माधव घिमिरेलाई बिदाइ गर्दै अमृत गुरुङ भन्छन्, ‘यदि अर्को जुनि छ भने फेरि भेटौँला!’

दु :ख कलाकारको भागमा हुन्छ नै !

उहाँ १०१ वर्ष बाँचेर आज स्वर्गारोहण हुनुभयो । १०१ वर्ष बाँच्नुभयो भन्दा पनि उहाँ कसरी बाँच्नुभयो त्यो महत्वपूर्ण कुरा हुन्छ। उहाँले जुन कालखण्ड बाँच्नुभयो, मलाई उहाँ एकदमै भाग्यमानी मान्छे लाग्छ ।

केहीपल्ट म उहाँको घर पुगेको छु, हामी फुर्सद हुँदासम्म उहाँलाई भेट्न उहाँकै घर जान्थ्यौँ। उहाँसँग बस्दा यस्तो लाग्थ्यो, सफा ठाउँमा बसेका छौँ। उहाँ सफा ठाउँमा बस्नुहुन्छ। कतै पनि दाग छैन। जस्तो उहाँको गीत कविता छन्, त्यस्तै अनुभव हुन्थ्यो।

उहाँ मेरो मन परेको कवि, बच्चैबाट ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ गीत सुनेर हुर्किएको हुँ। हामी ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ गीत सुनेका मान्छे हौँ। उहाँ श्रद्धेय मान्छे हो, मञ्चमा प्रस्तुति दिँदै गर्दा धेरै ठाउँमा धेरै पल्ट भेट भयो। म उहाँलाई जहाँ भेटेपनि ढोग्ने गर्थे ।

पहिलो पल्ट कहाँ भेटियो थाहा छैन, तर अन्तिम पल्ट गएको वर्षमात्रै भेट भएको हो।

जब म कविवरसँग भेट्थे, हामी गुरुङ भाषामा बात माथ्यौँ। उहाँ लमजुङको, अनि मेरो ससुराली पनि लमजुङ नै। मेरो ससुरालीमा उहाँ आइरहनुहुन्थ्यो, मेरो श्रीमतीका बाजे कवि हुनुहुन्थ्यो त्यसैले उहाँहरुको साहित्यको सम्बन्ध थियो। । राष्ट्रकवि आफैँ गुरुङ गाउँमा हुर्कनु भएको हो।

त्यस हिसाबमा मलाई उहाँले ज्वाइँ भन्नुहुन्थ्यो । पछि पछि हामीले सँगै काम गर्ने अवसर पायौँ। घिमिरेको नेपालय र जावलाखेलको डीएभी स्कूलमा पलेँटी कार्यक्रम भयो। डिएभीमा भएको कार्यक्रमको समयमा उहाँको उमेर ९८ वर्षको थियो, हिँड्नलाई समस्या हुन थालेको थियो। स्टेजमा उक्लन समस्या हुँदा मैले ढाडमा बोक्न खोजेको थिएँ, तर उहाँले ‘ज्वाइँको बुईँ चढ्न हुँदैन’ भन्नुहुन्थ्यो। उहाँले नमानेपछि फोटोपत्रकार कुमार आले दाईले बोक्नुभयो।

उहाँका सिर्जना यस्ता छन्, जसलाई व्याख्या गर्नु पर्दैन। गीतमा पहिला नै संगीत, धुन छ छन्। कवितामा लय छ। जसलाई बाचन गरिदिएका हुन्छ, गाउनै पर्छ भन्ने छैन। त्यति मिठा बिम्बहरु हुन्छन् उहाँको। विशेषगरी हामी पश्चिमका मान्छेलाई मनमा छुने नै भयो। हाम्रोतीर एउटा ‘पन’ रहन्थ्यो। उहाँको शब्द चयन असाध्यै लाजमी थिए।

मिठो !

संसारको नियम हो, आएपछि जानै पर्छ। दिन सकिएको छ भने म पनि भोलि नै मरौँला। सहज परिस्थिति हुन्थ्यो, रहन्थ्यो भने म काठमाडौँ आउँथे। अन्तिम बिदा गर्नलाई आउँथे, फेरी अर्को जुनीमा भेट हुन्छ भन्ने थाहा छैन नि । श्रद्धा छ।

अवस्था सामान्य छैन, कोभिड महामारीको समय छ। सकेसम्म कम मान्छे गएर, काठमाडौँमा जो मान्छे छ, जान सक्छ आफूलाई स्वास्थ्यका दृष्टिले सजग भएर जाँदा राम्रो।

उहाँका कुरा हामीसँग छ, मात्र उहाँको पार्थिव शरीरमात्र हामीसँग छैन।

त्यसैले यहीबाट भन्छु हार्दिक श्रद्धाञ्जलि कविवर, अहिलेलाई बिदाइको नमस्ते,

यदि अर्को जुनि छ भने फेरी भेटौला !

तस्बिर स्रोत – नेपालय

(लोक रक व्याण्ड ‘नेपथ्य’का ‘लिड’ गायक अमृत गुरुङसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

(नेपथ्यले राष्ट्रकवि माधव प्रसाद घिमिरे लिखित गीत ‘ऐना झ्याल’ सन् २०१० मा आफ्नो एल्बममा समेटेको थियो। यही गीतको भिडियो नेपालयले सन् २०१८ मा सार्वजनिक गरेको छ। ‘ऐनाझ्याल’ बोलको गीतलाई नेपथ्यका कन्सर्टको ‘प्रारम्भ गीत’ को रुपमा प्रस्तुत गर्ने गरेको थियो।

यो गीतको बारेमा स्वर्गीय घिमिरेले बताएका थिए, ‘राजा महेन्द्रको बोलीमा प्रजातन्त्र भनेतापनि व्यवहारमा छल गर्दै स्वतन्त्रता नदिइरहेको परिस्थितीमा यो गीतको रचना गरेको थिए। त्यस बेला यस गीतको राजनीतिक अर्थ छैन भनेर बच्नकै निम्ति ‘दश वर्ष पुरानो रचना हो भन्न परेको थियो।’

गायक गुरुङले यो गीतमा संगीत भरेका हुन्। यसमा मात्र गितारको धुन भरिएको छ। यो गीतलाई अमृतले धुनहरुबाट भन्दा पनि शब्दको भावलाई सम्प्रेषण गर्नेगरी तयार पारिएको बताएका थिए।

गुरुङले गीतको बारेमा भनेका थिए, ‘तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ सालमा शासनसत्ता हातमा लिएपति मैले यो गीतलाई संगीतवद्ध पारेको थिए, झण्डै ४० वर्षको अन्तरालमा दोहोरिएको राजनीतिक परिस्थितीलाई उतिबेलाको शब्द र पछिल्लो समयको संगीतले जोड्ने काम गरेको छ।’

यो गीतमा व्याण्डले कन्सर्ट गर्दाको भिडियो फुटेजहरु संग्रहित पारेर भिडियो तयार पारिएको छ। गीतलाई संगीतवद्ध पार्दाकै चरणमा खिचिएका राष्टकविका तस्बिरहरु पनि यसमा समेटिएको छ।)

भदौ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्