‘ट्रेकिङ क्षेत्रको १५ अर्ब डुब्यो, साढे तीन लाखको रोजगारी गुम्यो’

काठमाडौँ – ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालमा विदेशी पर्यटक नभित्रिएसम्म ट्रेकिङ व्यवसाय उँभो नलाग्ने बताएका छन्।
उनले पदयात्राका लागि नेपालीभन्दा विदेशी पर्यटक बढी जाने भएकाले आन्तरिक पर्यटन सञ्चालन गरेपनि ट्रेकिङ व्यवसाय भने उँभो नलाग्ने बताए।
उनले देश सञ्चारसँग भने, ‘आन्तरिक पर्यटन खोले पनि अन्य क्षेत्र अगाडि बढ्छ। ट्रेकिङ व्यवसाय कुनै हालतमा अगाडि बढ्न सक्दैन। नेपालीहरु पदयात्रामा त्यति धेरै जाँदैनन्। विदेशीहरु पदयात्राका लागि नै भनेर नेपाल आउँछन्। त्यसैले उनीहरु नआएसम्म ट्रेकिङ व्यवसाय अगाडि बढ्दैन।’
अहिले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निकै चुनौती रहेको उनले बताए।
‘कोरोना महामारी समाधान नभएसम्म आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मुस्किल छ’, उनले भने, ‘सबै ठाउँमा सुरक्षित छ भने मात्र आन्तरिक पर्यटन खोल्न सकिन्छ। तर पनि हामी आन्तरिक पर्यटक बढाउन लाग्नेछौँ त्यसपछि बाह्य पर्यटक भित्र्याउनतिर लाग्नेछौँ।’
काठमाडौँमा १ हजार ९ सय ८० र पोखरामा १ सय ८० ट्रेकिङ कम्पनीहरु विदेशी पर्यटकमा निर्भर रहेको उनले बताए।
कोरोना महामारीले ध्वस्त भएको ट्रेकिङ व्यवसायलाई माथि उकास्न धेरै समय लाग्ने उनले बताए। ‘ट्रेकिङ व्यवसाय अन्तर्राष्ट्रिय पर्यटकमा नै निर्भर छन्। त्यसका लागि अझै धेरै समय लाग्छ’, उनले भने, ‘विदेशी पर्यटक भित्र्याउन हामीले कम खर्च, स्वास्थ्य सुरक्षा, पौष्टिक आहार र साधारण जीवनशैलीमा ध्यान दिनुपर्छ।’
सरकारले भदौ १ गतेदेखि हवाई उडान सूचारु गर्ने निर्णय गरेको थियो। तर कोरोना भाइरसका संक्रमित दिन प्रतिदिन बढ्दै गएपछि सरकारले भदौ १५ सम्मलाई स्थगित गरेको छ। पर्यटन व्यवसायको आशा भनेको नै हवाई उडान सुचारु हुनु हो। अन्तर्राष्ट्रिय उडान सुचारु भएपनि पर्यटक आउने–नआउनेमा अझै अन्यौल अवस्था नै रहेको उनले बताए।
‘उसो त हामीले अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने भनेका छौँ। खोले पनि कति पर्यटक आउँछन् भन्नेमा अन्यौल नै छ। आँकलन गर्न सकिएको छैन’, उनले भने।
यस्तै उनले ट्रेकिङ व्यवसायलाई अगाडि बढाउन पहिले विश्वस्तरबाटै कोरोना भाइरस सामान्य अवस्थामा आउनुपर्ने र विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई बाह्य भ्रमणका लागि अनुमति दिनुपर्ने बताए।
नेपालले पनि पर्यटक भित्र्याउन पूर्णरुपमा तयार रहेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु पर्ने उनको भनाइ छ। ‘सरकारले स्वास्थ्य सुरक्षाको सम्पूर्ण तयारी पूरा गर्नुपर्ने र तयारी पूरा गरेको जानकारी विभिन्न देशहरुमा दिनुपर्छ’, उनले भने।
सरकारले पर्यटक नेपाल भित्रिइसके पनि उनीहरुको स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने उनले बताए।
उसो त विश्व जगत नै कोरोना महामारीको करहबाट गुज्रिरहेको छ। यो महामारी विश्व जगतमा नै भएकाले पनि पर्यटन क्षेत्रमा यसको बढी चुनौती देखिएको उनले बताए।
महामारीका कारणले पर्यटन क्षेत्रको अंग ट्रेकिङ क्षेत्रले करिब १५ अर्ब रुपैयाँको नोक्सानी बेर्होनु परेको र साढे तीन लाख मजदूरहरुले रोजगारी गुमाउनु परेको उनले बताए।
‘ट्रेकिङ व्यवसायीहरुले धेरै नोक्सानी खेप्नु पर्यो। धेरैले रोजगारी गुमाए’, उनले भने, ‘हामीले रोजगारी गुमेकाहरुलाई पुनःस्थापना गर्न ट्रेकिङ म्यानेजमेन्ट टिमसँग पर्यटन मजदूरहरुलाई रहात दिन सकिन्छ कि भनेर लामो समयदेखि प्रयास गरिरहेका छौँ। तर हामी सफल हुन सकिरहेका छैनाैँ।’
मजदुरहरुले करिब एक वर्षका लागि राहत दिनुपर्ने माग गरेको उनले बताए।
‘ट्रेकिङ म्यानेजमेन्टमा जम्मा भएको पैसाबाट राहत दिनुपर्छ भन्ने मजदुरहरुले माग गरेका छन्। पर्यटन मजदूरको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ हामी उन्मुख छौँ’, उनले भने।
यसैगरी उनले पर्यटन बोर्ड रोजगारी सिर्जना गर्नमा केन्द्रित भइरहेको उनले बताए।
उनका अनुसार पर्यटन क्षेत्र छिट्टै समस्यामा पर्ने र सामान्य अवस्थामा फर्कन पनि निकै समय लाग्छ।
यस क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन पर्यटन व्यवसायको जिम्मा लिएको पर्यटन मन्त्रालय र पर्यटन बोर्डले पर्यटनलाई कसरी अड्याउन सक्ने हो भनेर फरक तरिकाले काम गर्न जरुरी रहेको बताए।
‘अब पर्यटन गतिविधिलाई फरक तरिकाले हेर्नेपर्ने हुन्छ। अन्य व्यवसायसँगै राखेर हेरियो भने त्यो पर्यटन व्यवसायका लागि दुर्भाग्य हुनेछ’, उनले भने।