कोरोना महामारीका कारण अस्ट्रेलियामा नेपाली विद्यार्थीहरू संकटमा

सिड्नी – कोरोना महामारी शुरु हुनुभन्दा केही महिनाअघि मात्र ‘ब्याचलर अफ आइटी’ अध्ययन गर्न झापाबाट सिड्नी आएकी विनीता थापाले दिउँसोको काम नपाएपछि राती ‘क्लिनिङ’ को काम गर्नुपरेको बताउँछिन् ।

२० वर्षीय थापाले कोरोना महामारीले गर्दा जनतन काम पाइरहेकोमा खुशी भए पनि रातभरि काम गरेर आएपछि दिनभरि सुत्नुपर्ने बाध्यताले गर्दा धेरै असहज भएको गुनासो गर्छिन् ।

उनी भन्छिन्, ‘धन्न अहिलेसम्म मैले काम पाइरहेको छु । मेरै कलेजमा पढ्ने कतिपय साथीहरूको अवस्था निकै दयनीय छ । काम नपाएर उनीहरूको विजोग देख्दा म आफैलाई अहिलेसम्म भाग्यमानी ठानेको छु ।’

तर मेलबर्नस्थित ग्लेनरोयमा बस्दै आएका २२ वर्षीय अर्का नेपाली विद्यार्थी भने त्यति भाग्यमानी छैनन् । नाम उल्लेख नगर्ने शर्तमा उनले हाल हफ्ता जम्मा ५ घण्टा मात्र काम गर्न पाएको बताउँछन् । कोरोनाअघि राम्रोसँग काम गरिरहेको बताउने उनी अहिले आगामी सेमेष्टरको फिस कसरी तिर्ने भन्ने चिन्तामा व्याकुल देखिन्छन् ।

उनी भन्छन्, ‘केही समय अलिअलि जम्मा गरेको पैसाले चलाएँ तर अब स्थिति एकदमै दयनीय हुँदैछ । हफ्ताको ५ घण्टाको मात्र कामले कसरी जीवन धान्ने हो मलाई केही थाहा छैन । कोरोना कहर छिट्टै सकियोस् भन्ने कामना मैले गरिरहेको छु ।’

यी त केही प्रतिनिधि घटनाहरू मात्रै हुन् । अचेल सामाजिक सञ्जालका भित्ताहरूमा अस्ट्रेलियाका नेपाली विद्यार्थीहरू कोही खानाको लागि याचना गरिरहेका या कोही आर्थिक सहयोगको लागि लागि याचना गरेका पोष्टहरू देखिन थालेका छन् ।

सर्वेक्षण भन्छ– आर्थिक अवस्थाले गर्दा केही विद्यार्थीहरू भरपेट खाँदैनन्

अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका करिब ६ लाख कामदारहरूलाई प्रतिनिधित्व गर्ने संस्था ‘युनियन न्यूसाउथवेल्स’ले हालै गरेको सर्वेक्षणमा ६५ प्रतिशत मानिसहरूले आफ्नो रोजगारी गुमाएको बताएका छन् । सो सर्वेक्षणमा ५ हजार जना अस्थायी भिसा भएका व्यक्तिहरूले गत मार्चदेखि मे महिनाका बीच भाग लिएका थिए जसमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए ।

गत सोमबार १७ अगष्टका दिन प्रकाशित गरिएको उक्त सर्वेक्षणको नतिजामा १० प्रतिशत विद्यार्थी अर्थात् करिब ५ सय जना नेपाली विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

सो सर्वेक्षणमा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो रोजगारी गुमाएको तथा २१ प्रतिशतले आफ्नो काम गर्ने अवधि घटेको बताएका थिए भने ९ प्रतिशत विद्यार्थीले स्वास्थ्य र सुरक्षाका दृष्टिले प्रतिकूल अवस्थामा आफूहरू काम गर्नु परेको बताएका थिए ।

सर्वेक्षणका अनुसार ३१ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीसँग घरभाडा तिर्ने पैसा समेत नभएकाले कोठा खाली गर्नुपर्ने अवस्थामा पुगेको, २६ प्रतिशत विद्यार्थी कोठा अरूसँग शेयर गरेर बस्नु परेको तथा १० प्रतिशतले खर्च कटौती गर्नका लागि अरूसँग कोठामा मिलेर बस्नु परेको बताएका थिए।

त्यसैगरी सहभागीमध्ये ४६ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कमजोर आर्थिक अवस्थाका कारण केही छाक छोड्दै खानु परेको उल्लेख गरेका छन्।

सर्वेक्षणको नतिजा प्रकाशित गर्ने यूनियन न्यूसाउथवेल्सले सरकारी राहत ‘जबकिपर’ तथा ‘जबसिकर’ प्याकेजहरू अस्थायी भिसा प्राप्त गरेका व्यक्तिहरूलाई समेत उपलब्ध गराउन तथा  अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ४० घण्टा प्रति दुईहफ्ताका दरले मात्र काम गर्न पाउने व्यवस्था खारेज गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

एनआरएनए अस्ट्रेलियाको नेपाली विद्यार्थीलाई राहत

गैरआवासीय संघ अस्ट्रेलियाले कोरोना महामारीको शुरुवातदेखि गत जुन ३० सम्म २ हजार ५ सय ३० भन्दा बढी नेपाली विद्यार्थीलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ ।

क्यानबेरास्थित नेपाली राजदूतावास, गैरआवासीय संघ अस्ट्रेलिया तथा विभिन्न सामुदायिक संघ, संस्थाको सहभागितामा गठित ‘कोभिड–१९ राहत अभियान’ अन्तर्गत गत जुन ३० तारिखसम्म ३ हजार ६ सय ५१ जनाले राहत पाउनका लागि निवेदन दिएका थिए।

निवेदन दिने विद्यार्थीहरूमध्ये अधिकांश न्यूसाथवेल्स १ हजार ४ सय ९९ र भिक्टोरियाका ८ सय ६१ जना रहेको तथा बाँकी अन्य राज्य र टोरिटोरीका रहेको एनआरएनए अस्ट्रेलियाद्वारा जारी विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी ‘कोभिड–१९ राहत अभियान’ अन्तर्गत सो अवधिसम्म सङ्कलन भएको करिब १ लाख ९ हजार अस्ट्रेलियन डलरमध्ये ६९ हजार अस्ट्रेलियन डलर राहत बाँड्ने शिलशिलामा खर्च भइसकेको एनआरएनए अस्ट्रेलियाद्वारा जारी खर्च विवरणमा उल्लेख गरिएको छ।

गैरआवासीय संघ अस्ट्रेलियाका अध्यक्ष तथा ‘कोभिड–१९ राहत अभियान कार्यदल’का संयोजक केशव कँडेलले राहत वितरण कार्यक्रम अझै जारी रहेको बताउँछन्।

अध्यक्ष कँडेल भन्छन्, “एनआरएनए अस्ट्रेलियाका प्रत्येक राज्यका राज्य संयोजकले राहत वितरण कार्यक्रमको नेतृत्व गरिरहेका छन् । कोरोनाका कारण सबैभन्दा प्रभावित राज्य भिक्टोरियामा एनआरएनए, न्याभ, महावाणिज्यदूतको कार्यालय लगायतका सामुदायिक संघ, संस्था मिलेर एउटा कार्यदल बनेको छ।

सो कार्यदलले सबै समुदायलाई जोडेर राहत वितरणको काम गरिरहेको छ। यो निकै प्रभावकारी पनि भएको मैले महसुस गरेको छु। यदि भिक्टोरिया राज्यमा कोही विद्यार्थीलाई राहत सामग्रीको आवश्यक छ भने तुरुन्तै हामीले जारी गरेको फारम भरेर पेश गर्न समेत अनुरोध गर्न चाहन्छु।”

भदौ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्