छ। म आइसोलेसनमा जान्छु भन्दा पनि रिपोर्ट दिएनन्।मैले ल्याबको फोनमा फोन गर्दा, तपाईंलाई EDCD टेकुबाट फोन आउँछ भनियो। मंगलबार कुरेँ फोन आएन। बुधबार बिहान म आफैले फोन गरेँ हामी कहाँ रिपोर्ट आएको छैन भनियो।

बेलुका चिनेको मान्छे खोजेर फोन गरेँ, उनले ‘सुटुक्क’ पोजेटिभ छ भनेर फोन राखे। तर, औपचारिक रुपमा के हो थाहा पाउन सकिएन। बिहीबार पनि मलाई फोन आएन। एक जना पत्रकार दाइले स्वास्थ्यमन्त्रीको सचिवालयमा फोन गरेर गुनासो गरेपछि बिहीबार बेलुका फोन आयो- ‘तपाईंको पोजेटिभ छ।’ त्योभन्दा अरु केही कुरा भएन।

मेरो कन्ट्याक्ट् ट्रेसिङ, मेरो स्वास्थ्य अवस्था केही सोधिएन। मैले आफैँ भन्न खोज्दा वार्ड अफिसबाट फोन आउँछ भनेर। आज १० दिन भयो, कतैबाट न त फोन आएको छ, न त कन्ट्याक्ट् ट्रेसिङ भएको छ।यो बेलामा मेरो स्वास्थ्यमा समस्या पनि देखियो। हाम्रो घरमा नै स्वास्थ्यकर्मी भएकाले सम्बन्धित रोगको डाक्टरसँग सम्पर्क गरेर व्यवस्थापन गर्न सम्भव भयो।

के सबैलाई यो सम्भव होला ? अझ बिडम्बना: मैले स्वास्थ्य विमा गरेको थिएँ। त्यो दाबी गर्न रिपोर्टको जरुरी पर्छ। मैले रिपोर्ट मागेँ। सुरुमा EDCD ले एक हप्ता कुर्नोस् आफै आउँछ भन्यो। एक हप्ता कुरेँ अनि फेरि सम्पर्क गरेँ, हामीले दिने होइन, टिचिङले दिने हो, उहाँ सम्पर्क गर्नोस् भनियो।

फेरि टिचिङमा पुग्दा, हामीले दिन मिल्दैन, मन्त्रालयको पत्र लिएर आउनोस् भनेर आज जवाफ पाएँ। अब मन्त्रालयमा एउटा पत्र खोज्दै कहाँ जाउँ?आफैँ पैसा तिरेर स्वास्थ्यको जानकारी लिन पनि मन्त्रालयको सिफारिस ?

आफ्नो रिपोर्टको लागि पनि भनसुन गर्नु पर्ने हो? यस्तो हो भने कुनै दिन आफ्नो रिपोर्ट लिन पनि घुस खुवाउन पर्‍यो भन्दा अचम्म मान्‍‍न पर्ने छैन।

ए सरकार, हामी जनता हो कि फुटबल ?

भदौ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्