राष्ट्रकवि माधव घिमिरेप्रति सत्यमाेहन जोशीको श्रद्धाञ्जली

‘उनी गए, अब म एक्लो भएँ’

राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी एक आपसमा कुरा गर्दै।तस्बिर- रासस

शताब्दी पुरुष सत्यमोहन जोशी र स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरे एकै समयका यस्ता धुरन्धर व्यक्तित्व हुन्, जसको फरक परिवेषमा आफ्नै परिचय छ।

जसरी साहित्य र सँस्कृति विधा नजिक छन्, त्यसरी नै यी नामहरु विभिन्न परिस्थितिले एक अर्काको समिपमा रहे। यी दुईको भेट वि सं १९९८ मा त्रिचन्द्र क्याम्पसमा भएको थियो। सत्यमोहन विद्यार्थी थिए भने घिमिरे भाषा परिषदका कर्मचारी, यसरी भएको चिनजान पछि एउटै कार्यालयको कर्मचारी हुँदै अगाडि बढ्यो।

उमेर, कार्य क्षेत्र अनि सहभागी हुने कार्यक्रम लगायतका विषयले यी दुई महापुरुषलाई टाढा राख्न सकेन तर २०७७ साल भदौ २ गते राष्ट्रकविले अनन्त यात्रा सुरु गरे।

आफूभन्दा ६ महिनाले मात्र दाजु रहेका घिमिरेको स्मृति शाताब्दी पुरुष यसरी गर्छन्,

‘म त्रिचन्द क्याम्पसको विद्यार्थी थिएँ। त्रिचन्द्र क्याम्पसकै विज्ञान ‘ब्लक’ को नयाँ भवनमा भाषानुवाद परिषद् थियो। त्यस परिषद्को काम ‘टेक्स्ट बुक’ लेख्ने थियो। त्यसको अध्यक्ष पुष्कर शमशेर थिए, त्यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए, उनी भन्दा तल्लो पदमा पण्डित बदरीनाथ भट्टराई थिए। अनि त्यसपछिको पदमा त्यो बेलाका कवि ‘माधवप्रसाद घिमिरे’ काम गर्थे ।

कक्षाका बिचमा १ घण्टाकै खाली समय हुन्थ्यो, डुल्दै डुल्दै हामी भाषानुवाद परिषदमा पुग्थ्यौँ। त्यसरी हाम्रो चिनाजानी भयो। म त्यो बेला अलि अलि कविता लेख्न थालेको थिएँ। उहाँहरुलाई देखाउँथे, म विद्यार्थी थिएँ, उहाँहरु जगिरे।

उहाँ सरल मान्छे, सिधा कुरा गर्ने। कुनै छक्का पञ्जा छैन। जोसँग नि मिजासिलो स्वभावका थिए घिमिरे। प्रेरणा दिने, भाषा सच्याइदिने। मेरो लागि घिमिरे त्यो बेला नै प्रेरणाको स्रोत थिए ।

पछि म उहाँसँग निकट भएँ,

पढाई सक्किएपछि मैले जागिर खाए, कार्यक्षेत्र पर्‍यो लमजुङ। घिमिरे पुस्तुङमा जन्मिएका रहेछन्। म उहाँको जन्मस्थानमा काम गर्न जाने भएकोले आउने जाने क्रम बढी भयो। अनि हामी नजिक भयौँ।

काम गर्ने शिलशिला चलिरहेको नै थियो। वि सं २०१४ सालमा उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आउनुभयो। त्यहाँ उहाँ प्राज्ञ हुनुभयो। २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा एउटा परिपञ्च भयो, संविधानमा नै परिवर्तन भयो अनि ८ जना सहप्राज्ञहरु भर्ना गर्‍यो। त्यो समूहमा म पनि एक थिएँ। म भन्दा एक तह माथि हुनुहुन्थ्यो, हामीले सँगै काम गर्ने अवसर पाएका थियौँ।

हामी काब्य, साहित्यको बारेमा कुराकानी गर्थ्यौँ। पछि उहाँको कार्यकाल सकियो र उहाँ बाहिरिनुभयो। म त्यहाँको सदस्य सचिव भएर काम गर्न थालेँ।

त्यसपछि फेरि मेरो कार्यकाल सकियो । तर घिमिरे जी उपकुलपति भएर आउनुभयो, अनि कुलपति पनि हुनुभयो।

मेरो किताब ‘नेपाली चाडबाड’ मा उहाँले भूमिका लेख्दिनुभयो।

उहाँ बाल्मिक छन्दमा कविता लेख्नुहुन्थ्यो। सरल भाषा, गाउँले परिवेशको चित्रण गर्ने, प्रकृति प्रेमी, गाउँ घरका खोला नाला, जंगल, हिमाल उनको साहित्यमा समेटिन्थे। उनी प्रकृति कवि थिए। उहाँको श्रीमति ‘गौरी’ बितिसकेपछि उहाँले खण्डकाब्य बनाउनुभयो, जो अति नै चर्चित भयो।

एकेडेमीमा बस्दा उहाँले एउटा काब्य ‘अस्वस्थामा’ लाई अंग्रेजीमा अनुवाद गराउनुभयो। त्यो बेलामा मदनमणि दीक्षित उपकूलपति थिए। त्यो पुस्तक घिमिरेले नोबेल पुरस्कार कमिटिमा पठाउनुभयो। तर छानिएन।

उहाँ जहिले मेरो सिनियर, हाम्रो सम्बन्ध मिलनसार नै रह्यो। धेरै कुरा उहाँबाट सिकेकोले म उहाँलाई मान्छु। पदले पनि व्यवहारले पनि।

त्यसपछि उहाँले लेख्नुभएको ‘ऋतम्भरा’ महाकाब्य प्रकाशन भईसकेको छैन क्यारे। उहाँले कति गर्नुभयो थाहा भएन । सक्काउँछु भन्नुहुन्थ्यो, तर उहाँ आफै जानुभयो। यो प्रकृतिको लिला हो, प्रकृतिको विधान, आएपछि जानै पर्छ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा भानुभक्तले एउटा अभियान चलाए ‘रामायण’ लेखेर । त्यही गोरेटो समातेर कविशिरोमणि लेखनाथ पौडेल आए। मोतिराम भट्ट आए। त्यसैको शिलशिलामा कारुणिक शैलीमा, कविताको काब्यधारा बग्दैथ्यो, त्यसमा राष्टकवि माधव प्रसाद घिमिरे देखापर्नुभयो। उहाँको योगदान ठूलो छ। ‘ऋतम्भरा’ सार्वजनिक हुन पाएको भए गज्जब हुन्थ्यो।

उहाँको बाल साहित्यमा, गीति नाटकमा, राम्रो राम्रो गीत रचना गर्नमा उनको योगदान छ। उनका कविता कालजयी छन्।

मेरो अन्तिम भेट उहाँको १०१ औँ जन्मदिनमा भएको हो।

लेखकमा १०० काटेको अब म मात्रै रहे हुँला। ८०, ९० काटेका कोही होलान्। १०० मा पुग्ने हामी दुई जना मात्रै थियौ। उहाँ जानु भयो म बाँकी छु। मेरो पनि पालो आइरहेको छ, आज हो की भोलि हो। यो प्राकृतिक नियम हो, कसैले रोक्न सक्ने कुरा होइन।

उहाँको बिदाईमा म जान सकिन । झन् अहिले यो कोरोनाको महामारी छ। आफै खुम्चिएर बसिराखेको छु।

मलाई एक जनाले खबर गर्नुभयो, ‘उहाँ बित्नुभयो, तपाईँले थाहा पाउनुभयो ?’ भनेर सोध्नुभयो, मैले त्यसरी थाहा पाए। रेडियो नेपालले सम्पर्क गर्‍यो, दुई चार शब्द बोल्नुस् न भन्यो। त्यसपछि धेरै फोन आए।

नेपाल भाषाको विकासका निम्ती अग्र पन्तिमा उहाँ हुनुहुन्थ्यो, जे जति काम छ, यहाँ आएर गर्ने र सकेर जाने हो। हामीले उहाँहरुको प्रेरणा लिनुपर्छ, देखाएको बाटो हिड्नुपर्छ। खासगरी नेपाली काब्यको आफ्नै शैलि, आफ्नै परम्परा, आफ्नै पहिचान भएको हुनाले छन्दमा कविता लेख्ने जुन परम्परा उहाँले दिगो हुने गरी उहाँले काम गर्नुभयो, त्यो परम्परा हिजो आज हराउँदै गयो। अर्कै किसिमले आइराखेको छ। त्यो परम्परालाई बचाउन सकियो भने पहिले देखिको त्यो परम्पराको बर्चश्व रहन्छ।

शोक सन्तप्त परिवारलाई हार्दिक श्रद्धाञ्जली !

हामी सँगै बसेर काम गरेका हौँ। जति नजिककालाई थाहा हुन्छ, त्यो अरुलाई थाहा हुन्न। म सम्झेर नै बसिरहेको छु।

यो संसारको रीत नै यस्तै छ।

(शताब्दी पुरुष सत्यमोहन जोशीसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

भदौ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्