जीवन दर्शन

करुणा र कोरोना

करुणा र कोरोना यी दुई शब्द सुन्दा उस्तै उस्तै लाग्ने छन् तर यिनको प्रभावमा आकाश पातालको फरक छ । कतिपय मानिसहरुले करुणा भाइरस भनेको पनि सुनेँ । भन्ने, सुन्ने र बुझ्ने बीचको फरकले अप्ठ्यारो परिस्थिति पनि निम्त्याउन सक्ने रहेछ ।

छिमेकी देश भारतमा लकडाउन उल्लङ्घन गरेर हिडेका व्यक्तिहरुलाई प्रहरीले लाठी चार्ज गर्दै, समात्दै, “मुर्गा” बनाउँदै गरेको देखियो । यस्तै शृङ्खलामा एउटा समूहको नेता चिच्याउँदै थियो “भागो मत्‌ मारो” उसको कुरा सुनेपछि भिड झनझन क्रोधित भएर प्रहरीमाथि ढुङ्गा बर्साइ राखेका थिए । पछि थाहा भयो उनीहरुले बुझेछन् “भागो मत, मारो” भनेको ! “मत्मारो” लाई “मारो” भन्ने बुझ्दा ठूलो नोक्सान भयो ।

प्रष्टसँग आफ्ना कुराहरु भन्न सक्ने कला सिक्नु पनि जरुरी हुन्छ, र आफ्ना कुराहरुलाई समय सान्दर्भिक बनाएर प्रस्तुत गर्न बिस्तृत ज्ञान र बलिया आधारहरु चाहिन्छन् ।

चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु कोभिड–१९ प्रभावित व्यक्तिको उपचारमा दिनरात जुटिरहेका छन् । ती आफैँ पनि ठूलो जोखिममा छन् । समाज आक्रान्त छ । स–साना बालबालिका देखि युवा, बयस्क सबै डराएका छन् । जेष्ठ नागरिक, खासगरी पहिलादेखि नै उच्च रक्तचाप र मधुमेह जस्ता रोगबाट प्रभावित व्यक्तिहरु अझ बढी त्रसित छन् । कहिँ अकाल मै मरिने पो हो कि भनेर । स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरु, सुरक्षाकर्मी र पत्रकार जस्ता अग्रपंक्ति (फ्रन्टलाइन) मा काम गर्ने व्यक्तिहरु बढी जोखिममा छन् ।

यस्तो बेलामा विद्वत् शिरोमणि कुलचन्द्र गौतमले भन्नुभएका निम्न हरफहरुले हाम्रो मनको त्रासलाई केही कम गर्न सक्छन् जस्तो लाग्छ ।

संघर्ष उत्पन्न भएर ज्यानै जाने अवस्था परिआउला की ?
भनेर ऐले मुटुमा उठेको ढुक् ढुक् ढुक् ढुक् हटाइदेउ ।

“मर्छु कि” भन्ने भय जिन्दगीमा रही रहेकै छ “मरे मरिन्छ”
यो ख्यालले ढुक्क भई डटेमा ढुक् ढुक् मेटिन्छ सुभा नलेउ ।।

बिभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले कसरी डरमाथि विजय प्राप्त गरेर बिरामीहरुको सेवा गरे भन्ने बिश्वब्यापी अनुभवहरु प्रचार–प्रसार भएका छन् । लाखौं व्यक्तिहरुले स्वयम् सेवाका माध्यमबाट आत्म सन्तुष्टि हासिल गरेका छन्, डरलाई जितेका छन् ।

अब करुणा बारे कुरा गरौं ।

करुणा शब्दले मानिसको हृदयको गहिराइमा स्पर्श गर्दै माया, प्रेम, सहिष्णुता, दया आदि सद्गुणको उच्चकोटिको अभिव्यक्ति दिलाउँदछ । भगवान बुद्धका उपदेशहरु मध्ये करुणा भावले शायद उच्चतम् महत्व राख्दो हो ।

यो कोभिड–१९ को अवधिमा मैले नेटफिलिक्समा “बुद्ध” भन्ने सिरियल पनि हेरेँ । भारतीयहरुले कसरी आफ्नो संस्कृतिलाई बढावा दिन्छन् भन्ने उदाहरण पनि यसमा छ, र अलि चिन्तन गरेमा हामी नेपाली कहाँ चुकेका छौं भन्ने थाहा पाउन सजिलै सकिन्छ ।

करुणा शब्दले मानिसको हृदयको गहिराइमा स्पर्श गर्दै माया, प्रेम, सहिष्णुता, दया आदि सद्गुणको उच्चकोटिको अभिव्यक्ति दिलाउँदछ । भगवान बुद्धका उपदेशहरु मध्ये करुणा भावले शायद उच्चतम् महत्व राख्दो हो ।

भगवान बुद्धले निर्वाण प्राप्तिको मार्गमा अग्रसर हुनका लागि गृहस्थले पंचशीलको अवलम्बन गर्न सुझाउनु भएको छ ।

पञ्चशील के हो ?

यी सबैले पालना गर्नु पर्ने ५ वटा व्यवहारहरु हुन् । हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झूठो नबोल्नु, दुर्व्यसन नगर्नु – यी ५ वटा शीलको प्रयोगद्वारा मानिसले असीम सुख प्राप्त गर्न सक्छ । यी शीलको प्रयोगका लागि बुद्धले अष्टाङ्गिक मार्गको प्रयोग गर्ने सुझाव दिनुभएको छ ।

अष्टाङ्गिक मार्ग भनेको के हो नि ?

यी हुन् सही बुझाइ, सही निर्णय, सही बोली, सही कर्म, सही जीविका, सही प्रयास, सही सम्झना र सही ध्यान ।

अष्टाङ्गिक मार्गमा चल्ने व्यक्तिले मानिसहरुले भनेको कुरा या आफूले पढेको कुराको अर्थ राम्ररी र सही तरिकाले बुझ्ने प्रयास गर्छ । यो प्रयासद्वारा वस्तु स्थितिको राम्रो विश्लेषण गरेपछि उसले सही निर्णय लिन्छ ।

सही निर्णय भनेको त्यस्तो निर्णय हो जसले अरुको अहित गर्दैन र आफूलाई आत्म सन्तुष्टि दिन्छ । मान्छेले बोल्दाखेरि अरुको मन नदुख्ने गरी नम्र रुपमा बोल्नु पर्छ र सत्य बोल्नु पर्छ ।

आफ्नो बुद्धिको उचित प्रयोग गरेर मानिसले आफ्नो लागि सही जीविका चुन्नु पर्छ र त्यसमा उसले मन, वचन र कर्मले समर्पित हुनुपर्छ । यसरी सही प्रयासद्वारा गरिएका सत्कर्महरुले राम्रो फल प्राप्ति हुन्छ । जीवात्माको भलाई चिताउँदै भगवानको सम्झना गर्ने र श्वास प्रश्वास नियन्त्रण सहितको सहि तरिकाले गरिएको ध्यानले निर्वाण प्राप्ति हुन्छ ।

हालका दिनहरुमा बुद्धको शिक्षामा आधारित विपश्यना ध्यान धेरै लोकप्रिय भएको छ । विपश्यनाका गुरु राम नाथ गोयन्काले भन्नु भएको छ – करुणा मानव मनको उन्नत अवस्था हो । निस्वार्थ प्रेम (पाली भाषामा मेत्ता) सहानुभूतिपूर्ण खुशी (मुदिता) समभाव (उपेखा) द्वारा उदात्त मन (ब्रह्म बिहार) प्राप्त गर्न सकिन्छ ।

पञ्चशीलको अभ्यास गर्ने बिशुद्ध मनले मात्र मेत्ता, मुदिता, उपेख्या र करुणाको अनुभव गरी ब्रह्म बिहारमा लीन हुन सक्दछ । शील, समाधि र बुद्धि(पन्ना) को प्रयोगका माध्यमबाट व्यक्तिले आफ्नो मनलाई पवित्र पार्दै परब्रह्मको अनुभव गर्दछ ।

दलाई लामाले भन्नुभएको रहेछ- “करुणा अनुभब गरेरमात्र पुग्दैन सोही अनुरुपको कर्म पनि गर्नु पर्दछ।”। धेरै व्यक्तिहरुले निस्वार्थ भावले लकडाउनको समयमा रोजगारी गुमेका व्यक्तिहरुलाई खाना खुवाएका, हेरचाह गरेका, सहयोग गरेका खबरहरु करुणापूर्ण व्यवहारका उदाहरणहरु हुन् ।

कोरोना महामारीको सन्त्रासबाट केही समयपछि हामी मुक्त हुनेछौं, तर हाम्रा कष्टहरु केही महिना अझै लम्बिन सक्छन् । समयले जस्तोसुकै अप्ठ्याराहरुलाई पनि चिर्न सक्छ भनेर भबिष्यप्रति आशा जगाउन मेरा गुरु भीमदर्शन रोक्काले लेख्नुभएका कबिताका केही हरफहरु यहाँ लेख्न चाहन्छु ।

वरिपरि छेउछाउबाट
सजिला र अप्ठयारा ठाउँहरुबाट
वन पाखा पहरा
र हलुका सुुस्केराहरुबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ ।

भदौ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्