राष्ट्रकवि माधवप्रसाद घिमिरे।
एउटा मृत्यु गीतको प्राण कथा

रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!

शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त गरेका छन्।

गीतले भन्छ,

त्यसरी होस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भूईँमा बिना पवन
त्यसरी होस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैमा हुन्छन् अर्पण
त्यसरी होस् मरण ।।

अमरापुरी सभामा आफैलाई गरूँ वरण
त्यसरी होस् मरण ।।

१०२ औँ वर्षका दिनहरु बिताउँदै गर्दा कवि घिमिरेकाे प्राण शरीरबाट बाहिरियो । तर उनले मृत्युको कल्पना या भनौँ इच्छित मोक्षको प्रक्रिया जीवनको चौथो दशकमै ‘मृत्यु–गीत, त्यसरी होस् मरण’ मार्फत गरेका थिए।

२०३३ सालमा प्रकाशित भएको ‘किन्नर–किन्नरी’ मा समाविष्ट ‘त्यसरी होस् मरण’ आफ्नो मृत्युलाई परिभाषित गर्ने र मृत्युपछि बज्ने धुन बनोस् भन्ने उनको चाहना थियो । र भयो पनि त्यस्तै।

राष्ट्रकविको सयौँ जन्मोत्सव आउँदै थियो, छोरी शान्ति अधिकारीले पिताको इच्छा अनुरुप गीतमा संगीत र स्वर भर्ने प्रक्रियाको नेतृत्व गरिन्।

‘उहाँ सय वर्ष पुग्दै हुनुहुन्थ्यो, मलाई संगीतको प्रस्ताव आयो । गीत हेरेँ, छाति फुल्यो, भीमकाय जिम्मेवारी थियो–जीवनलाई परिभाषित गर्ने मृत्यु–गीतमा संगीत भर्नु ।’ राष्ट्रकविको त्यसरी होस् मरणमा संगीतकार तथा संगीत संयोजक आशिष अविरलेले स्मरण गरे।

उनले भने, ‘उहाँले गीत रेकर्ड गरेर राख, मलाई नसुनाउ, मेरो मृत्युपछि शव यात्रामा बजाउनु भन्नु भएको रहेछ । मैले गीत पाएँ, संगीत सिर्जना गर्ने क्रममा गीतसँग भावनात्मक रुपमा अति नजिक र अति परबाट पनि जोडिएँ जस्तो लाग्यो । मलाई विचलित पनि बनायो।’

गीत बनाइसकेपछि आशिषलाई राष्ट्रकविसँग भेट्ने मन थियो, सुनाउने मन थियो आफूले भरेको संगीत । तर इच्छाविपरित जान सकेनन्, बाँधेर राखे आफूलाई । उनले भने, ‘राष्ट्रकविलाई भेट्न जाने मन थियो, तर बोल्दै जाँदा गीतको कुरा निस्केला र उहाँको इच्छाको सम्मान नहोला भनेर संगीत भरेपछि उहाँको निकटमा जानेरै परिनँ । अलि परपरबाट उहाँका कुराहरु मात्रै सुनिरहेँ।’

मृत्यु प्रक्रियालाई सबिस्तारमा बताइएको सिर्जनालाई न्याय गर्ने गरी संगीत भर्न आफूले चुनौतिपूर्ण यात्रा तय गरेको बताएका संगीतकार आशिष अविरलले भने, ‘यो गीत मृत्यु–गीत भए पनि यसले जीवनलाई समेटेको जस्तो लाग्छ।’

उनले थपे, ‘हुन त यो गीत सम्पूर्णतः राष्ट्रकविको हो, तर संगीतले गर्दा म पनि जोडिएँ । यस्तो लाग्छ कि यो उहाँको मात्रै होइन मेरो पनि मृत्युपछिको गीत हो वा मैले चाहेको मृत्युको पनि यसले कथा बोलेको छ।’

शब्दलाई काया र संगीत–स्वरलाई स्वास मान्ने हो भने राष्ट्रकविको ‘त्यसरी होस् मरण’ गीतमा प्राण भर्ने प्रक्रियाका अर्का प्रमुख पात्र हुन्, गायक कर्ण दास।

मंगलबार बेलुका भाइको टेलिफोन मार्फत राष्ट्रकविको निधनको खबर पाएका कर्ण दासले बुधबार बिहानै गीतबारे कुरा गर्दा भने, ‘संगीत सिर्जना भइसकेपछि यो गीतसँग जोडिने मौका मिलेको थियो । डमी सुनेँ, त्यसपछि संगीतकार आशिष अविरलसँग भेट भयो, गीतको शब्द केलाउँदै जाँदा भित्र अन्तरमनमा हल्लायो।’

केही संयोगहरुले उनलाई केही भिन्न परिवेशमा पनि लगेको सुनाए, ‘कविले ४०–४१ वर्षको हुँदा रचना गरेको, म ४३ वर्षको हुँदा गाउने प्रस्ताव आयो अर्थात लेखिएको ६० वर्षपछि गीत रेकर्ड हुँदै थियो । जीवन र मृत्युलाई जोड्ने पुल जस्तो भावको गीत मैसम्म कसरी आइपुग्यो भनेर भिन्न महसुस पनि भएको थियो।’

राष्ट्रकविसँग गीत रेकर्ड गर्नुअघि धेरैपटक भेटेका कर्ण दासलाई आफ्नो आवाजमा भेटेरै गीत सुनाउने मन थियो । तर उनले राष्ट्रकविको इच्छा थाहा पाए । ‘परिवारबाट थाहा पाएँ कि यो गीत मृत्युपछि मात्रै बजोस् वा सार्वजनिक होस्, आफूलाई नसुनाइयोस् भन्ने चाहना छ भन्ने । त्यसपछि जानेरै मैले उहाँलाई भेट्न गइन् । मन हुँदाहुँदै पनि गति रेकर्ड भएपछिको समय उहाँबाट पर रहेँ।’

राष्ट्रकविको चाहना थाहा पाएपछि भावनात्मक सम्बन्ध थप उचाइमा पुगेको अनुभूत गरेको बताउने कर्ण दासले भने, ‘एउटा व्यक्ति जसको इच्छा, मृत्युपछि बजोस् भन्ने । अनि मैले सम्मान स्वरुप उहाँलाई भेट्ने निर्णय गरेको हुँ।’

‘गीत मेरो पोटलीमा पर्नु नै उहाँसँगको मेरो सामिप्यता हो जस्तो लाग्यो । भेट भन्दा माथि थियो त्यो।’

गीतले मृत्युको कुरा गरे पनि त्यसले जीवनलाई अति निपूर्णताले परिभाषित गरेको कर्ण दासलाई लाग्छ । ‘उहाँले पारिजातको कुरा गर्नु भएको छ, घामको कुरा छ । यो सबै जीवनलाई बुझेर, जीवनका सबै पक्षहरुलाई बुझेर मात्रै गर्न सकिन्छ त्यस्तो सिर्जना।’

राष्ट्रकविको प्राण वायुमा विलिन भएपछि सार्वजनिक भएको वा पूर्ण स्वरुपमा जन्मिएको गीतबारे गायक कर्ण दासले भने, ‘मृत्यु अघि नै मृत्यु देखेर लेखिएको गीत हो । मृत्युसँग कुनै डर नभएपछि वा स्वीकार गरेर लेखिएको हो । जीवन र मृत्युलाई छर्लङ्ग पार्ने यस्तो सिर्जना सानो हृदयले परिकल्पना गर्नै सक्दैन।’

उनले भने, ‘यो सत्यको गीत हो। स्पष्टताको गीत हो। जीवनको गीत हो।’

भदौ ३, २०७७ मा प्रकाशित